Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: तिनकुने घटनाको सन्दर्भमा दुर्गा प्रसाईं वीरगंजबाट पक्राउ परेको, पत्रकार सुरेश रजकको शरीरमा गोली भेटिएको र संविधानको धारा ४८ ‘क’मार्फत् पूर्वराजाले मुलुकको शासनसत्ता आफ्नो हातमा लिनसक्ने दाबी ।
तथ्य: दुर्गा प्रसाईं वीरगंजबाट पक्राउ परेको, पत्रकार सुरेश रजकको शरीरमा गोली भेटिएको र संविधानको धारा ४८ ‘क’मार्फत् पूर्वराजाले मुलुकको शासनसत्ता आफ्नो हातमा लिनसक्ने दाबी भ्रामक छन् ।
चैत १५ गते (२०८१) काठमाडौँस्थित तिनकुने वरिपरीको क्षेत्र तनावग्रस्त रह्यो । राजावादी प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीहरूबीच हिंसात्मक झडपहरू भए । साथै प्रदर्शनकारीहरुले केही राजनीतिक दलका कार्यालय, सञ्चार गृह, सरकारी र निजी सम्पत्तिमा आगजनी तथा तोडफोड गरेका थिए । प्रदर्शन हिंसात्मक बनेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले तिनकुने क्षेत्रमा कर्फ्यू आदेशसमेत जारी गर्यो ।
सोही राजावादी प्रदर्शनको कमान्डर थिए, व्यवसायी दुर्गा प्रसाईं । हिंसात्मक प्रदर्शनपछि उनै प्रसाईं भारततर्फ भाग्दैगर्दा वीरगंजबाट पक्राउ परेको दाबी सामाविक संजालमा फैलाइएको छ ।
A L E E S H नामक टिकटक आइडीमा दुर्गा प्रसाईं देखिने एउटा दृश्य जोडिएको छ । दृश्यमा प्रसाईंले प्रहरीसँग कुराकानी गरिरहेका छन् । सोही भिडियोको थमनेलमा लेखिएको छ- ‘दुर्गा दाई इन्डिया भाग्दै गर्दा वीरगंजमा समात्यो रे नि त ।’
अर्कोतर्फ, पूर्वराजाले संविधानमै टेकेर मुलुको शासनसत्ता आफ्नो हातमा लिनसक्ने दाबीसमेत सामाजिक संजालमा फैलाइएको पाइयो । काँग्रेस-एमाले मुक्त अभियान नामक टिकटक आइडीमा सडक प्रदर्शन भइरहेको दृश्य जोडिएको छ । साथै भिडियोको थमनेलमा लेखिएको छ- नेपालको संविधानको धारा ४८ ‘क’ ले राजाले शासनसत्ता हातमा लिन सक्छन् । गणतन्त्रको पालो छोटो आयुमा सकिने भो ।’
त्यसैगरी, राजावादी आन्दोलनमा पत्रकार सुरेश रजकको मृत्यु भएको विषय पनि चर्चामा छ । Saujan Kirat लगायतका थुप्रै फेसबुक प्रयोगकर्ताले पत्रकार सुरेश रजकको शरीरमा गोली भेटिएको दाबी गरेका छन् । दाबीसहितको स्ट्याटसमा लेखिएको छ- ‘चैत्र १५ गते राजावादी आन्दोलनको क्रममा मृत्यु भएका पत्रकार सुरेश रजकको पोष्टमार्टम रिपोर्टमा उनको शरिरभित्र गोली भेटिएको छ ।’
तिनकुने घटनापछि सामाजिक संजालमा फैलाइएका दाबीहरु सत्य हुन् त? वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गर्यौँ ।
सबैभन्दा पहिले हामीले दुर्गा प्रसाईं वीरगंजबाट पक्राउ परेको भन्दै पोस्ट गरिएको भिडियोको जाँच गर्यौँ । भिडियोमा प्रसाईंले प्रहरीलाई ‘पक्रे जस्तो नगर्नुस् न, म आफैं चढिहाल्छु नि’ भन्दै गाडीमा चढेको दृश्य देख्न सकिन्छ । यही वाक्यांशलाई सर्च गर्दा संचार माध्यमका प्रकाशित पुरानो समाचार फेला पर्यो ।
