Fact Check
पूर्वराजा ज्ञानेन्द्र शाह र प्रधानमन्त्री नरेन्द्र मोदीका भ्रामक तस्बिर भाइरल

दाबी: डिसेम्बर २०२५ को अन्त्यतिर सामाजिक संजाल (फेसबुक, टिकटक आदि) मा पूर्वराजा ज्ञानेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच गोप्य/शिष्टाचार भेट भएको दाबी गर्ने केही तस्बिरहरु भाइरल भएका छन् ।
तथ्य: सामाजिक संजालमा फैलिएका तस्बिर तोडमोड गरी बनाइएको पुष्टि भएको छ । फरक–फरक सन्दर्भमा खिचिएका पुराना तस्बिरहरु हुन्, जसलाई तोडमोड गरी जोडिएको पाइयो ।
पूर्वराजा ज्ञानेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सम्बन्धित केही तस्बिरहरु सामाजिक संजालमा फैलिरहेका छन् । भाइरल तस्बिरसँगै पूर्वराजा शाह र प्रधानमन्त्री मोदीबीच गोप्य भेटवार्ता भएको जानकारी जोडिएको छ ।
Janaboli TV नामक टिकटक आइडीमा पोस्ट गरिएको दृश्यमा पूर्वराजा र भारतीय प्रधानमन्त्रीका तस्बिर एउटै फ्रेममा देख्न सकिन्छ । प्रस्तुत तस्बिरको थमनेलमा ज्ञानेन्द्र शाह र नरेन्द्र मोदीको अर्थपूर्ण भेट लेखिएको छ । तस्बिरको क्याप्सनमा लेखिएको छ-

‘नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको पछिल्लो भेटवार्ताले राजनीतिमा ठूलै हलचल पैदा गरेको छ । भारत भ्रमणका क्रममा पूर्वराजा शाहले प्रधानमन्त्री मोदीसँग महत्वपूर्ण छलफल गर्नुभएको छ । भेटमा नेपालको पछिल्लो राजनीतिक अस्थिरता र हिन्दु राष्ट्रको मुद्दाबारे कुराकानी भएको बताइएको छ । एकातिर देशमा राजावादीहरूको आन्दोलन चर्किएको छ, अर्कोतिर दिल्ली दरबारमा पूर्वराजाले प्राथमिकता पाउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।’
२३ डिसेम्बर २०२५ मा पोस्ट गरिएको सामग्रीमा करिब ६ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको भिडियोलाई हजारौँले हेरिसकेका छन् ।
सोही तस्बिर र क्याप्सन KJ HD Khabar नामक फेसबुक आइडीमा पनि पोस्ट गरिएको छ ।२३ डिसेम्बर २०२५ मा पोस्ट गरिएको पोस्टमा शाह र मोदी देखिने तस्बिर जोडिएको छ ।

त्यस्तै Pashupati Khadka नामक फेसबुक आइडीमा पनि पूर्वराजा ज्ञानेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शिष्टाचार भेट भएको दाबी गरिएको छ । पूर्वराजा शाह र प्रधानमन्त्री मोदी देखिने तस्बिरको क्याप्सनमा लेखिएको छ-
‘श्री ५ ज्ञानेन्द्र सरकार र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शिष्टाचार भेट भएको फोटो सामाजिक संजालमा भाइरल हुँदैछ । यो भेटघाट भएको फोटोले नेपाली जनताको स्वाभिमान उठेको छ ।’

२१ डिसेम्बर २०२५ मा पोस्ट गरिएको तस्बिर सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको छ । Newsnepal39 नामक टिकटक आइडीमा पनि सोही दाबीसहितको तस्बिर र क्याप्सन पोस्ट गरिएको छ ।
के पूर्वराजा शाह र प्रधानमन्त्री मोदीबीच गोप्य भेटवार्ता भएको जानकारीसहित फैलाइएको तस्बिर वास्तविक हुन् त? हाम्रो तथ्यजाँचले भ्रामक नतिजा निकालेको छ ।
तथ्यजाँच/प्रमाणीकरण
पछिल्लोपटक केही दिनअघि मात्रै पूर्वराजा ज्ञानेन्द्र शाह भारत प्रवेश गरेको जानकारी संचार माध्यममा आएको थियो । २ पुस २०८२ मा पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती अपराह्न स्थलमार्ग हुँदै भारत प्रस्थान गरेका थिए उनीहरू पूर्वी नाका काँकडभिट्टाबाट पश्चिम बंगालको सिलिगुडी तर्फ गएका हुन् ।
यहीबेला इकान्तिपुर डटकममा प्रकाशित समाचारमा लेखिएको छ- ‘झापाका सुरक्षा स्रोतका अनुसार धुलाबारीस्थित होटल मेची क्राउनमा ‘लन्च’ गरेपछि पूर्वराजा दम्पती भारततर्फ लागेको पुष्टि भएको छ । यद्यपि, भ्रमणको उद्देश्य र अवधिबारे सुरक्षा निकाय अनविज्ञ रहेको जनाएको छ ।’
यद्यपी, सिलिगुडीमा पूर्वराजा ज्ञानेन्द्र शाहले उच्चस्तरिय भेट गर्नसक्ने संकेत संचार माध्यमले गरेका छन् । तर, त्यो भेट प्रधानमन्त्री नरेन्द्र मोदीसँग भने होइन । यसको कुनै औपचारिक पुष्टि भने भएको छैन ।
यही सन्दर्भमा पूर्वराजा ज्ञानेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको भन्दै केही तस्बिर सामाजिक संजालमा फैलाइएको देखियो । यही क्रममा हामीले तस्बिरसँग सम्बन्धित किवर्ड र रिभर्स इमेज सर्चको जाँच गर्यौँ । जाँचको नतिजा भने दाबीसँग नमिल्दो देखियो ।

