Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले ‘६० वर्ष उमेरदेखि नै मासिक पाँच हजारको दरले वृद्धभत्ता दिने’ घोषणा गरेको दाबी ।
तथ्य: विद्यमान व्यवस्थाअनुसार ७० वर्ष उमेर पूरा गरेका जेष्ठ नागरिकलाई मासिक ४ हजार रुपैयाँ तथा विशेष लक्षित समूह (कर्णाली क्षेत्रका नागरिक, दलित समुदाय र एकल महिला) लाई ६० वर्ष उमेरदेखि मासिक २ हजार ६६० रुपैयाँ भत्ता दिने व्यवस्था रहेको छ ।
सरकारले जेष्ठ नागरिकलाई प्रदान गरिरहेको वृद्धभत्तासँग सम्बन्धित केही पोस्टहरु सामाजिक संजालमा फैलिरहेका छन् । यस्ता पोस्टहरुमा प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले ‘६० वर्ष उमेरदेखि नै मासिक पाँच हजारको दरले वृद्धभत्ता दिने’ घोषणा गरेको दाबी गरिएको छ ।
Poorna Bahadur Bhandari नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा वृद्धभत्तासँग सम्बन्धित जानकारी जोडिएको छ । उक्त पोस्टमा यस्तो लेखिएको– ‘अबदेखि बालेन सरकारले वृद्धाभत्ता ६० वर्षदेखि पाउने महिनाको ५ हजारको दरले पाउने घोषणा गरेको छ ।’

१२ मे २०२६ मा पोस्ट गरिएको दाबीसहितको पाोस्टमा १० हजारभन्दा बढी टिकछक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । १३ सयभन्दा बढी प्रतिक्रिया, करिब नौ सयपटक सेयर भइसकेको पोस्टलाई यही अवधिमा २ लाख ५० हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले हेरिसकेका छन् ।
त्यस्तै Bishal Bro नामक फेसबुक पेजमा पनि सोही आशयको जानकारी पोस्ट गरिएको छ । उक्त भिडियोमा प्रधानमन्त्री बालेन शाह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का रवि लामिछानेको तस्बिर जोडिएको छ । प्रस्तुत तस्बिरको थमनेल र क्याप्सनमा लेखिएको छ- ‘अब बालेन सरकारले वृद्धा भत्ता महिनाको ५ हजार दिने भएको छ सही की गलत ।’

८ मे २०२६ मा पोस्ट गरिएको भिडियोमा ८ हजारभन्दा बढी फेसबुक प्रयोगकर्ताले लाइक गरिसकेका छन् । यही अवधिमा १ हजार ३ भन्दा बढी प्रतिक्रिया आएको रिललाई करिब दुई लाख फेसबुक प्रयोगकर्ताले हेरिसकेका छन् ।
त्यसैगरी Mutu3284 नामक टिकटक आइडीमा पनि सोही जानकारी जोडिएको छ । १५ मे २०२५ मा पोस्ट गरिएको सामग्रीमा लेखिएको छ- ‘अबदेखि वालेन सरकारले वृद्धभत्ता ६० वर्षदेखि पाउने महिनाको ५ हजारको दरले पाउने घोषणा गरेको छ हजुर हरुलाइ कस्तो लाग्छ राम्रो कि नराम्रो ।

के बालेन शाह नेतृत्वको सरकारले ६० वर्ष उमेरदेखि नै मासिक पाँच हजारको दरले वृद्धभत्ता दिने घोषणा गरेको हो त? सामाजिक संजालमा व्यापक फैलिरहेको दाबीको वास्तविकता पत्ता लगाउन तथ्यजाँच गरियो ।
सामाजिक सुरक्षा भत्ता अन्तर्गत नेपाल सरकारले जेष्ठ नागरिकलाई वृद्धभत्ता प्रदान गर्दै आएको छ । यसको सुरुवात वि.सं. २०५१/५२ मा तत्कालीन सरकारले गरेको थियो । यही सन्दर्भमा बालेन शाह नेतृत्वको सरकार गठन भएको केही महिना नबित्दै ‘६० वर्ष उमेरदेखि नै मासिक पाँच हजारको दरले वृद्धभत्ता दिने घोषणा’ गरिएको दाबी सामजिक संजालमा फैलिरहेको देखिन्छ ।