६ असोज २०८१ मा प्रकाशित समाचार अनुसार नेपाल प्रहरीको साइबर ब्यूरोले दुर्गा प्रसाईंलाई भक्तपुरको ठिमीस्थित उनको निवासबाटै पक्राउ गरेको थियो । पक्राउ पर्ने क्रममा प्रसाईंले आफूलाई भ्रष्टाचारी पक्रे जस्तो व्यवहार नगर्न भनेका थिए ।
सोही सन्दर्भको भिडियो विभिन्न सामाजिक संजालमा पोस्ट गरिएको देखिन्छ । यही पुरानी भिडियोलाई वर्तमान सन्दर्भसँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको पाइयो । तिनकुने घटनापछि यो सामग्री तयार पार्दासम्म प्रसाईं पक्राउ परेको पुष्टि भएको छैन ।
त्यस्तै दोस्रो सामग्रीमा पत्रकार सुरेश रजकको शरीरमा गोली भेटिएको दाबी गरिएको छ । तर, यो दाबी पनि भ्रामक रहेको पाइयो । २०८१ चैत १७ गते जिल्ला प्रहरी परिसर काठमाडौँले एक विज्ञप्ति जारी गर्दै सामाजिक संजालमा फैलाइएको दाबी भ्रामम रहेको प्रष्ट पारिसकेको छ ।
उक्त विज्ञप्तिमा पत्रकार रजकको पोष्टमार्टम नै नभएको जानकारी दिइएको । चैत १५ गते राजावादी प्रदर्शन भइरहेकै बेला उनी क्षतिग्रस्त घरभित्र मृत अवस्थामा फेला परेका थिए।
अर्कोतर्फ तेस्रो सामग्रीमा नेपालको संविधानको धारा ४८ ‘क’मार्फत् पूर्वराजाले मुलुकको शासनसत्ता आफ्नो हातमा लिनसक्ने दाबी गरिएको छ । तर, नेपालको संविधान २०७२ मा राजसंस्था पुनर्स्थापनाको विषयमा कुनै प्रत्यक्ष प्रावधान वा उल्लेख छैन ।
जाँचका क्रममा हामीले नेपालको संविधानको धारा ४८ ‘क’ लाई नियाल्यौँ । यो धारामा प्रत्येक नेपाली नागरिकका कर्तव्यहरू सम्बन्धी प्रावधान राखिएको पाइयो । हालको संविधानमा राजसंस्था पुनर्स्थापनाको कुनै व्यवस्था छैन, बरु यो गणतन्त्रलाई बलियो बनाउन केन्द्रीत छ ।
वास्तवमा, संविधानले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रको रूपमा स्थापित गरेको छ, जसले राजसंस्थाको अन्त्य र गणतन्त्रको स्थापनालाई स्पष्ट रूपमा स्वीकार गरेको छ । संविधानको प्रस्तावनामै ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट समृद्धि र विकास’को प्रतिबद्धता व्यक्त गरिएको छ ।
फेला परेका तथ्यहरुले के प्रष्ट पारेका छन् भने माथि उल्लेखित सबै दाबीहरु भ्रामक छ । तिनकुने घटनापछि सामाजिक संजालमा फैलाइएका यी दाबीहरुमा कुनै सत्यता छैन ।
दुर्गा प्रसाईं वीरगंजबाट पक्राउ परेको, पत्रकार सुरेश रजकको शरीरमा गोली भेटिएको र संविधानको धारा ४८ ‘क’मार्फत् पूर्वराजाले मुलुकको शासनसत्ता आफ्नो हातमा लिनसक्ने दाबी भ्रामक छन् । तिनकुने घटनाको सन्दर्भमा सामाजिक संजालमा फैलाइएका यी दाबीहरुलाई सामाजिक संजाल प्रयोगकर्तालाई अतिरंजित पारेका छन् ।
समाचार, khabarhub.com
भिडियो, Kantipur News Express
प्रेस विज्ञप्ति, prasashan.com
नेपालको संविधान, election.gov.np
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई [email protected] मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।