Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check

दाबी: ‘नेपालका प्रधानमन्त्री बालेन शाहले सबै मस्जिद, ईदगाह र दरगाह भत्काउन आदेश दिएर भने कि हामी नेपालमा जिहादी मानसिकता भएका मानिसहरू चाहँदैनौँ ।’
तथ्य: दाबीसँगै प्रयोग गरिएको तस्बिर नेपालसँग सम्बन्धित नभई भारतको उत्तर प्रदेशस्थित आजमगढको फातिमा गर्ल्स इन्टर कलेजमा सन् २०१७ मा खिचिएको पुरानो तस्बिर हो ।
नेपालका प्रधानमन्त्री बालेन शाहको आदेश भन्दै एउटा जानकारी सामाजिक संजालमा फैलाइएको छ । उक्त जानकारीमा ‘प्रधानमन्त्री बालेन शाहले मस्जिद, ईदगाह र दरगाह सबै भत्काउन आदेश दिएको’ दाबी गरिएको छ ।
हर हर महादेव uaml15 नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा तस्बिर जोडिएको छ, जसमा मुस्लिम युवतीहरु बुर्का लगाएर लाइनमा उभिएका देख्न सकिन्छ । साथै नेपालका प्रधानमन्त्त्री बालेन शाहको तस्बिर पनि जोडिएको छ ।

२५ जुन २०२६ मा पोस्ट गरिएको सामग्रीमा हिन्दी भाषामा लेखिएको छ- ‘नेपाल के प्रधानमंत्री बालेन शाह ने मस्जिद ईदगाह दरगाह सबको गिराने का आदेश दिया और कहा कि हमें नेपाल में जिहादी मानसिकता वाले नहीं चाहिए, यही काम मोदी जी को भी करना चाहिए कौन-कौन सहमत है ।’
यसअघि सोही पोस्ट I Am Proud To Be A Hindu नामक फेसबुक पेजमा पनि पोस्ट गरिएको पाइयो ।
१५ अप्रिल २०२६ मा पोस्ट गरिएको सामग्रीमा प्रधानमन्त्री बलेनले मस्जिद, इदगाह र दरगाह भत्काउन निर्देशन दिँदै नेपालमा जिहादी मानसिकता भएका मानिस चाहिँदैन भन्ने अभिव्यक्ति दिएको जानकारी दिइएको छ । साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि त्यही गर्नुपर्ने धारणा पनि व्यक्त गरिएको छ ।

के नेपालका प्रधानमन्त्री बालेन शाहले मस्जिद, ईदगाह र दरगाह सबै भत्काउन आदेश दिएको हुन् त? दाबीसहित भाइरल सामग्रीको वास्तविकता पत्ता लगाउन यो तथ्यजाँच गरिएको छ ।
प्रधानमन्त्री नियुक्ति भएसँगै (वैशाख २०८३) बालेन शाहले काठमाडौँस्थित नदी किनारका सुकुम्बासी बस्ती खाली गर्ने अभियान सुरु गरेका थिए । अभियान अन्तर्गत थापाथली, मनोहरा, बल्खु, टेकु लगायत क्षेत्रमा डोजर प्रयोग गरी सुकुम्बासी संरचना हटाइएको थियो । यसका लागि शाहले सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएको समाचार नेपालका संचार माध्यमहरुमा प्रकाशित भएका थिए ।