पछिल्लो समय सरकारले सामाजिक सुरक्षा ऐन २०७५ र ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ अन्तर्गत वृद्धभत्ता प्रदान गर्ने गरेको छ । साथै, यसको वितरण तथा प्रक्रिया सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधिद्वारा व्यवस्थित गरिएको छ । सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि २०८२ मा ७० वर्ष उमेर पूरा गरेका जेष्ठ नागरिकले मासिक ४ हजार रुपैयाँ पाउने प्रावधान छ ।
त्यस्तै ६० वर्ष उमेरदेखि साविक कर्णाली क्षेत्रका नागरिक तथा देशभरका दलित नागरिकलाई विशेष लक्षित समूहका रूपमा मासिक २ हजार ६६० रुपैयाँ भत्ता प्रदान गर्ने व्यवस्था गरिएको छ । त्यस्तै एकल महिला (विवाह नगरी बसेका, सम्बन्ध विच्छेद वा न्यायिक पृथकीकरण भएका तथा पतिको मृत्यु भएका) लाई ६० वर्षदेखि मासिक २ हजार ६६० रुपैयाँ भत्ता दिइने प्रावधान रहेको देखिन्छ ।

अर्कोतर्फ बालेन शाह नेतृत्वको सरकार गठन भएपछि वृद्धभत्तासँग सम्बन्धित केही भ्रामक जानकारीहरु सामाजिक संजालमा फैलिएको पाइयो । यस विषयमा अर्थ मन्त्रालयले एउटा सूचना जारी गर्दै वृद्धभत्ता पाउने उमेरबारे कुनै छलफल र निर्णय नभएको प्रष्ट पारिसकेको छ ।
३ अप्रिल २०२६ मा जारी गरिएको सूचनामा भनिएको छ- ‘वृद्धभत्ता पाउने उमेरबारे भएका टिकाटिप्पणीहरूमा कुनै सत्यता छैन । यस सन्दर्भमा मन्त्रालय र माननीय मन्त्रीज्यूले कुनै छलफलसमेत नगरेको स्पष्ट पार्न चाहन्छौँ ।’

अर्कोतर्फ बालेन शाह नेतृत्वको सरकारले वृद्धभत्ताको उमेर र रकम बढाउने र घटाउनेबारे गरिसकेको कुनै आधिकारिक प्रमाण फेला परेन । त्यस्तै प्रधानमन्त्री शाह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का रवि लामिछानेले ६० वर्ष उमेरदेखि नै मासिक पाँच हजारको दरले वृद्धभत्ता दिने जस्तो कुनै घोषणा गरेको पाइएन ।
यद्यपी, प्रधानमन्त्री सुशीला कार्कीले गठन गरेको सुशासन मार्गचित्र समितिले सरकारलाई बुझाएको ‘सुशासन मार्गचित्र २०८२’ प्रतिवेदनले सामाजिक सुरक्षा प्रणालीको पुनर्संरचनासम्बन्धी सुझावहरू प्रस्तुत गरेको छ।यस सुझावमा सामाजिक सुरक्षा भत्ता पाउने उमेरबारे पनि बुझाव दिइएको छ ।
प्रतिवेदनको एउटा अंशमा भनिएको छ- ‘सामाजिक सुरक्षा भत्ता पाउने उमेर वृद्धि गरी क्रमशः ७५ वर्ष पुऱ्याउने। बढ्दो औसत आयुलाई दृष्टिगत गरी राष्ट्रसेवकहरूको अवकाश उमेर क्रमशः बढाई ६३ वर्षसम्म पुऱ्याउने ।’ तर ‘सुशासन मार्गचित्र २०८२’ प्रतिवेदनमा उल्लेखित विषय कुनै घोषणा वा निर्णय भने होइन । १३ सदस्यीय समितिले बुझाएको सुझाव प्रतिवेदन मात्र हो ।

बालेन शाह नेतृत्वको सरकारले ६० वर्ष उमेरदेखि नै मासिक पाँच हजार रुपैयाँ वृद्धभत्ता दिने घोषणा’ गरिएको दाबीसहित पोस्ट गरिएका सामग्री भ्रामक छन् । उपलब्ध आधिकारिक कागजात, सरकारी सूचना तथा सम्बन्धित निकायका विवरणहरू अनुसार यस्तो कुनै घोषणा, निर्णय वा नीति स्वीकृत भएको प्रमाण भेटिँदैन । विद्यमान व्यवस्थाअनुसार ७० वर्ष उमेर पूरा गरेका जेष्ठ नागरिकलाई मासिक ४ हजार रुपैयाँ तथा विशेष लक्षित समूह (कर्णाली क्षेत्रका नागरिक, दलित समुदाय र एकल महिला) लाई ६० वर्ष उमेरदेखि मासिक २ हजार ६६० रुपैयाँ भत्ता दिने व्यवस्था रहेको छ । वृद्धभत्ता ६० वर्षदेखि मासिक ५ हजार रुपैयाँ दिने भन्ने दाबी हालसम्म कुनै आधिकारिक सरकारी निर्णय वा प्रमाणमा आधारित छैन् ।
सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि २०८२, moha.gov.np
सुशासन मार्गचित्र, opmcm.gov.np
समाचार, bizmandu.com
समाचार, myrepublica.nagariknetwork.com
समाचार, annapurnapost.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected]

Aakash Chhetri
June 5, 2026

Aakash Chhetri
June 2, 2026

Aakash Chhetri
May 27, 2026