दाबी: भरतपुर महानगरकी प्रमुख रेणु दाहाल र पत्रकार सन्तोष देउजा बसेको टेवलमा बियरका बोतल तथा बियरले भरिएका दुईवटा गिलास देख्न सकिन्छ ।
तथ्य: भरतपुर महानगरकी प्रमुख रेणु दाहाल र पत्रकार सन्तोष देउजा बसेको सामान्य तस्बिरलाई काँटछाँट गरेर फेसबुक ग्रुपमा पोष्ट गरिएको पाइयो ।
चितवनस्थित भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालसँग सम्बन्धित एउटा सामग्री सामाजिक संजाल फेसबुकमा फेला परेको छ । उक्त सामग्रीमा पत्रकार सन्तोष देउजा र भरतपुर महानगरकी प्रमुख रेणु दाहाल एउटा टेवलमा बसेर तस्बिर खिचाएका छन् । दुबैजना बसेको टेबलमा चार-पाँचवटा बियरका बोतल र बियरले भरिएका दुईवटा गिलास देख्न सकिन्छ ।
हामी नेपाली नामक फेसबुक पेजबाट NoNotAgain ग्रुपमा पोष्ट गरिएको सामग्रीमा माथि उल्लेखित तस्बिर पोस्ट गरिएको छ । फेसबुक ग्रुपहरूमा फैलाइएको प्रस्तुत तस्बिरमा एउटा क्याप्सनसमेत लेखिएको छ । उक्त तस्बिरको क्याप्सनमा लेखिएको छ- ‘मालिक्नीसँग पत्रकार बन्धुु’ ।
बियरका बोतलसँगै भरतपुर महानगरकी प्रमुख रेणु दाहाल र पत्रकार सन्तोष देउजा देखिने तस्बिरसहितको पोष्टमा २ हजार फेसबुक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै ५ सय प्रतिक्रिया आइसकेको उक्त पोष्टलाई साढे १ हजारभन्दा बढी फेसबुक प्रयोगकर्ताले सेयर गरिसकेका छन् ।

महानगर प्रमुख जस्तो सार्वजनिक पदमा बसेको एक व्यक्ति र समाजको जिम्मेवार पेशा मध्येको एक पत्रकारितामा रहेकाे अर्को व्यक्तिले मदिरा सेवन गरिरहेको तस्बिर सार्वजनिक हुनु नैतिक प्रश्न मानिन्छ । त्यसैले गम्भीर प्रश्न उठाउने उक्त तस्बिरको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
माथि उल्लेखित तस्बिरमा भरतपुर महानगरकी प्रमुख रेणु दाहाल र पत्रकार सन्तोष देउजा बसेको टेवलमा बियरका बोतल र बियर भरिएका दुईवटा गिलास देख्न सकिन्छ । सामाजिक संजालका ग्रुपहरूमा फैलाइएको उक्त तस्बिर सत्य हो ? भन्ने प्रश्नमा केन्द्रीत रहेर हामीले यो जाँच सुरु गर्यौँ ।
वास्तविकता पत्ता लगाउन हामीले सबैभन्दा पहिले उक्त तस्बिरलाई गुगल लेन्समा सर्च गर्यौँ । गुगल लेन्सको तजिता जाँचमा उपलब्धिजनक नदेखिएपछि हामीले तस्बिरमा देखिएका दुई व्यक्ति भरतपुर महानगरकी प्रमुख रेणु दाहाल र पत्रकार सन्तोष देउजाको फेसबुक प्रोफाइलमा पोस्टहरू नियाल्न सुरु गर्यौँ ।
केही घण्टाको प्रयासपछि हामीले Santosh Deuja नामक फेसबुक आइडीमा उपलब्धिजनक नतिजा फेला पर्यो । माथि दाबीसहितको सामग्रीमा उल्लेखित दृश्य विवरणसहितको तस्बिर ६ जुलाई २०२२ मा पोस्ट गरिएको पाइयो ।

तर, यस तस्बिरमा भरतपुर महानगरकी प्रमुख रेणु दाहाल र पत्रकार सन्तोष देउजा बसेको टेबलमा बियरका बोतल र बियर भरिएका दुईवटा गिलास देखिएका छैनन् । उक्त तस्बिरमा बियरका बोतल नभई एउटा पानीको बोतल, पानीको गिलास, जुसको गिलास र फलफूल देख्न सकिन्छ ।
पत्रकार सन्तोष देउजाले भरतपुर महानगरकी प्रमुख रेणु दाहाललाई जन्मदिनको शुभकामनासहित उक्त तस्बिर पोष्ट गरेको पाइयो । उनले तस्बिरसँगै क्याप्सनमा लेखेका छन्- ‘पब्लिकले मलाई रेनुको राष्ट्रिय भाई बनाईदिएका छन् । हुँ होइन थाहा छैन तर भरतपुरबासीको हजुर प्रिय/लोकप्रिय दिदि हुनुहुन्छ । जन्मदिनको धेरै शुभकामना ।’

सन्तोष देउजा बेलाबखतमा विवादमा आइरहने पत्रकार हुन् । साइबर क्राइमको मुद्दामा प्रहरी हिरासत पुर्याइएका पत्रकार सन्तोष देउजालाई कार्तिक १४, २०७६ मा काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गरेको थियो । वीरगञ्जकी डा. दाम्पती निलमकुमार साह–राजेशकुमार साहको विषयमा भिडियो अन्तर्वार्ता गरेको विषयलाई लिएर पत्रकार देउजाविरुद्ध साइबर क्राइमको उजुरी परेको थियो ।
पत्रकार देउजाको विगत जे भएपनि माथि उल्लेखित तस्बिरको विषयमा उनी भ्रामक सूचनाको सिकार भएका छन् । प्रविधिको प्रयोग गरेर भ्रामक तरिकाले भरतपुर महानगरकी प्रमुख रेणु दाहाल र पत्रकार सन्तोष देउजा बसेको टेबलमा बियरका बोतल र बियर भरिएका दुईवटा गिलास राखिएको देखिन्छ ।
निष्कर्ष
भरतपुर महानगरकी प्रमुख रेणु दाहाल र पत्रकार सन्तोष देउजा बसेको सामान्य तस्बिरलाई काँटछाँट गरेर फेसबुक ग्रुपमा पोष्ट गरिएको पाइयो । सामान्य तस्बिरलाई प्रविधिको सहयोग ‘इडिट’ गर्दै बियरका बोतल र बियर भरिएका दुईवटा गिलास राखेर भ्रामक तरिकाले सामाजिक संजालमा फैलाइएको पाइयो ।
नतिजा : सम्पादित तस्बिर
हाम्रा स्रोतहरू
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co