यही सन्दर्भमा (अप्रिल २०२६) प्रधानमन्त्री बालेन शाहले मस्जिद, ईदगाह र दरगाह सबै भत्काउन आदेश दिएको दाबी सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।
जाँचका क्रममा सबैभन्दा पहिले दाबीसहितको सामग्रीमा जोडिएको तस्बिर (मुस्लिम युवतीहरु बुर्का लगाएर लाइनमा उभिएको दृश्य) को वास्तविकता पत्ता लगाउने कोशिस गरियो । यसका लागि वाक्यांश जाँच र इभर्स इमेज सर्च गरियो । नतिजास्वरुप २०२१ मा पोस्ट गरिएका पुराना तथ्यजाँच रिपोर्टहरु फेला परे ।
१) हे. तथ्यजाँच रिपोर्ट ५ अगस्ट २०२१, newschecker.in
२) हे. तथ्यजाँच रिपोर्ट २२ नोभेम्बर २०२१, factcheckhindi.afp.com
फेला परेका जानकारीका आधारमा थप जाँच गर्दा Fatima Girls College & Schools फेसबुक पेजमा पोस्ट गरिएको समाचार पत्रको तस्बिर फेला पर्यो । १३ नोभेम्बर २०१७ मा पोस्ट गरिएको तस्बिरको क्याप्सनमा ‘Morning Prayer @College’ लेखिएको छ ।

फेला परेको तथ्यबाट के पुष्टि हुन्छ भने प्रधानमन्त्री बालेन शाहसँग जोड्दै पोस्ट गरिएको तस्बिर नेपालसँग सम्बन्धित छैन । बुर्का लगाएका युवतीहरू लाइनमा उभिएको तस्बिर नेपालस्थित कुनै धार्मिक कार्यक्रमको होइन, यो तस्बिर भारतको उत्तर प्रदेशस्थित आजमगढको फातिमा गर्ल्स इन्टर कलेजसँग सम्बन्धित छ ।
फेला परेको जानकारी अनुसार प्रस्तुत तस्बिर २०१७ मा बिहानी प्रार्थनाको क्रममा खिचिएको थियो । यही तस्बिरलाई नेपालका प्रधानमन्त्री बालेन शाहले मस्जिद, ईदगाह र दरगाह सबै भत्काउन आदेश दिएको दाबीसँगै सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।
अर्कोतर्फ प्रधानमन्त्री बालेन शाहले कुनैपनि धार्मिक संरचनाहरु भत्काउन आदेश दिएको जानकारी फेला परेन । साथै यस्तो आदेश जारी भएको कुनै आधिकारिक निर्णय, मन्त्रिपरिषद्को निर्णय, सरकारी विज्ञप्तिबाट प्रमाणित भएन ।

बालेन सरकार गठन भएलगत्तै काठमाडौँका अवैध संरचना भत्काउने र सार्वजनिक जग्गा खाली गराउने अभियान अगाडि बढेको थियो । तर, यसलाई धार्मिक संरचना भत्काउने आदेशका रूपमा प्रस्तुत गर्नु भ्रामक हुन्छ । अर्कोतर्फ प्रधानमन्त्री कार्यालयबाट मस्जिद, ईदगाह र दरगाह भत्काउने आदेश जारी भएको कुनै आधिकारिक अभिलेख भेटिँदैन ।
प्रधानमन्त्री बालेन शाहले मस्जिद, ईदगाह र दरगाह भत्काउन आदेश दिएको भन्ने दाबी पुष्टि गर्ने कुनै आधिकारिक प्रमाण फेला परेन । दाबीसँगै प्रयोग गरिएको तस्बिर पनि नेपालसँग सम्बन्धित नभई भारतको उत्तर प्रदेशस्थित आजमगढको फातिमा गर्ल्स इन्टर कलेजमा सन् २०१७ मा खिचिएको पुरानो तस्बिर हो । त्यसैले असम्बन्धित पुरानो तस्बिर प्रयोग गरी प्रधानमन्त्री बालेन शाहले धार्मिक संरचना भत्काउन आदेश दिएको दाबी भ्रामक छ ।
तस्बिर, Fatima Girls College & Schools
समाचार, kathmandupost.com
तथ्यजाँच रिपोर्ट, newschecker.in
तथ्यजाँच रिपोर्ट, factcheckhindi.afp.com
समाचार, setopati.com
समाचार, onlinekhabar.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected]

Aakash Chhetri
May 27, 2026
Aakash Chhetri
May 16, 2026
Aakash Chhetri
March 30, 2026