Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
सामाजिक संजालमा एउटा भिडियो फेला परेको छ । जसमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेता उपस्थित कार्यक्रममा ढंगामुडा प्रहार भएको दाबी गरिएको छ । सडकमा गाडीहरू दौडिरहेको दृश्य भिडियोमा देखिन्छ, जसको थमनेलमा केपी शर्मा ओली र पूर्वमन्त्री विष्णु पाैडेललाई बुटवलका स्थानीयले लखेटेको दाबी गरिएको देखिन्छ ।
#Santoshxhrestha नामक टिकटक आइडीमा एक दिनअघि पोस्ट गरिएको उक्त भिडियोको क्याप्सनमा पनि सोही दाबी गरिएको छ । बुटवलमा भ्युटावर उद्घाटन गर्न गएका एमाले नेताहरूलाई स्थानीयले ढुङ्गामुडा गरेको जानकारी भिडियोमा दिइएको छ । भिडियोको थमनेलमा लेखिएको छ,‘आज बुटवलमा भ्युटावर उद्घाटन गर्न गएका एमाले नेता विष्णु पौडेल र केपी ओलीलाई स्थानीयले झुटो आश्वासन दिएर भुलाएको र हस्पिटलको ठाउँमा १२ करोडको भ्यु-टावर बनाएको भन्दै लखेटेका छन् !’
दाबीसहितको उक्त भिडियोमा २७ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने करिब साढे ३ सय प्रयोगकर्ताले भिडियोलाई सेयर गरिसकेका छन् । यसबाट के प्रष्ट हुन्छ भने यो भिडियो टिकटकमा द्रुत गतिमा फैलिरहेको छ । यो दाबी टिकटकमा मात्र होइन, सामाजिक संजाल फेसबुकमा पनि यसैगरी फैलिरहेको छ ।
एक दिनअघि Bin Bahadur Bohara नामक फेसबुक आइडीमा उक्त भिडियो पोस्ट भएको देखिन्छ । उक्त भिडियोमा टिकटकमा जस्तै नेकपा (एमाले)का अध्यक्ष ओलीसहितका नेता लखेटिएको दाबी गरिएको छ । त्यस्तै Etem नामक फेसबुक आइडीमा पनि सोही भिडियो पोस्ट गरिएको छ । उक्त पोस्टमा पनि एमालेका नेताहरू लखेटिएको दाबी दोहोर्याइएको छ ।
चैत्र १५ गते पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली रूपन्देही जिल्ला पुगेका थिए । संचार माध्यममा प्रकाशित समाचार अनुसार ओली तिलोत्तमा नगरपालिका-२ शंकरनगरस्थित बनबाटिकामा निर्माण गरिएको भ्यू टावरको उद्घाटन तथा आयोजित कार्यक्रममा सहभागि हुन त्यहाँ पुगेका हुन् ।
एमाले अध्यक्ष ओली रुपन्देहीबाट काठमाडौँ फर्किएसँगै उनी लखेटिएको दाबीसहितको भिडियो सामाजिक संजालमा फैलियो । ओलीसहितका नेता लखेटिएको दाबी गर्ने भिडियोमा एउटा लोगोसमेत देखिन्छ । क्षण भरमै उक्त लोगो जागरण पोस्ट नामक संचार माध्यमको रहेको प्रष्ट भयो । त्यसपछि हामीले उक्त भिडियोको वास्तविकता पत्ता लगाउनतिर लाग्यौँ ।
सुरुमा हामीले जागरण पोस्टको युट्युब च्यानलका भिडियोहरू नियाल्यौँ । तर पछिल्लो समय उक्त भिडियो पोस्ट भएको देखिएन । Jagaran Post को युट्युब च्यानलमा पोस्ट भएका भिडियो हेर्ने क्रममै एक वर्षअघि पोस्ट भएको एउटा भिडियोमा हाम्रो हाम्रो नजर अड्कियो । एक वर्षअघि अर्थात् ५ मार्च २०२१ मा पोस्ट गरिएको उक्त भिडियोमा रुपन्देहीको मोतिपुरस्थित औधोगिक क्षेत्रको शिलान्यासका क्रममा भएको झडपको दृश्य देखाइएको छ । झडपपछि शिलान्यास गर्न गएका विष्णु पौडेल कार्यक्रमकै बिच समारोहस्थलबाट बाहिरिएको दृश्य उक्त भिडियोमा देखिन्छ ।
