Fact Check
के जेनजी आन्दोलनपछि रवि लामिछानेलाई अदालतले रिहा गरेको हो?
दाबी: रवि लामिछाने रिहा भएको दाबी (भिडियो) ।
तथ्य: हालसालै रवि लामिछाने रिहा भएको भन्दै पोस्ट गरिएको भिडियो पुरानो दृश्य हो।
पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग सम्बन्धित पोस्टहरु सामाजिक संजालमा फैलिरहेका छन् । उक्त पोस्टहरुमा रवि लामिछाने रिहा भएको दाबी गरिएको छ ।
Himalshahi45 नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा रवि लामिछानेलाई देख्न सकिन्छ । २९ अक्टोबर २०२५ मा पोस्ट गरिएको दाबीसहितको भिडियोको थमनेलमा लेखिएको छ- ‘उच्च अदालतको आदेशमा रवि रिहाई, न्यायाधीश मिलन कुमारको फैसला, रवि लामिछानेलाई छाड्न आदेश ।’

प्रस्तुत दाबीसहितको भिडियोलाई हजारौँ टिकटक प्रयोगकर्ताले हेरिसकेका छन् । त्यस्तै उक्त सामग्रीमा ८ हजार २ सयभन्दा बढी रियाक्ट गरिएको छ ।
Rajesh Sah नामक टिकटक आइडीमा पनि रवि लामिछाने देखिने दृश्य जोडिएको छ । यो भिडियोमा ‘रवि लामिछाने सामान्य तारिखमा रिहा भएको’ दाबी गरिएको छ ।

के हालसालै रवि लामिछाने रिहा भएका हुन् त? दाबीसहितका दृश्यहरुको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
जाँचका क्रममा हामीले सबैभन्दा पहिले रवि लामिछाने देखिने दाबीसहितको भिडियो राम्ररी नियाल्यौँ । उक्त भिडियोमा रवि लामिछानेले भनेका छन्-
‘म न्याय प्रक्रिया सघाउनका लागि आएको भनेको थिए, अदालतप्रति एकदम सम्मान व्यक्त गर्न चाहन्छु, न्यायप्रेमी जनतालाई धन्यवाद दिन चाहन्छु । न्यायालयलाई विशेष धन्यवाद दिन चाहन्छु, यो देशमा न्याय मरेको छैन ।’
आधारमा हामीले ‘न्यायालयलाई विशेष धन्यवाद दिन चहान्छु’ ‘यो देशमा न्याय मरेको छैन’ लगायतका वाक्यांश जाँच गर्यौँ । जाँचको नतिजास्वरुप ekantipur.com र onlinekhabar.com लगायतका संचार माध्यममा प्रकाशित समाचारहरु फेला परे ।
२ माघ २०८१ मा प्रकाशित समाचारमा रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी लगायतका मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट धरौटीमा रिहा भएको जानकारी दिइएको छ । रिहा भएपछि सभापति लामिछानेले नेपालमा न्याय नमरेको प्रतिक्रिया दिएका थिए ।

फेला परेको तथ्यका आधारमा जाँच गर्दा ukeraa tv युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पर्यो । १५ जनवरी २०२५ मा पोस्ट गरिएको भिडियोमा रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा धरौटी बुझाएर छुटेको जानकारी दिइएको छ । त्यस्तै सोही सन्दर्भको भिडियो Nepal News र DCnepal TV युट्युब च्यानलमा समेत पोस्ट गरिएको छ ।
वास्तवमा, २ माघ २०८१ रवि लामिछानेलाई काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । आदेशअनुसार रवि काठमाडौं जिल्ला अदालतमा धरौटी वापत बैंक ग्यारेन्टी बुझाएर रिहा भएका थिए । सोही सन्दर्भका दृश्यहरुलाई वर्तमान समयमा रवि लामिछाने रिहा भएको भन्दै सामाजिक संजालमा पोस्ट गरिएको देखिन्छ ।
अर्कोतर्फ रवि लामिछाने हालसालै न्यायिक हिरासतबाट रिहा भएको जानकारीलाई कुनैपनि तथ्य-प्रमाणले पुष्टि गर्दैन । यद्यपी, केही वर्षदेखि रवि लामिछाने हिरासतमा जाने र बाहिर निस्कने क्रम जारी छ ।
२०८० यता रवि लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान जारी रहँदा रवि लामिछानेमाथि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढ्दै गएको देखिन्छ । २ कार्तिक २०८१ मा रवि लामिछानेलाई काठमाडौँस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ गरी पोखरा चलान गरिएको थियो।
पछिल्लो समय (२४ असोज २०८१) को जेनजी आन्दोलनको परिस्थितिमा भिडन्तको समयमा रवि लामिछाने नख्खु कारागारबाट बाहिर निस्किएका थिए । लामिछाने बाहिर निस्किएको घटना विवादास्पद बनेपछि, उनी पुनः जेल फिर्ता भएका थिए । यही सन्दर्भमा, रवि लामिछानेसँग सम्बन्धित एउटा पुराना क्लीप जोडेर सामाजिक संजालमा भ्रामक दाबी फैलाइएको पाइयो ।

निष्कर्ष
हालसालै रवि लामिछाने रिहा भएको भन्दै पोस्ट गरिएको भिडियो पुरानो दृश्य हो । भिडियोमा देखिएका दृश्य र वक्तव्यहरू २ माघ २०८१ (१५ जनवरी २०२५) का हुन्, त्यो बेला सहकारी ठगीसम्बन्धी मुद्दामा काठमाडौँ जिल्ला अदालतले रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
भिडियो, ukeraa tv
समाचार, ekantipur.com
समाचार, onlinekhabar.com
समाचार, bbc.com/nepali
समाचार, bizmandu.com
भिडियो, Nepal News
भिडियो, DCnepal TV
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected]


