Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: दुर्गा प्रसाईं प्रहरीको हिरासतमुक्त भएको दाबी (भिडियोसहित)
तथ्य: दाबीमा प्रयोग गरिएको भिडियो २२ मार्च २०२५ मा सार्वजनिक गरिएको पुरानो सामग्री हो, जुन प्रसाईं भारतको दिल्लीबाट फर्किएको सन्दर्भमा खिचिएको हो ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग सम्बन्धित एउटा दाबीसहितको भिडियो सामाजिक संजालमा फैलिरहेको छ । उक्त भिडियोसँगै दुर्गा प्रसाईं प्रहरीको हिरासतमुक्त भएको दाबी गरिएको छ ।
Bppokharel नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा दुर्गा प्रसाईं बोलिरहेको दृश्य जोडिएको छ । साथै भिडियोको थमनेलमा ‘हिरासतमुक्त हुनसाथ, मध्यरातमा दुर्गा प्रसाईं गर्जिएको’ दाबी गरिएको छ ।
१३ जुन २०२५ मा पोस्ट गरिएको दाबीसहितको सामग्रीमा १४ हजारभन्दा बढीले रियाक्ट गरिसकेका छन् । त्यस्तै करिब ३ सय प्रतिक्रिया आएको सामग्रीलाई २ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । यही भिडियोबाट थप थुप्रै भिडियोहरु पुनर्निर्माण भइरहेको देखिएका छन् ।
के दुर्गा प्रसाईं प्रहरीको हिरासतमुक्त भएका हुन् त? दाबीसहित फैलाइएको भिडियोको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
नेपालका मेडिकल व्यवसायी तथा राजनीतिक अभियान्ता दुर्गा प्रसाईंमाथि वर्तमान समयमा विभिन्न विवाद र कानुनी मुद्दाहरू लागेका छन् । पछिल्लो पटक प्रसाईंको नाम काठमाडौँस्थित तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनसँग जोडिएको थियो । तिनकुने घटनापछि पक्राउ परेका प्रसाईंविरुद्ध प्रहरीले संगठित अपराध, राज्यविरुद्धको कसुर र ज्यान मार्ने उद्योग जस्ता आरोपमा अनुसन्धान गरेको थियो ।
त्यस्तै काठमाडौं जिल्ला अदालतले प्रसाईंलाई २०८२ जेठ ३० गते मध्यराति न्यायिक हिरासत (कारागार) चलान गरेको थियो । न्यायाधीश ध्रुबराज कार्कीको इजलासले प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागार चलान गर्न आदेश दिएको हो । यही सन्दर्भमा दुर्गा प्रसाईं हिरासतमुक्त भएको दाबी सामाजिक संजालमा फैलाइएको छ ।
दाबीसहित पोस्टमा दुर्गा प्रसाईंलाई देख्न सकिन्छ । आधारमा भिडियोको वास्तविकता पत्ता लगाउन हामीले ‘दुर्गा प्रसाईँ’सँग सम्बन्धित विभिन्न वाक्यांश जाँच गर्यौँ ।
जाँचका क्रममा Everest Nepal युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पर्यो । २२ मार्च २०२५ मा पोस्ट गरिएको भिडियो र दाबीसहित पोस्ट गरिएको दृश्यमा समानता देख्न सकिन्छ । उक्त भिडियोको शिर्षकमा लेखिएको छ- ‘भारतको दिल्लीबाट फर्किए दुर्गा प्रसाई ! एअरपोर्टबाटै भन्छन्: १५ गते राजा सडकमा आउने ।’
त्यसैगरी उस्तै दृश्यसहितको सामग्री Kada News Nepal नामक युट्युब च्यानलमा पनि पोस्ट भएको भेटियो । २२ मार्च २०२५ मा पोस्ट गरिएको भिडियो पनि दाबीसहितको दृश्यसँग मिल्दो देखिन्छ । यसरी पुरानो र फरक सन्दर्भको भिडियोलाई दुर्गा प्रसाईं हिरासतमुक्त भएको दाबीसँग जोडेर पोस्ट गरिएको पाइयो ।
दुर्गा प्रसाईं हिरासतमुक्त भएको भन्दै सामाजिक संजालमा फैलाइएको दाबी भ्रामक छ । दाबीमा प्रयोग गरिएको भिडियो २२ मार्च २०२५ मा सार्वजनिक गरिएको पुरानो सामग्री हो, जुन प्रसाईं भारतको दिल्लीबाट फर्किएको सन्दर्भमा खिचिएको हो । अर्कोतर्फ प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले २०८२ जेठ ३० गते राति न्यायिक हिरासतमा पठाएको पुष्टि भएको छ ।
समाचार, bbc.com/nepali
भिडियो, Everest Nepal
भिडियो, Kada News Nepal