Fact Check
के बालेनले ‘आधा बिहारलाई ग्रेटर नेपाल बनाउने’ भनेका हुन्?
दाबी: नेपालका नयाँ प्रधानमन्त्रीले आधा बिहारलाई ग्रेटर नेपाल बनाउन चाहन्छन् ।
तथ्य: ‘नेपालका नयाँ प्रधानमन्त्रीले आधा बिहारलाई ग्रेटर नेपाल बनाउन चाहन्छन्’ भन्ने दाबी भ्रामक छ । विगतमा बालेन ‘ग्रेटर नेपाल’को मुद्दा र नक्सासँग प्रत्येक्ष रुपमा जोडिएका थिए तर त्यो बेलाको परिस्थिति वर्तमान सन्दर्भसँग मिल्दैन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहसँग सम्बन्धित केही सामग्री सामाजिक संजालमा फैलिरहेका छन् । यही सन्दर्भमा ‘ग्रेटर नेपाल’ र बालेनलाई जोडिएका सामग्रीहरु समेत फेला परेका छन् ।
With Love Bihar नामक एक्स ह्यान्डलमा पोस्ट गरिएको तस्बिरमा बालेन शाह र ग्रेटर नेपालको नक्सा जोडिएको छ । ९ मार्च २०२६ मा, निर्वाचन २०८२ को अन्तिम नतिजा सार्वजनिक गर्न तयारी भइरहेका बेला पोस्ट गरिएको यस क्याप्सनमा ‘The new Prime Minister of Nepal wants half of Bihar as Greater Nepal’ लेखिएको छ ।

अर्थात्, यस लिंकमा ‘नयाँ बालेनलाई प्रधानमन्त्री’को रुपमा प्रस्तुत गरिएको छ र उनले ‘भारतको बिहार राज्यको आधा भूभागलाई ग्रेटर नेपाल’ बनाउने चाहेको सन्देश दिइएको छ । प्रस्तुत पोस्टलाई ९ लाख ५५ हजारभन्दा बढी एक्स प्रयोगकर्ताले हेरिसकेका छन् । त्यस्तै करिब ९ सय प्रतिक्रिया आएको पोस्टमा २ हजार ४ सयभन्दा बटी एक्स प्रयोगकर्ताको रियाक्टसन आएको छ ।
के प्रस्तुत पोस्ट तथ्यमा आधारित छ त? यहाँ बालेन शाह ‘नयाँ प्रधानमन्त्री’ बन्न लागेको सन्दर्भ र ग्रेटर नेपालको मुद्दालाई एकठाउँमा राखेर जाँच गरिएको छ ।
तथ्यजाँच/प्रमाणीकरण
‘ग्रेटर नेपाल’ भन्ने अवधारणा ऐतिहासिक सन्दर्भसँग जोडिएको राजनीतिक–विचारधारात्मक धारणा हो, जसमा सन् १८१६ को सुगौली सन्धि (Treaty of Sugauli) अघि नेपालले नियन्त्रण गरेको भूभागहरूलाई उल्लेख गरिन्छ । प्रस्तुत अवधारणामा हाल भारतका केही क्षेत्रहरू पनि ऐतिहासिक रूपमा समेटिएका देखाइन्छन्, यसमा त्यो समय नेपालले पूर्वमा तीस्ता नदीदेखि पश्चिममा सतलज नदीसम्म तथा दक्षिणतर्फ गंगा नदी आसपासका भूभागसम्म फैलिएको क्षेत्र नियन्त्रणमा राखेको उल्लेख गरिन्छ, जसको आकार करिब २ लाख ४९ हजार वर्ग किलोमिटर रहेको दाबी ‘ग्रेटर नेपाल’मा गरिन्छ ।

यद्यपी, ‘ग्रेटर नेपाल’लाई नेपाल सरकारले आफ्नो आधिकारिक नीति, कूटनीतिक माग वा कानुनीरुपमा दाबी भने गरेको छैन । यसलाई नेपाल सरकारको औपचारिक नीतिका रुपमा पनि हेरिँदैन । किनकि दुई सय वर्षभन्दा बढी समयदेखि ती क्षेत्रहरू भारतको प्रशासनिक संरचनामा समावेश भइसकेका छन् र अन्तर्राष्ट्रिय सन्धि तथा वर्तमान राजनीतिक–भौगोलिक वास्तविकताले यस्तो दाबीलाई व्यवहारिक रूपमा सम्भव नहुने बताइन्छ।
यही सन्दर्भमा प्रतिनिधि सभा निर्वाचन २०८२ को नतिजा सार्वजनिक भइरहेका बेला ‘नेपालका नयाँ प्रधानमन्त्रीले आधा बिहारलाई ग्रेटर नेपाल बनाउन चाहन्छन्’ भन्ने वाक्यांशसहितका तस्बिर सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।
सबैभन्दा पहिले, यो तथ्यजाँच रिपोर्ट तयार पार्दैगर्दा बालेन शाहलाई प्रधानमन्त्री नियुक्त गरिएको घोषणा नै भएको छैन । निर्वाचनको पछिल्लो नतिजा अनुसार रास्वपा सानदार मतसहित सबैभन्दा अगाडि छ तर देशभर भएको प्रतिनिधि सभा निर्वाचनको पूर्ण र आधिकारिक नतिजा सार्वजनिक भइसकेको छैन । यस तथ्यले के प्रष्ट पार्छ भने बालेनलाई अहिले नै ‘नेपालका नयाँ प्रधानमन्त्री’ भन्नु भ्रामक छ । अर्कोतर्फ विगतमा बालेन ‘ग्रेटर नेपाल’को मुद्दा र नक्सासँग प्रत्येक्ष रुपमा जोडिएको सन्दर्भ भने सत्य हो ।
निर्वाचनकै सन्दर्भमा बालेनबारे aljazeera.com ले प्रकाशित (२ मार्च २०२६) गरेको समाचार रिपोर्टमा यसबारे उल्लेख गरिएको पाइयो । उक्त रिपोर्टमा लेखिएको छ- ‘In another instance, in 2023, after India installed a mural of “Akhand Bharat” (a Greater India) – encompassing many of its neighbours – Shah hung a “Greater Nepal” map in his office, including territories that once belonged to Nepal but now lie within India’s borders.’

