दाबी: ‘केपी ओलीले कुलमान घिसिङलाई तस्करहरुको बत्तीको लाइन नजोडेमा राजीनामा दिन बाध्य पार्ने र जेल हाल्नेसम्म धम्की आएपछि पुगे बालेन र दुर्गा प्रसाईंको शरणमा ।’
तथ्य: दुई वर्ष पहिले नै संचाार माध्यमहरुले पोस्ट गरेको तस्बिरलाई वर्तमान सन्दर्भसँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र काठमाडौँ महानगरका मेयर बालेन शाहसँग सम्बन्धित एउटा सामग्री फेला परेको छ । उक्त सामग्रीमा कुलमान घिसिङ बालेन र दुर्गा प्रसाईंको शरणमा पुगेको दाबी गर्दै एउटा तस्बिर पोस्ट गरिएको छ ।
𝙉𝙚𝙥𝙖𝙡 𝙇𝙞𝙫𝙚 𝙃𝘿 नामक टिकटक आइडीमा पोस्ट गरिएको तस्बिरमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, काठमाडौँ महानगरका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोललाई देख्न सकिन्छ । साथै उक्त तस्बिरको थमनेलमा लेखिएको छ- ‘केपी ओलीले कुलमान घिसिङलाई तस्करहरुको बत्तीको लाइन नजोडेमा राजीनामा दिन बाध्य पार्ने र जेल हाल्नेसम्म धम्की आएपछि पुगे बालेन र दुर्गा प्रसाईंको शरणमा ।’
६ अगस्ट २०२४ मा पोस्ट गरिएको दाबीसहितको सामग्रीमा ५ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् ।

दाबीससहित सामाजिक संजालमा पोस्ट गरिएको तस्बिर कुन सन्दर्भमा खिचिएको थियो ? तस्बिरको वास्तविक सन्दर्भ पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
नेपाल विद्युत् प्राधिकरणले उद्योेगीहरुलाई दिएको डेडिकेटेड र ट्रंकलाइनको बक्यौता असुल गर्ने विषयमा पछिल्लो समय विवाद भइरहेको छ । विवाद चलिरहेकै सन्दर्भमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ काठमाडौँ महानगरका मेयर बालेन शाह र दुर्गा प्रसाईंको शरणमा पुगेको भन्दै एउटा तस्बिर पोस्ट गरिएको छ ।
तस्बिरको वास्तविक सन्दर्भ जाँच गर्नका लागि हामीले गुगलमा रिभर्स इमेज सर्च गर्यौँ । जाँचको नतिजास्वरुप दुई वर्ष अघि प्रकाशित समाचार र तस्बिर फेला परे ।
२१ जेठ २०७९ मा Ekagaj मा प्रकाशित समाचार काठमाडौँ महानगरपालिकाभित्र विकास निर्माण र भौतिक पूर्वाधारको काम हुँदा सरकारी निकायबीच समन्वय गर्ने विषयमा छलफल भएको थियो ।

समाचार अनुसार उक्त छलफलमा मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायत सहभागि भएका थिए ।
यही विवरण र तस्बिरसहितको समाचार सोही मितिमा nepalpurbadhar मा पनि प्रकाशित भएको देखिन्छ ।
जाँचका क्रममा सोही तस्बिर Routine of Nepal banda फेसबुक पेजमा पनि पोस्ट गरिएको देखिन्छ । ४ जुन २०२२ मा पोस्ट गरिएको तस्बिरमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र काठमाडौँ महानगरका मेयर बालेन शाहबीच भेट भएको जानकारी दिइएको छ ।

फेला परेका तथ्यहरुले के पुष्टि हुन्छ भने दुई वर्ष पहिले नै इन्टरनेटमा पोस्ट गरिएको तस्बिरलाई वर्तमान सन्दर्भसँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको छ ।
निष्कर्ष
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ काठमाडौँ महानगरका मेयर बालेन शाह र दुर्गा प्रसाईंको शरणमा पुगेको भन्दै पोस्ट गरिएको तस्बिर भ्रामक छ । दुई वर्ष पहिले नै संचाार माध्यमहरुले पोस्ट गरेको तस्बिरलाई वर्तमान सन्दर्भसँग जोड्दै (डेडिकेटेड र ट्रंकलाइनको बक्यौता असुल विवाद) सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
समाचार-तस्बिर, ekagaj.com
समाचार-तस्बिर, nepalpurbadhar.com
समाचार, ekantipur.com
तस्बिर, Routine of Nepal banda
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]