जाँचकै क्रममा भारतीय प्रधानमन्त्री कार्यालयले (Prime Minister’s Office) इन्टरनेटमा राखेको एउटा तस्बिर फेला पर्यो । ११ मे २०१८ मा पोस्ट गरिएको तस्बिरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालीन नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई देख्न सकिन्छ । प्रस्तुत तस्बिरको क्याप्सनमा लेखिएको छ- ‘The Prime Minister, Shri Narendra Modi with the Prime Minister of Nepal, Shri K.P. Sharma Oli ahead of the delegation level talks, in Kathmandu, Nepal on May 11, 2018’
यही तस्बिरलाई तोडमोड गरी पूर्वराजा ज्ञानेन्द्र शाहको अंश जोडेर सामाजिक संजालमा फैलाइएको पाइयो । तर, यो वास्तविक तस्बिर पूर्वराजासँग सम्बन्धित छैन, नरेन्द्र मोदी र केपी ओलीसँग सम्बन्धित छ ।
वास्तवमा यो तस्बिर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहेका बेला नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटघाट गरेपछि द्वारिकाज होटलमा खिचिएको थियो । मे २०१८ मा नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका राष्ट्रपति, प्रधानमन्त्री, उपराष्ट्रपति लगायतसँग शिष्टाचार भेटघाट गरेका थिए ।

मोदी-ओलीबीचको भेटमा खिचिएको तस्बिरमा पूर्वराजा ज्ञानेन्द्र शाहको फरक सन्दर्भमा खिचिएको पूरानो तस्बिरलाई जोडेर सामाजिक संजालमा भ्रामक सन्देश फैलाइएको पाइयो ।
त्यसैगरी पूर्वराजा ज्ञानेन्द्र शाह र भारतीय प्रधानमन्त्री देखिने अर्को तस्बिरको जाँच गर्यौँ । जाँचका क्रममा यो तस्बिर पनि अवास्तविक रहेको पाइयो । अक्टोबर २०२३ मा पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो परिवारसहित मजाज नामक नेपाली रेस्टुरेन्टमा पुगेका थिए ।
यही रात्रीभोज गर्ने क्रममा लिइएका तस्बिर र दृश्यमा पूर्वराजाले जस्तो पोशाक लगाएका छन्, त्यस्तै नरेन्द्र मोदीसँगको तस्बिरमा पनि देख्न सकिन्छ ।
तस्बिर र दृश्यको जाँचपछि हामी पूर्वराजा ज्ञानेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिर नक्कली रहेको निष्कर्षमा पुग्यौँ । फरक सन्दर्भमा खिचिएको तस्बिरलाई तोडमोड गरेर सामाजिक संजालमा भ्रम फैलाउन प्रयोग गरिएको देखिन्छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहले विभिन्न समय विगतमा भारत पुग्ने गरेको सत्य हो । तर, हालसम्म (२४ डिसेम्बर २०२५) पूर्वराजा ज्ञानेन्द्र शाह र प्रधानमन्त्री मोदीबीच भेट भएको कुनै आधिकारिक जानकारी, गोप्य वा खुला भेटको प्रमाण छैन ।
निष्कर्ष
पूर्वराजा ज्ञानेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको दाबी गर्दै पोस्ट गरिएका तस्बिरहरू वास्तविक नभई फरक–फरक सन्दर्भमा खिचिएका पुराना तस्बिरहरु हुन्, जसलाई तोडमोड गरी जोडिएको पाइयो । एउटा तस्बिर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबीच मे २०१८ मा काठमाडौँमा भएको भेटको हो भने, अर्को तस्बिर पूर्वराजा ज्ञानेन्द्र शाहको निजी-पारिवारिक अवसरका क्रममा खिचिएको दृश्यसँग मेल खाएको पाइयो ।
नितिजा: भ्रामक
हाम्रा स्रोतहरू
तस्बिर, Prime Minister’s Office
तस्बिर, Mazaaj Restaurant & Sheesha Lounge
समाचार, deshsanchar.com
समाचार, deshsanchar.com
समाचार, ekantipur.com
समाचार, thehimalayantimes.com
समाचार, tribuneindia.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected]


