Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check

दाबी: चिकित्सा व्यवसायी सुनिल शर्मा र दुर्गा प्रसाईं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेको दाबी ।
तथ्य: सुनिल शर्मा वर्तमान समयमा नेपाली कांग्रेसका तर्फबाट मोरङ–३ का उम्मेदवारका रूपमा सक्रिय छन् । त्यस्तै दुर्गा प्रसाईं राजसंस्थाको माग गर्दै विभिन्न प्रदर्शनका कार्यक्रमहरुमा संलग्न छन् ।
पार्टी प्रवेशसँग सम्बन्धित केही सामग्रीहरु सामाजिक संजालमा फैलिरहेका छन् । यस्ता सामग्रीमा चर्चामा रहिरहने दुई चिकित्सा व्यवसायी सुनिल शर्मा र दुर्गा प्रसाईं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेको दाबी गरिएको छ ।
Rajkumr1001 नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा रास्वपाका सभापति रवि लामिछाने र दुर्गा प्रसाईं जस्तै देखिने आकृतिको तस्बिर जोडिएको छ । साथै दुबैले ‘श्री दुर्गा प्रसाईंलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा स्वागत’ देखिएको व्यानर समाएका छन् । उक्त तस्बिरको थमनेलमा लेखिएको छ- ‘दुर्गा प्रसाईं पनि रास्वपामा प्रवेश गरेर चुनाव लड्दै, सही या गलत कमेन्टमा लेख्नुहोला ।’

२३ जनवरी २०२६ मा (एक दिनअघि) पोस्ट गरिएको भिडियोलाई करिब तीन हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । एक सयभन्दा बढी प्रतिक्रिया आएको भिडियोलाई हजारौँ टिकटक प्रयोगकर्ताले हेरिसकेका छन् । Ktm Post नामक फेसबुक पेजमा पनि यही दाबीसहितको पोस्ट गरिएको छ ।
त्यसैगरी Nishuu_08 नामक टिकटक आइडीमा पनि उस्तै प्रकृतिको सामग्री पोस्ट गरिएको छ । रास्वपाका सभापति रवि लामिछाने र नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा जस्तै देखिने आकृतिसहितको तस्बिर जोडिएको छ ।
साथै भिडियोमा ‘पार्टी प्रवेश कार्यक्रम’ लेखिएको व्यानर देख्न सकिन्छ । त्यस्तै भिडियोको थमनेलमा लेखिएको छ- ‘कांग्रेसका नेता डा.सुनिल शर्मा आजै रास्वपा प्रवेश, सुनिलको कदम सही कि गलत कमेन्ट गरौँ ।’
प्रस्तुत दाबीसहितको भिडियोमा ४२ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । दुई हजारभन्दा बढी प्रतिक्रिया आएको भिडियोलाई एक हजारभन्दा बढी पटक सेयर भइसकेका छन् । त्यस्तै यस भिडियोलाई लाखौँ टिकटक प्रयोगकर्ताले हेरिसकेका छन् ।

Manju Bhat नामक फेसबुक आइडीमा पनि कांग्रेस नेता सुनिल शर्मा रास्वपा प्रवेश गरेको दाबी पोस्ट गरिएको छ ।
के चिकित्सा व्यवसायसँग सम्बन्ध राख्ने दुई नेता डा. सुनिल शर्मा र दुर्गा प्रसाईं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका हुन् त? दाबीको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
दुर्गा प्रसाईं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेको दाबीलाई हामीले सबैभन्दा पहिले जाँच गर्यौँ । यसका लागि हामीले ‘दुर्गा प्रसाईं’ ‘रास्वपा’ ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ ‘पार्टी प्रवेश’ लगायतका वाक्यांशको सर्च गरियो । तर, कुनैपनि आधिकारिक स्रोतहरूले (रास्वपाको वेबसाइट, प्रसाईंको फेसबुक वा समाचार वेबसाइटहरु) दुर्गा प्रसाईं रास्वपामा प्रवेश गरेको दाबीलाई प्रमाणित गर्न सकेनन् ।
प्रसाईं राजावादी अभियानकर्ता र चिकित्सा व्यवसायीका रूपमा सक्रिय छन् र रास्वपालाई आलोचना गर्दै आएका छन् । केही समयअघि प्रसाईंले ‘रास्वपा प्रवेश गरेका कलाकार सबै राष्ट्रघाती हुन्’ भन्ने अभिव्यक्ति दिएका थिए ।
विभिन्नविवादास्पद अभिव्यक्ति र गम्भीर आरोपसँग जोडिँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं ५ माघ २०८२ मा पोखराबाट पक्राउ परेका थिए । पक्राउ परेको अर्को दिन पोखराबाट काठमाडौं ल्याइएका प्रसाईंलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले हाजिरी जमानीमा रिहा गरेको थियो ।
यिनै घटनाक्रमका बीच दुर्गा प्रसाईं रास्वपामा प्रवेश गरेको दाबी सामाजिक संजालमा फैलाइएको देखियो । तर, दाबीसहित पोस्ट गरिएको वास्तविक नभई एआई जनेरेटेड सामग्री हो ।

