Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको दाबी ।
तथ्य: दाबीसहित फैलाइएको तस्बिर पुरानो र बालेनको पोखरा भ्रमणसँग सम्बन्धित रहेको पुष्टि भएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग सम्बन्धित एउटा तस्बिर सामाजिक संजालमा फैलिरहेको छ । उक्त सामग्रीमा बालेनले रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको दाबी गरिएको छ ।
Sachetkhabar नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा बालेन शाहको तस्बिर जोडिएको छ । साथै भिडियोको थमनेलमा लेखिएको छ- बालेन शाहलाई मेयर बनाउन रवि लामिछाने सहयोग, रविलाई थुनामुक्त गर्न बालेनले हस्ताक्षर गर्दै ।’
त्यस्तै यही व्यहोराको दाबी premvlog9765 नामक युट्युब च्यानलमा पनि पोस्ट गरिएको छ । प्रस्तुत दाबीसहितको सामग्री सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको छ ।
के बालेन शाहले रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका हुन त ? वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
केही समयदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हस्ताक्षर अभियान संचालन गरिरहेको छ । पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा भैरहवा कारागारमा थुनिएका छन् । लामिछानेविरुद्ध ‘राज्यले राजनीतिक प्रतिशोध साँधेको भन्दै’ जनसमर्थन जुटाउन रास्वपाले हस्ताक्षर अभियान संचालन गरेको हो ।
यही सन्दर्भमा हालसालै केही युट्युब च्यानल र टिकटक आइडीहरुमा काठमाडौँ महानगरका मेयर बालेन शाहले रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको दाबी र तस्बिर फैलाइएको छ ।
जाँचका क्रममा हामीले बालेन देखिने तस्बिरको वास्तविकता पत्ता लगाउन कोशिस गर्यौँ । यसका लागि तस्बिरलाई गुगल लेन्समा रिभर्स इमेज सर्च गर्यौँ । जाँचको नतिजास्वरुप khabarhub.com मा प्रकाशित पुरानो समाचार फेला पर्यो । २०२५ अप्रिल २७ मा पोस्ट गरिएको समाचारका बालेन आफ्नो जन्मदिन मनाउन परिवारसहित पोखरा पुगेको जानकारी दिइएको छ ।
फेला परेको पुरानो समाचारमा उल्लेखित तस्बिर र दाबीसहित सामाजिक संजालमा फैलाइएको तस्बिरबीच समानता देख्न सकिन्छ ।
अर्कोतर्फ sujitshah047 नामक टिकटक आइडीमा पोस्ट गरिएको बालेनसँग सम्बन्धित दृश्य पनि दाबीसहितको सामग्रीसँग मिल्दो छ । यस भिडियोमा बालेनले पोखरामा गण्डकी ट्राउट फार्मसमेत भिजिट गरेको देखिन्छ । यही सन्दर्भको तस्बिरलाई रवि लामिछानेसँग जोडेर सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।
यो सामग्री तयार पार्दासम्म काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले रवि लामिछानेको समर्थनमा कुनै हस्ताक्षर गरेका छैनन् । अर्कोतर्फ सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणको अभियोग लागेका रवि लामिछानेको पक्षमा बालेन शाहले कुनै सार्वजनिक अभिव्यक्ति दिएका छैनन् ।
काठमाडौं महानगर प्रमुख बालेन शाहले रवि लामिछानेको समर्थनमा हस्ताक्षर गरेको भन्दै सामाजिक संजालमा फैलाइएको तस्बिर र दाबी भ्रामक छ । यो तथ्यजाँचबाट उक्त तस्बिर पुरानो र बालेनको पोखरा भ्रमणसँग सम्बन्धित रहेको पुष्टि हुन्छ । हालसम्म बालेन शाहले रवि लामिछानेको समर्थनमा न त कुनै हस्ताक्षर गरेका छन्, न त सार्वजनिक अभिव्यक्ति नै दिएका छन् ।
समाचार, khabarhub.com
समाचार, onlinekhabar.com
Aakash Chhetri
June 26, 2025
Aakash Chhetri
June 10, 2025
Aakash Chhetri
January 6, 2025