Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check

दाबी: ‘नेपालका प्रधानमन्त्रीले आधा विहारलाई आफ्नो नक्सामा देखाएका छन्…।’
तथ्य: दाबीसहितका पोस्टमा प्रयोग गरिएको ‘ग्रेटर नेपाल’ वा अन्य विस्तारित नक्सा नेपालका आधिकारिक नक्सा होइनन् ।
नेपालको नक्सासँग सम्बन्धित केही पोस्टहरु सामाजिक संजालमा फेला परेका छन् । हिन्दी भाषामा तयार पारिएका यस्ता पोस्टहरुमा ‘नेपालले नयाँ नक्सा जारी गरेको’ र ‘आधा बिहार नेपाल’ जस्ता वाक्यांशको प्रयोग गरिएको छ ।
97savitree56yadav85 नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा नेपाल र भारतका प्रधानमन्त्रीको तस्बिरसहित नक्साको तस्बिर पनि जोडिएको छ । उक्त भिडियोमा हिन्दी भाषामा बोलिरहेका व्यक्तिले भनेका छन्- ‘नेपालको नयाँ नक्सा यस्तो हुनेछ, जब लिपुलेख, कालापानी, लिम्पियाधुरालाई भारतले छाड्नेछ ।’

२५ मे २०२६ मा पोस्ट गरिएको भिडियोलाई आठ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । दुई दिनमै करिब एक हजार पटक सेयर भइसकेको पोस्ट सामाजिक संजालमा फैलिनेक्रममै छ ।
त्यस्तै Darbhanga Reporter फेसबुक पेजमा नेपालका प्रधानमन्त्री बालेन शाहको तस्बिर जोडिएको छ । साथै भिडियोमा देखिने व्यक्तिले हिन्दी भाषामा भनेका छन्- ‘नेपालका प्रधानमन्त्रीले आधा विहारलाई आफ्नो नक्सामा देखाएका छन्…।’

यस्तै जानकारीसहितको पोस्ट Ummeed 27 News नामक फेसबुक पेजमा पनि फेला परेको छ । प्रस्तुत भिडियोको थमनेलमा ग्रेटर नेपालको नक्सा र बालेन शाहको तस्बिरसँगै लेखिएको छ- ‘नेपाल ने नया नक्शा जारी, आधा बिहारी नेपाल जाएंगे?’
जेठ २०७७ तत्कालीन सरकारले नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सालाई जुन २०२० मा निशान छापमा अंकित गर्न संसद्को तल्लो सदन प्रतिनिधि सभाबाट स्वीकृत गरिएको थियो ।
यसअघि नोभेम्बर २०१९ मा भारत सरकारले आफ्नो नयाँ नक्सा जारी गर्दै, उक्त नक्सामा नेपालको कालापानी क्षेत्र पनि समेटिएको थियो । यद्यपी, यस नक्सालाई नेपालले आधिकारिकरुपमा स्वीकार गरेको छैन, अर्कोतर्फ नेपालले जारी गरेको नयाँ नक्सालाई पनि भारतले स्वीकार गरेको छैन ।

नेपालमा केही महिनाअघि (मार्च २०२६) मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकार गठन गरेको छ । नेपाल सरकारले हालसम्म ‘आधा बिहार’ वा भारतका अन्य भूभाग समेटिएको कुनै नयाँ नक्सा जारी गरेको छैन । यही सन्दर्भमा दाबीहसितको सामग्रीमा लिपुलेख, कालापानी, लिम्पियाधुरासँग जोड्दै पोस्ट गरिएको नक्सा पनि आधिकारिक होइन ।
अर्कोतर्फ नेपालका वर्तमान प्रधानमन्त्री बालेन शाहको विगत भने ग्रेटर नेपालको नक्सासँग जोडिएको छ । जेठ २०८० मा बालेन शाह काठमाडौँ महानगरपालिकाका मेयर पदमा थिए, त्यो समय बालेनको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा झुन्ड्याइएको विषयले चर्चा पाएको थियो ।
यही बेला, भारतले आफ्नो नयाँ संसद भवनमा नेपाली भूभागसमेत समावेश गरिएको ‘अखण्ड भारत’ नक्सा राखेको थियो । यसको विरोधमा नेपालभित्र ‘ग्रेटर नेपाल’को नक्साबारे चर्चा हुन थाल्यो । यही समय बालेनले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका थिए ।

यद्यपी, ‘ग्रेटर नेपाल’ नेपालको नक्साले कुनैपनि सरकारी आधिकारिकता पाएको छैन । त्यसैले नेपाल सरकारद्वारा जारी आधिकारिक नक्सा र ‘ग्रेटर नेपाल’ को नक्सा फरक विषय हुन् ।
यसअघि मार्च २०२६ मा बालेन प्रधानमन्त्री नियुक्त भएसँगै ग्रेटर नेपालको नक्सासँग उनलाई जोडेर सामाजिक संजालमा भ्रामक पोस्ट फैलाइएको पाइन्छ । यस्ता पोस्टहरुमा ‘नेपालका नयाँ प्रधानमन्त्रीले आधा बिहारलाई ग्रेटर नेपाल बनाउन चाहन्छन्’ भन्ने दाबी गरिएको थियो ।

प्रधानमन्त्री बालेन शाहको तस्बिरसँगै सामाजिक संजालमा फैलाइएका पोस्टहरु भ्रामक छन् । ‘नेपालले नयाँ नक्सा जारी गरेको’ र ‘आधा बिहार नेपाल’ जस्ता वाक्यांशले अतिरंजित जानकारी प्रवाह गरेको पाइयो । दाबीसहितका पोस्टमा प्रयोग गरिएको ‘ग्रेटर नेपाल’ वा अन्य विस्तारित नक्सा नेपालका आधिकारिक नक्सा होइनन् ।
समाचार, bbc.com
समाचार, kathmandupost.com
समाचार, onlinekhabar.com
तथ्यजाँच, nepal.newschecker.co
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected]

Aakash Chhetri
July 7, 2026
Aakash Chhetri
May 16, 2026
Aakash Chhetri
March 30, 2026