Fact Check
के निर्मला पन्तको हत्यारा पक्राउ परेको हो? गृहमन्त्री सुधन गुरुङको नाम जोडर गरियो भ्रामक दाबी

दाबी: ‘निर्मला पन्तको हत्यारा पक्राउ । नेपाल पुलिसलाई धन्यवाद् दिँदै यतिक वर्षसम्म निर्मला पन्तको हत्यारा समात्न सकेको थिएन अहिलेको सरकार र गृहमन्त्री सुधन गुरुङलेले समातेर देखाइदिनुभयो ।’
तथ्य: दाबीसहित सामाजिक संजालमा फैलाइएको तस्बिर निर्मला पन्त प्रकरणसँग सम्बन्धित नभई २०८० भदौमा काठमाडौँस्थित गैरीगाउँमा भएको सामूहिक हत्याकाण्डका अभियुक्त सञ्जय भण्डारीको हो ।
निर्मला पन्त बलात्कार र हत्या प्रकरणसँग सम्बन्धित केही पोस्टहरु हालसालै सामाजिक संजालमा पोस्ट भइरहेका छन् । यस्ता पोस्टहरुमा निर्मला पन्तको हत्यारालाई प्रहरीले पक्राउ गरेको दाबी गरिएको छ ।
Khim1676 नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा एउटा पोस्टर जोडिएको छ, जसमा निर्मला पन्त, नेपाल प्रहरीका एसपी अंगुर जिसी लगायतका मानिसहरुको तस्बिर जोडिएको छ । पोस्टरमा लेखिएको छ-
‘निर्मला पन्तको हत्यारा पक्राउ । सलुट छ नेपाल पुलिसलाई यतिका वर्षसम्म निर्मला पन्तको हत्यारा समात्न सकेका थिएनन् अन्ततः हिजो मात्रै यो पापी कैदीलाई समात्न सफल भएको छ नेपाल पुलिसले, अबको जीवन खोरमै बित्छ ।’

११ जुन २०२६ मा पोस्ट गरिएको सामग्रीमा १९ हजार ८ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । पोस्ट भएको चार दिनमै सात सयभन्दा बढी पटक सेयर भइसकेको दाबीसहितको सामग्रीलाई जाँच लाखभन्दा बढी टिकटक प्रयोगकर्ताले हेरिसकेका छन् ।
त्यस्तै प्रहरीले निर्मला पन्तको हत्यारा पक्राउ गरेको दाबी गर्ने सामग्री Suresh Sah फेसबुक आइडीबाट Balen Shah (बालेन शाह समर्थक) ग्रुपमा पोस्ट गरिएको छ । १९ जुन २०२६ मा पोस्ट गरिएको दाबीसहितको सामग्रीमा गृहमन्त्री सुदन गुरुङको नाम र तस्बिरसमेत जोडिएको छ । प्रस्तुत पोस्टरमा यस्तो लेखिएको छ-
‘निर्मला पन्तको हत्यारा पक्राउ । नेपाल पुलिसलाई धन्यवाद् दिँदै यतिक वर्षसम्म निर्मला पन्तको हत्यारा समात्न सकेको थिएन अहिलेको सरकार र गृहमन्त्री सुधन गुरुङलेले समातेर देखाइदिनुभयो ।’