त्यसैगरी ८ जुन २०२३ मा प्रकाशित समाचार (nagariknews.nagariknetwork.com, tribuneindia.com) अनुसार तत्कालीन काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेका थिए । भारतले नयाँ संसद् भवनमा नेपाली भूमि समेटिएको ‘अखण्ड भारत’ को नक्सा राखेपछि सोही नक्साको विरोध स्वरूप बालेनले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेको संचार माध्यमले उल्लेख गरेका छन् ।
‘ग्रेटर नेपाल’लाई सुगौली सन्धि अघिको नेपालको क्षेत्रफलका रुपमा ब्याख्या गरिन्छ, जसमा भारतका केही भागहरू उत्तर प्रदेश, बिहार, पश्चिम बंगालका क्षेत्रहरू समावेश छन् । तर, यही आधारमा ‘नेपालका नयाँ प्रधानमन्त्री’ (जसलाई आधिकारिक रुपमा घोषणा गरिएको छैन) ‘आधा बिहारलाई ग्रेटर नेपाल बनाउन चाहन्छन्’ भन्ने दाबी पनि भ्रामक छ । किनकि २०२३ को राजनीतिक परिस्थिति र वर्तमान सन्दर्भ एकआपसमा मेल खाँदैनन् ।

यसपटकको निर्वाचनमा ‘ग्रेटर नेपाल’को मुद्दालाई बालेन र रास्वपाले आफ्नो चुनावी अभियानमा प्रयोग गरेको सार्वजनिक रुपमा पुष्टि हुँदैन । रास्वपाको आधिकारिक बाचापत्रमा पनि ‘ग्रेटर नेपाल’को मुद्दा र नक्साबारे कुनै उल्लेख गरिएको छैन । बालेनले आफ्ना सार्वजनिक अभिव्यक्तिमा पनि ‘ग्रेटर नेपाल’ वा ‘आधा बिहार’लाई नेपाल बनाउन चाहेको कुनै पनि आशय वा संकेत दिएको पाइदैन ।
निष्कर्ष
‘नेपालका नयाँ प्रधानमन्त्रीले आधा बिहारलाई ग्रेटर नेपाल बनाउन चाहन्छन्’ भन्ने दाबी भ्रामक छ । वास्तवमा, बालेन शाहलाई हालसम्म आधिकारिकरुपमा प्रधानमन्त्री घोषणा गरिएको छैन, साथै उनले ‘आधा बिहार’लाई नेपालमा समेट्ने चाहना व्यक्त गरेको कुनै प्रमाणित अभिव्यक्ति वा आधिकारिक नीति पनि भेटिँदैन । विगतमा बालेन ‘ग्रेटर नेपाल’को मुद्दा र नक्सासँग प्रत्येक्ष रुपमा जोडिएका थिए तर त्यो बेलाको परिस्थिति वर्तमान सन्दर्भसँग मिल्दैन । ‘ग्रेटर नेपाल’ ऐतिहासिक सन्दर्भसँग जोडिएको अवधारणा भए पनि यसलाई न त नेपाल सरकारले औपचारिक रूपमा उठाएको छ न त यसपटकको निर्वाचनमा बालेन वा रास्वपाको घोषणापत्रमा समेटिएको पाइन्छ । त्यसैले सामाजिक सञ्जालमा गरिएको यस्तो दाबी तथ्यमा आधारित देखिँदैन ।
नितिजा: भ्रामक
हाम्रा स्रोतहरू
रिपोर्ट/लेख, himalmag.com
रिपोर्ट/लेख, aljazeera.com
समाचार, bbc.com/nepali
रिपोर्ट/लेख, onlinekhabar.com
समाचार, nagariknews.nagariknetwork.com,
समाचार, tribuneindia.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected]
