Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: गृहमन्त्री रवि लामिछानेले शिक्षकलाई हत्कडी लगाएको एवं सालिन पोखरेल मर्नुअघि भयानक चिच्याएको भिडियो सार्वजनिक भएको दाबी ।
तथ्य: सम्बन्धित निकायले अनुसन्धान गरिरहेको घटनालाई अतिरञ्जित गर्दै फरक सन्दर्भको पूरानो भिडियोलाई सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।
सरकारका नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग सम्बन्धित भिडियो सामग्री सामाजिक संजालमा फेला परेको छ । उक्त भिडियोमा गृहमन्त्री रवि लामिछानेले शिक्षकलाई हत्कडी लगाएको एवं सालिन पोखरेल मर्नुअघि भयानक चिच्याएको भिडियो सार्वजनिक भएको दाबी गरिएको छ ।
Shanta Shah नामक टिकटक आइडीमा पोस्ट गरिएको दाबीसहितको भिडियोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका रवि लामिछानेले भाषण गरिरहेको दृश्य जोडिएको छ । भिडियोमा जोडिएको अडियोमा भनिएको छ- ‘शिक्षकलाई रबिले लगाए हत्कडी, गरे सब पर्दाफास । रबिले भेट्टाए प्रमाण, अर्को कोठामा भेटियो सालिन मर्नुअघि भयान चिच्याएको भिडियो सार्वजनिक, चेकलिस्ट सहित आएका छौँ रबि लामिछानेको भनाई । सालिन पोखरेललाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन ।’
नवनियुक्त उपप्रधान तथा गृहमन्त्रीलाई जोडेर सामाजिक संजालमा फैलाइएको भिडियो सामग्री अत्यन्तै संवेदनशील देखिन्छ । गृहमन्त्री रवि लामिछानेले शिक्षकलाई हत्कडी लगाएको प्रस्तुत दाबीमाथि हामीले तथ्यजाँच गरेका छौँ ।
२०८० फागुन १२ गते चितवनस्थित रत्ननगर नगरपालिकामा अवस्थित शिशु निकेतन माविको छात्रावासमा सालिन पोखरेल मृत अवस्थामा फेला परेकी थिइन् । कक्षा ८ मा अध्ययनरत सालिनको मृत शरीर होस्टेलको कोठामा डोरीले घाँटीमा पासो लगाएको अवस्थामा झुण्डिएको अवस्थामा फेला परेको थियो ।
घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ तर उक्त अनुसन्धानमा मृतकका परिवारका सदस्यहरू विश्वस्त छैनन् । सालिनको हत्या भएको भन्दै परिवारजनले छानबिनको माग गर्दै आएका छन् ।घटनाक्रम यही सन्दर्भमा केन्द्रीत रहेर सामाजिक संजालमा सरकारका नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने शिक्षकलाई हत्कडी लगाएको एवं सालिन पोखरेल मर्नुअघि भयानक चिच्याएको भिडियो सार्वजनिक भएको दाबी गरिएको छ ।
माथि उल्लेखित दाबीसहितको भिडियोमा गृहमन्त्री रबि लामिछानेले भाषण गरिरहेको भिडियो पनि जोडिएको छ । जाँचका क्रममा सबैभन्दा पहिले हामीले भाषणको भिडियोको वास्तविक स्रोत पत्ता लगाउने कोशिस गर्यौँ । यसका लागि उक्त भिडियोका केही स्क्रिनसट तस्बिरहरु लियौँ र ती स्क्रिनसटलाई गुगल लेन्समा सर्च गर्यौँ ।
जाँचको नतिजास्वरुप Nepal Press युट्युब च्यानलमा पोस्ट गरिएको एउटा भिडियो फेला पर्यो । करिब एक वर्षअघि अर्थात् १० अप्रिल २०२३ मा पोस्ट गरिएको उक्त भिडियोमा रबि लामिछाने ‘चुनावी भाषण’ गरिरहेको अवस्थामा देखिएका छन् । भिडियोको शीर्षक राखिएको छ- ‘मेरै वरपरका मान्छेलाई आरोप लागेको छ, आज आफैँ अख्तियारमा निवेदन दिन्छु : रवि लामिछाने’ ।
जाँचका क्रममा फेला परेको प्रस्तुत भिडियो त्यही हो, जसको एउटा अंश दाबीसहितको सामग्रीमा जोडिएको छ । प्रस्तुत भिडियो सालिन पोखरेल घटनासँग सम्बन्धित छैन ।
चितवनस्थित उप-निर्वाचनको चुनावी अभियानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारका रुपमा रवि लामिछानेले प्रस्तुत भाषण गरेका थिए । चुनावी भाषण गर्दै रवि लामिछानेले आफ्नै पार्टीसँग सम्बन्धित व्यक्ति भ्रष्टाचारमा संलग्न भएको पाइए त्यस्तालाई कठालो समातेर जनताको बीचमा ल्याउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
करिब एक वर्ष पूरानो प्रस्तुत भिडियोलाई जोडेर दाबीसहितको सामग्री तयार पारिएको देखिन्छ । उक्त घटना गृहमन्त्री रवि लामिछानेकै निर्वाचन क्षेत्रमा घटेकाले घटनामा उनको चासो हुनु स्वभाविक जस्तै हो । तर, तथ्यलाई तोडमोड गरी फरक सन्दर्भको भिडियो र अडियोलाई एकै ठाउँमा जोड्दा भ्रामक सन्देश प्रवाह भएको छ ।
यसअघि २०८० फागुन २० गते सालिन पोखरेलको मृत्युको घटनालाई अतिरञ्जित बनाउने पोस्टहरू सामाजिक सञ्जालमा नराख्न आग्रह गर्दै गोरखास्थित अजिरकोट गाउँपालिकाले विज्ञप्ति जारी गरेको थियो ।
सालिन पोखरेल स्थायी घर गोरखास्थित अजिरकोट गाउँपालिकामा पर्छ । उनी विगत दुई वर्षदेखि चितवनको रत्ननगर नगरपालिका वडा नम्वर १० मा रहेको एकता शिशु निकेतन माविको छात्रावासमा बसेर पढ्दै आएकी थिइन् ।
रवि लामिछानेसँग सम्बन्धित भिडियोसहित सामाजिक संजालमा फैलाइएको दाबीसहितको सामग्रीले भ्रामक सन्देश प्रवाह गरेको छ । सम्बन्धित निकायले अनुसन्धान गरिरहेको घटनालाई अतिरञ्जित गर्दै फरक सन्दर्भको पूरानो भिडियोलाई सामाजिक संजालमा पोस्ट गरिएको पाइयो । रवि लामिछानेले भाषण गरिरहेको उल्लेखित भिडियो सालिन पोखरेल घटनासँग सम्बन्धित छैन ।
समाचार, ekantipur.com
समाचार, onlinekhabar.com
भिडियो, Nepal Press
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Aakash Chhetri
February 4, 2025
Aakash Chhetri
November 15, 2024
Aakash Chhetri
September 12, 2024