यो भिडियो सामाजिक संजालमा दाबीसहित फैलिएको भिडियोसँग मिल्दोजुल्दो देखिन्छ । सोही आधारमा हामीले युट्युब, फेसबुक लगायतका सामाजिक संजालमा ‘मोतिपुरस्थित औधोगिक क्षेत्र शिलान्यास’, ‘अर्थमन्त्री विष्णु पौडेल’, ‘ढुंगामुडा’;सँगै ‘रुपन्देहीको मोतिपुरमा औधोगिक क्षेत्रको शिलान्यासको क्रममा झडप’ लगायतका वाक्यांश तथा किवर्ड सर्च गर्यौँ ।
सर्चको नतिजास्वरुम फेसबुकमा एक वर्षअघि पोस्ट गरिएको भिडियो फेला पर्यो, उक्त भिडियो नै अहिले सामाजिक संजालमा दाबीसहित फैलिएको भिडियोको मूल स्रोत हो । Bikash Rayamajhi नामक फेसबुक आइडीमा पोस्ट गरिएको उक्त भिडियो ६ मार्च २०२१ मा पोस्ट गरिएको थियो । एक वर्षअघि पोस्ट गरिएको उक्त भिडियोको क्याप्सनमा लेखिएको छ,‘रुपन्देही मोतिपुरमा जनताको सहमति विपरित औद्योगिक क्षेत्र घोषणा गर्न गएका अर्थमन्त्री विष्णु पौडेललाई ढुङ्गामुढा गरेर लखेट्दै स्थानीय…।’
श्रेष्ठ काले अनमोलले पनि सोही भिडियोलाई ५ मार्च २०२१ मै पोस्ट गरेका छन् । उक्त भिडियोको क्याप्सनमा लेखिएको छ,‘रुपन्देही मोतिपुरमा करिब ४ हजार घरपरिवार बसोबास गर्ने सुकुम्बासीहरुको जग्गालाई सरकारले रातारात औद्योगिक क्षेत्र निर्माण गर्ने भन्दै निर्णय गरेर विष्णु पौडेल सिलान्यास गर्न गएका थिए आक्रोशित जनताले अर्थमन्त्री विष्णु पौडेललाई यसरी लखेटे…।’
यतिमात्र होइन, खोज्दै जाँदा एक अर्ष अगाडि पोस्ट गरिएको उक्त मूल भिडियो सामाजिक संजालमा छ्यप्छ्याप्ति भेटिन्छ । प्रस्तुत प्रमाणबाट के पुष्टि हुन्छ भने भ्यु-टावर उद्घाटन गर्न रुपन्देही पुगेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरूलाई लखेटिएको दाबी गर्ने भिडियो अहिलेको होइन । करिब एक वर्षअघि भएको घटनाको भिडियोलाई भ्रामक दाबीसहित अहिले फैलाइएको छ ।
जाँचकै क्रममा जागरण पोस्टका प्रधानसम्पादक विजय ज्ञावालीको फेसबुक स्ट्याटस फेला पर्यो । उनले उक्त भ्रामक दाबीलाई लक्षित गर्दै लेखेका छन्,’सामाजिक संजालमा भ्रम फैलाऊने मनशायले सत्यतथ्य नै नबुझी र अनाधिकृत तवरले भिडियो डाऊनलोड गरि समाजलाई गुमराह पार्नखोज्ने ब्याक्तिहरुसंग सतर्क रहनुहुन अनुरोध गर्दै यस्ता अफवाह फैलाऊने हर जो कोहिसंग जागरणपोस्ट परिवार खेद प्रकट गर्दछ ।’
भ्यूटावर उद्घाटन गर्न गएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेतालाई स्थानीयले लखेटेको भन्दै सामाजिक संजालमा फैलाइएको दाबी भ्रामक छ । एक वर्षअघि घटेको घटनाको भिडियोलाई गलत सन्दर्भमा फैलाउन खोजेको देखिन्छ । उक्त भिडियो रुपन्देहीको मोतिपुरस्थित औधोगिक क्षेत्रमा भएको झडपका क्रममा २०२१ मार्चमा खिचिएको थियो ।
JagaranPost : रुपन्देहीको मोतिपुरमा औधोगिक क्षेत्रको शिलान्यासको क्रममा झडप दर्जन बढी घाइते
setopati : साढे ११ करोड खर्चेर रूपन्देहीमा बनाइएको भ्युटावर ओलीले गरे उद्घाटन
जागरण पोस्टका प्रधानसम्पादक बिजय ज्ञावालीको फेसबुक स्ट्याटस
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]