Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check

दाबी: लामिछानेसँग ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता गर्दैछौँ’ भन्ने अभिव्यक्ति दिएको दाबी ।
तथ्य: सार्वजनिक भएका आधिकारिक विवरण, मोदीको सामाजिक संजाल पोस्ट तथा भेटमा सहभागी पक्षले दिएको जानकारीमा यस्तो प्रतिबद्धता उल्लेख छैन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको भारत भ्रमणकै क्रममा कालापानी, लिपुलेक र लिम्पियाधुरासँग सम्बन्धित केही पोस्टहरु सामाजिक संजालमा फैलिरहेका छन् । यस्ता पोस्टहरुमा लामिछानेसँग ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता गर्दैछौँ’ भन्ने अभिव्यक्ति दिएको दाबी गरिएको छ ।

Manoj…..5 नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रास्वपा सभापति रवि लामिछाने देखिने दृश्यहरु जोडिएको छ । ४ जुन २०२६ मा पोस्ट गरिएको भिडियोमा टिकटक प्रयोगकर्ताले भनेका छन्-
‘रास्वपा सभापति रवि लामिछानेलाई नरेन्द्र मोदीले छेउमै राखेर भने, सीमा विवादमा रहेका कालापानी, लिपुलेक र लिम्पियाधुरा हामी फिर्ता गर्दैछौँ । नरेन्द्र मोदीको यो भनाईप्रति देशैभरीबाट खुसी हुने साथीहरु ती साथीहरुले यो भिडियोलाई सक्दो सेयर गरेर सपोर्ट दिनुहोला…।’
त्यसैगरी Ram Tamang नामक टिकटक आइडीमा यस्तै दाबी जोडिएको छ । उक्त भिडियोमा प्रधानमन्त्री नरेन्द्र मोदी जस्तै देखिने आकृति बोलिरहेको देखिन्छ । भिडियोमा मोदीको आकृतिले रवि लामिछानेको हातमार्फत् कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाललाई फर्ता गरेको अभिव्यक्ति दिएको देख्न सकिन्छ ।

४ जुन २०२६ मा पोस्ट गरिएको भिडियोमा पाँच हजार चार सयभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । साथै यही अवधिमा पाँच सयभन्दा बढी पटक सेयर भइसकेको पोस्ट सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको छ ।
Jhakka Prasad Acharya नामक फेसबुक पेजमा पनि यस्तो दाबी पोस्ट गरिएको पाइयो । ३ जुन २०२६ मा पोस्ट गरिएको पोस्टरमा ‘कालापानी, लिपुलेक, लिम्पियाधुरा फिर्ता गर्दैछौँ’ लेखिएको छ ।
प्रधानमन्त्री मोदी र लामिछानेको तस्बिरसहितको पोस्टरको क्याप्सनमा लेखिएको छ- ‘Breaking: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रविसँग वार्ता गरिसकेपछि कालापानी, लिपुलेक नेपाललाई नै फिर्ता रणनीति अपनाएका छन् ।’

के भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछानेसँग कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता गर्ने अभिव्यक्ति दिएका हुन् त?
३ जुन २०२६ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपाली सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । भारतीय सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा दिल्ली पुगेका लामिछाने र प्रधानमन्त्री मोदीबीच आफ्ना-आफ्ना देशका प्रतिनिधि मण्डलसहित भेटघाट भएको थियो ।

सही सन्दर्भमा, सामाजिक संजाला प्रयोगकर्तामाझ लामिछानेसँग ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता गर्दैछौँ’ भन्ने अभिव्यक्ति दिएको दाबी गर्ने पोस्टहरु फैलिरहेका छन् ।
तर, मोदीले छलफल गर्नुपर्ने विषयको सूची ल्याएर आउन र छलफलका लागि आफूहरु तयार रहेको मोदीले बताएका थिए । लामिछानेको भ्रमण दलमा रहेर प्रधानमन्त्री मोदीसँगको वार्तामा सहभागि भएका रास्वपा सांसद दीपक बोहराले bbc नेपालीलाई यो जानकारी दिएका हुन् ।

