Fact Check
भारतीय प्रधानमन्त्री मोदीले हालसालै दिएका छैनन् राजीनामा, टिकटकमा फैलियो पुरानो समाचार

दाबी: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए राजीनामा ।
तथ्य: लोकसभा निर्वाचन २०२४ पछि नयाँ सरकार गठन गर्ने संवैधानिक प्रक्रियाअनुसार मोदी र उनको मन्त्रिपरिषद्ले राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सम्बन्धित एउटा जानकारी सामाजिक संजालमा फैलिरहेको छ । उक्त सामग्रीमा नरेन्द्र मोदीले प्रधानमन्त्री पदबाट राजीनामा दिएको जानकारी दिइएको छ ।
Madhav Parsad Ghimire नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मूको तस्बिर जोडिएको छ । ६ जुन २०२६ मा पोस्ट गरिएको भिडियोको थमनेलमा लेखिएको छ- ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए राजीनामा’ ।

पोस्ट गरिएको चार दिनमै दाबीसहितको भिडियोमा २८ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै १४ सयभन्दा बढी पटक सेयर भइसकेको भिडियोलाई ८ लाखभन्दा बढी टिकटक प्रयोगकर्ताले हेरिसकेका छन् ।
त्यसैगरी सोही दाबीसहितको सामग्री ShreekulGiri (Tiktoker) नामक टिकटक आइडीमा पनि पोस्ट गरिएको छ । ५ जुन २०२६ मा पोस्ट गरिएको भिडियोमा ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए राजीनामा’ दिएको जानकारी जोडिएको छ ।

के भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालसालै राजीनामा दिएका हुन् त? टिकटक प्रयोगकर्तामाझ फैलिएको जानकारीको वास्तविकता पत्ता लगाउन यो तथ्यजाँच गरिएको छ ।
तथ्यजाँच/प्रमाणीकरण
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति द्रौपदी मुर्मूलाई राजीनामा पत्र बुझाएको तस्बिर दाबीसहितको भिडियोमा जोडिएको छ । सबैन्दा पहिले, प्रस्तुत तस्बिरको वास्तविकता पत्ता लगाउने कोशिस गर्यौँ । तस्बिरलाई रिभर्स इमेज सर्च गर्यौँ ।
जाँचको नजितास्वरुप indianexpress.com लगायतका संचार माध्यममा प्रकाशित समाचारहरु फेला परे । ५ जुन २०२४ मा पोस्ट गरिएको समाचारमा प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय मन्त्रिपरिषद्ले राष्ट्रपति द्रौपदी मुर्मूलाई राजीनामा बुझाएको जानकारी दिइएको छ ।

त्यस्तै सोही व्यहोराको समाचार र तस्बिर hindustantimes.com ले पनि प्रकाशित गरेको पाइयो । ५ जुन २०२४ मा पोस्ट गरिएको समाचारमा पनि प्रधानमन्त्री नरेन्द्र मोदीले राजीनामा दिएको जानकारी दिइएको छ ।
वास्तवमा, नेपाली टिकटक प्रयोगकर्ताहरुले हालसालै पोस्ट गरिरहेको जानकारी तथा समाचार वर्तमान सन्दर्भको भने होइन । दुई वर्षअघि अर्थात् ५ जुन २०२६ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको मन्त्रिपरिषद्ले राष्ट्रपति मुर्मूलाई राजीनामा बुझाएको जानकारी सत्य हो । सोही पुरानो समाचार जानकारीलाई नेपालका सामाजिक संजाल प्रयोगकर्ताहरुले भ्रामक तरिकाले टिकटकमा पोस्ट गरिएको पाइयो ।
५ जुन २०२४ मा भारतीय राष्ट्रपतिको एक्स ह्यान्डल President of India केही तस्बिरहरु पोस्ट गरिएको देखिन्छ । यही सन्दर्भको तस्बिर नै वर्तमान समयमा नेपाली टिकटक प्रयोगकर्तामाझ फैलिरहेको छ ।

यद्यपी, त्यो बेला कुनै संकटपूर्ण अवस्थाका कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राजीनामा दिएका थिएनन् । उनले तेस्रो कार्यकालका लागि प्रधानमन्त्री पदको सपथ लिनका लागि राजीनामा बुझाएका थिए ।
भारतीय लोकसभा निर्वाचन २०२४ मा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)ले बहुमत हासिल गरेपछि अर्को सरकार गठनको प्रक्रिया अघि बढाउँदै प्रधानमन्त्री नरेन्द्र मोदी राजीनामा दिएका थिए । यसको केही दिनपछि अर्थात् ९ जुन २०२४ मा नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा मोदीले तेस्रो कार्यकालका लागि प्रधानमन्त्री पदको सपथ लिएका थिए।
फेला परेका तथ्यहरुबाट के पुष्टि हुन्छ भने प्रधानमन्त्री नरेन्द्र मोदीले हालसालै राजीनामा दिएका होइनन् । जुन २०२४ को समाचारलाई फरक सन्दर्भ पारेर जुन २०२६ मा पोस्ट गरिएको देखियो ।
निष्कर्ष
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालसालै राजीनामा दिएका छैनन्। टिकटकमा प्रयोग गरिएको जानकारी भने ५ जुन २०२४ को पुरानो सन्दर्भसँग सम्बन्धित छ । लोकसभा निर्वाचन २०२४ पछि नयाँ सरकार गठन गर्ने संवैधानिक प्रक्रियाअनुसार मोदी र उनको मन्त्रिपरिषद्ले राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका थिए । यो राजीनामा कुनै राजनीतिक संकट, विवाद वा पद त्यागका कारण नभई नयाँ कार्यकालका लागि सरकार पुनर्गठन गर्न दिइएको औपचारिक राजीनामा थियो। त्यसपछि मोदीले तेस्रो कार्यकालका लागि पुनः प्रधानमन्त्री पदको सपथ लिएका थिए। त्यसैले २०२४ को पुरानो तस्बिर र समाचारलाई वर्तमान घटनाजस्तो प्रस्तुत गर्दै मोदीले राजीनामा दिएको दाबी गर्नु भ्रामक छ।
नतिजा: भ्रामक
हाम्रा स्रोतहरू
तस्बिर र जानकारी, President of India
समाचार, indianexpress.com
समाचार, hindustantimes.com
समाचार, business-standard.com
समाचार, timesofindia.indiatimes.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected]