त्यस्तै kailash.930 नामक टिकटक आइडीमा पनि निर्मला पन्तको हत्यारा पक्राउ परेको दाबी गरिएको छ ।
के निर्मला पन्तको हत्यारालाई प्रहरीले पक्राउ गरेको दाबीमा कुनै सत्यता छ त? दाबीसहितको सामग्रीमा प्रयोग गरिएका तस्बिरहरुको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण
कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–१८ स्थित उखुबारीमा (११ साउन २०७५) निर्मला पन्तको शव फेला परेको थियो । साउन १० गते साँझ साथीको घरबाट गृहकार्य गरेर घर फर्किएकी १३ वर्षीया बालिका पन्त सम्पर्कविहीन भएकी थिइन् ।
प्रारम्भिक अनुसन्धानबाट बलात्कारपछि हत्या गरिएको खुलासा भएको थियो । यद्यपी अनुसन्धानको क्रममा प्रमाण संकलन, घटनास्थल व्यवस्थापन तथा अनुसन्धान प्रक्रियामै कमजोरी भएको आरोप प्रहरीमाथि लागेको थियो । तर, पछि केही प्रहरीले आरोपबाट सफाइ पाएका थिए ।
निर्मला पन्त प्रकरणको अनुसन्धानबारे ४ असार २०८३ (एक साताअघि) मा गृहमन्त्री सुधन गुरुङले संसदमै बोलेका थिए । उनले सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले भनेका थिए-
‘तपाईंहरूले निर्मला पन्तको कुरा उठाउनु भएको छ । कतिपय काम गुपचुप गर्नुपर्ने अवस्था हुँदो रहेछ । यो विषयमा हामी एकदम संवेदनशील छौं । हामीले सिरियस्ली हेरेका छौं । हाम्रा छोरी चेलीलाई हत्या गरे । त्यसपछि त्यो घटनामा क–कसले राजनीति गरे । त्यस विषयमा पनि हामीले काम अघि बढाएका छौं ।’
गृहमन्त्री गुरुङकै अभिव्यक्तिले के पुष्टि गर्छ भने निर्मला पन्तको बलात्कारी र हत्यारा पक्राउ परिसकेको छ । यस विषयमा सरकारको सम्बन्धित निकायले छानविन गरिरहेको छ ।
त्यसोभए निर्मला पन्तको हत्यारा पक्राउ परेको भन्दै सामाजिक संजालमा पोस्ट गरिएको तस्बिर कसको हो त? जाँचका क्रममा हामीले सबैभन्दा पहिले रिभर्स इमेज सर्च गर्यौँ ।
जाँचको नतिजास्वरुप prasashan.com र khabarhub.com मा प्रकाशित समाचारहरु फेला परे । यी समाचारमा प्रस्तुत गरिएको तस्बिर र दाबीसहितको सामग्रीमा जोडिएको समाचारमा समानता देख्न सकिन्छ । तर, उक्त तस्बिर निर्मला पन्तको बलात्कार र हत्या प्रकरणसँग सम्बन्धित छैन ।

२९ भदौ २०८० मा काठमाडौँको गैरीगाउँमा ४ जनाको सामूहिक हत्या भएको भयो । प्रस्तुत तस्बिर सोही हत्याकाण्डका अभियुक्त सञ्जय भण्डारीसँग सम्बन्धित छ । उनलाई पक्राउ गरे सार्वजनिक गर्दा खिचिएको तस्बिरलाई निर्मला पन्त प्रकरणसँग जोडेर सामाजिक संजालमा फैलाइएको देखियो ।
निष्कर्ष
निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणका दोषी पक्राउ परिसकेको दाबी भ्रामक छ । दाबीसहित सामाजिक संजालमा फैलाइएको तस्बिर निर्मला पन्त प्रकरणसँग सम्बन्धित नभई २०८० भदौमा काठमाडौँस्थित गैरीगाउँमा भएको सामूहिक हत्याकाण्डका अभियुक्त सञ्जय भण्डारीको हो । गृहमन्त्री सुधन गुरुङले हालसालै संसदमा दिएको अभिव्यक्तिले पनि अनुसन्धान जारी रहेको संकेत गर्छ, तर निर्मला पन्त प्रकरणका दोषी पक्राउ परिसकेको पुष्टि गर्दैन । त्यसैले निर्मला पन्तको हत्यारा पक्राउ परेको दाबी गर्दै पोस्ट गरिएको सामग्री भ्रामक छ ।
नतिजा: भ्रामक
हाम्रा स्रोतहरू
भिडियो, News Agency Nepal
समाचार, prasashan.com
समाचार, khabarhub.com
समाचार, onlinekhabar.com
समाचार, ekantipur.com
समाचार, bbc.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected]