bbc नेपालीसँग कुराकानी गर्दै सांसद बोहराले भनेका छन्- ‘हामी छलफल गर्छौँ। तपाईँहरू त्यसको सूची बनाएर ल्याउनूस्। एउटा समयसीमा बनाऊँ। उच्च प्राथमिकतामा छन् ती काम मेरा लागि’ भन्नुभयो’
त्यस्तै भेटवार्तपछि प्रधामन्त्री मोदीले आफ्नो एक्स ह्यान्डलमा ‘छिमेकी पहिलो’ नीति अन्तर्गत नेपालको नयाँ सरकारसँग काम गर्न तत्पर रहेको जानकारी दिएका थिए । मोदीले लेखेको एउटा वाक्यांश यस्तो छ-
‘Nepal is a priority partner under our Neighbourhood First policy and we look forward to collaborating with the new government to elevate the special and multifaceted relationship between our two countries to greater heights’
लामिछानेको भेटवार्तापछि सार्वजनिक जानकारीहरुबाट मोदीले कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता गर्दैछौँ भन्ने अभिव्यक्ति दिएको दाबी पुष्टि हुँदैन ।
अर्कोतर्फ मोदी-लामिछाने भेट हुनुभन्दा अघिल्लो दिन (२ जुन २०२६) मा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपाल–भारत सीमा विवाद समाधानका लागि कुनै तेस्रो पक्षको मध्यस्थता स्वीकार्य नहुने बताएका थिए ।
यसअघि ३१ मे २०२६ मा सांसदबाट नेपालका प्रधानमन्त्री बालेन शाहले भारतसँगको सीमा विवादका विषयमा इंग्ल्यान्ड (बेलायत) सँग समेत छलफल भएको बताएका थिए।
नेपाल–भारत सीमा अन्तर्गत कालापानी, लिपुलेक र लिम्पियाधुरा विवादको मुख्य आधार सन् १८१६ को सुगौली सन्धि हो। सन्धिअनुसार महाकाली (काली) नदी नेपालको पश्चिमी सीमा मानिएको छ। तर, काली नदीको वास्तविक मुहान कहाँ हो भन्ने विषयमा नेपाल र भारतबीच फरक व्याख्या छ । यस भूभागलाई समेटेर दुबै देशले आ-आफ्नो राजनीतिक र प्रशासनिक नक्सा जारी गरिसकेका छन् ।

प्रस्तुत जाँचबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाललाई फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गरेको कुनै प्रमाण फेला परेन ।
अर्कोतर्फ hivemoderation.com को एआई डिटेक्सन टुलबाट गरिएको जाँचमा दाबीसहितका केही दृश्य एआईबाट तोडमोड गरिएको पाइयो । एआई जनेरेटेड दृश्यहरुमार्फत् भ्रामक दाबीहरुहरु सामाजिक संजालमा फैलाइएको देखिन्छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछानेसँगको भेटमा कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाललाई फिर्ता गर्ने अभिव्यक्ति दिएको भन्ने दाबीलाई पुष्टि गर्ने कुनै प्रमाण भेटिएन । सार्वजनिक भएका आधिकारिक विवरण, मोदीको सामाजिक संजाल पोस्ट तथा भेटमा सहभागी पक्षले दिएको जानकारीमा यस्तो प्रतिबद्धता उल्लेख छैन । बरु सीमा विवादलगायतका विषयमा सूची तयार गरेर छलफल गर्न भारत तयार रहेको सन्देश दिइएको देखिन्छ । त्यसैले मोदीले विवादित भूभाग फिर्ता गर्ने घोषणा गरेको भन्ने दाबी भ्रामक ठहरिन्छ।
समाचार, pib.gov.in
भिडियो, ANI News
एक्स, narendramodi
समाचार, bbc.com/nepali
समाचार, aljazeera.com
समाचार, ekantipur.com
समाचार, setopati.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected]

Aakash Chhetri
June 2, 2026
Aakash Chhetri
May 16, 2026
Aakash Chhetri
March 30, 2026