Fact Check
Fact Check: चितवनको नारायणी नदिमा हवाइजहाज संचालमा ल्याइएको गलत दाबी

दाबी: चितवनस्थित नारायणी नदिमा पानीबाटै उड्न सक्ने हवाइजहाज ल्याइएको छ ।
तथ्य: चितवनस्थित नारायणी नदिमा पानीबाटै उड्न सक्ने हवाइजहाज ल्याइएको दाबी गलत छ । माल्दिभ्सको समुद्री क्षेत्रमा उडान भरिरहेको (8Q-ISF) कलसाइन नम्बरको उक्त हवाइजहाज माल्दिभियन एयरलाइन्सको हो ।
सामाजिक संजालमा एउटा भिडियो सामग्री फेला परेको छ । उक्त भिडियोमा चितवनस्थित नारायणी नदिमा पानीबाटै उड्न सक्ने हवाइजहाज ल्याइएको र यस्तो विकास भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले गरेको दाबी गरिएको छ ।
Durlav नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा एउटा पानीबाटै उड्ने हवाइजहाजको दृश्य देख्न सकिन्छ । उक्त भिडियोको थमनेलमा लेखिएको छ- ‘मेयर रेनु दाहालले गरेको विकास, नारायणी विच चितवनमा नयाँ पानी जहाज ब्याक गरेर पार्किङ गर्दै ।’

केही दिनअघि पोस्ट गरिएको प्रस्तुत दाबीसहितको सामग्री सामाजिक संजालमा फैलिरहेको छ । आगामी दिनमा झनै फैलिनसक्ने उक्त सामग्रीबारे हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
माथि उल्लेखित पानीबाटै उड्ने हवाइजहाज चितवनस्थित नारायणी नदिमा संचालन गरिएको हो त ? दाबीसहितको भिडियोमा देखिएको दृश्यको वास्तविकता के हो ? भन्ने प्रश्नमा केन्द्रीत रहेर हामीले यो तथ्यजाँच सुरु गरेका छौँ ।
जाँचका क्रममा सबैभन्दा पहिला हामीले दाबीसहितको भिडियोलाई पुन: एकपटक राम्रोसँग नियाल्यौँ । भिडियोमा पानीबाटै उड्न सक्ने हवाइजहाजको कलसाइन नम्बर देख्न सकिन्छ । सबैभन्दा पहिले हामीले ८क्यु-आइएसएफ (8Q-ISF) कलसाइन नम्बरलाई गुगलमा सर्च गर्यौँ ।

सर्चको नजिजास्वरुप थुप्रै विवरणहरु फेला परे । जसमध्ये jetphotos नामक वेबसाइटमा पोस्ट गरिएको विवरणमा उक्त हवाइजहाजको तस्बिरसमेत राखिएको छ । फेला परेको विवरण अनुसार उक्त हवाइजहाज माल्दिभियन एयरलाइन्सको हो । हामीले सोही कलसाइन नम्बरलाई उडान ट्रयाकरमा सर्च गर्यौँ ।
Flightradar24.com नामक उडान ट्रयाकरको नतिजा अनुसार भिडियोमा दखिएको (8Q-ISF) कलसाइनको हवाइजहाज माल्दिभ्समै छ ।

माल्दिभ्सकै विभिन्न समुद्री क्षेत्रमा उडान भरिरहेको उक्त जहाज नेपालको नारायणी नदिमा ल्याइकएको दाबी भ्रामक छ । अर्कोतर्फ भरतपुर महानगरपालिकाका उप– प्रमुख चित्रसेन अधिकारीले आफूहरुले नारायणी नदिमा हवाइजहाज संचालनमा नलाएको जानकारी दिए ।
निष्कर्ष
चितवनस्थित नारायणी नदिमा पानीबाटै उड्न सक्ने हवाइजहाज ल्याइएको दाबी गलत छ । माल्दिभ्सको समुद्री क्षेत्रमा उडान भरिरहेको (8Q-ISF) कलसाइन नम्बरको हवाइजहाज अहिले पनि माल्दिभ्समै छ । फरक सन्दर्भको भिडियोलाई गलत दाबीका साथ सामाजिक संजालमा फैलाइएको पाइयो ।
नतिजा : गलत
हाम्रा स्रोतहरू
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]