प्रसाईंले आफ्नो Durga Prasai फेसबुक आइडीमार्फत् राजसंस्थाको माग गर्दै विभिन्न प्रदर्शनका कार्यक्रमहरुको प्रचारप्रसार गरिरहेका छन् । थप जाँचका लागि हामीले उनलाई फोनमार्फत् सम्पर्क गर्यौँ, उनले आफू रास्वपामा प्रवेश नगरेको प्रष्ट पारे । सामाजिक संजालमा आफू बारे भ्रामक जानकारी फैलाइएको उनको भनाई छ ।
त्यस्तै हामीले अर्को दाबीको जाँचका लागि ‘सुनिल शर्मा’ ‘रास्वपा’ ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ ‘पार्टी प्रवेश’ लगायतका वाक्यांशको जाँच गर्यौँ । जाँचको नतिजास्वरुप शर्मा र आगामी निर्वाचनसँग सम्बन्धित केही समाचारहरु फेला परे ।
५ माघ २०८२ मा ekantipur.com र setopati.com लगायतका संचार माध्यममा प्रकाशित समाचार अनुसार, नेपाली कांग्रेसले मोरङ-३ मा सुनिल शर्मालाई उम्मेदवार बनाएको छ । यसअघि २०७९ को प्रतिनिधिसभा निर्वाचनमा शर्मा मोरङ ३ बाटै सांसद बनेका थिए ।

त्यस्तै ११ माघ २०८२ (यो सामग्री प्रकाशित भएको) दिन ratopati.com मा प्रकाशित समाचारको शिर्षक छ-‘कांग्रेस नेता शर्माको अपिल : मलाई अत्यधिक मत दिएर जिताउनुस्’ ।
समाचार रिपोर्ट अनुसार नेपाली कांग्रेसका मोरङका नेता एवं मोरङ क्षेत्र नम्बर- ३ का उम्मेदवार डा. सुनिल शर्माले आफूलाई अत्यधिक मत दिएर जिताउन मतदाताहरुसँग आग्रह गरिरहेका छन् । शर्माले आफ्नो फेसबुक पेज Sunil Kumar Sharma / सुनिल कुमार शर्मा मा पनि चुनावी गतिविधि बढाइरहेका छन् ।
दुर्गा प्रसाईं र सुनिल शर्मा दुवै रास्वपामा प्रवेश गरेको भन्ने दाबीहरू भ्रामक र तथ्यहीन छन् । दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएका पोस्टरहरु एआईबाट जनेरेटेड गरिएका हुन् । सुनिल शर्मा वर्तमान समयमा नेपाली कांग्रेसका तर्फबाट मोरङ–३ का उम्मेदवारका रूपमा सक्रिय छन् । त्यस्तै दुर्गा प्रसाईं राजसंस्थाको माग गर्दै विभिन्न प्रदर्शनका कार्यक्रमहरुमा संलग्न छन् । दुर्गा प्रसाईं र सुनिल शर्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छैनन् ।
भिडियो, ekantipur.com
भिडियो, setopati.com
समाचार, ratopati.com
समाचार, onlinekhabar.com
चुनावी गतिविधिका पोस्टहरु, Sunil Kumar Sharma / सुनिल कुमार शर्मा