Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा एउटा दृश्यसहितको सामग्री फेला परेको छ । उक्त दृश्यमा विश्वकै दुर्लभ मानिने एक सिंगे गैँडा आक्रोशित भएको देख्न सकिन्छ । दृश्यसहितको सामग्रीमा ‘गैँडाले मान्छे मारेको’ दाबी गरिएको छ ।
Bhisma Mahat नामक टिकटक आइडीमा ४ दिनअघि पोस्ट गरिएको उक्त दृश्यसँगै सामग्रीमा एउटा भयानक चिच्याहटसहितको अडियोसमेत सुनिन्छ ।मान्छेहरू भेला भएको ठाउँमा जंगली गैंडाले आक्रमण गरेको र ठूलो मानविय क्षति भएको जस्तो आवाज उक्त अडियोमा सुन्न सकिन्छ । सामग्रीमा थमनेलले पनि यही संकेत गरेको छ ।
भिडियोको थमनेलमा लेखिएको छ – ‘गैँडाले मान्छे मार्यो’ ।
दाबीसहितको प्रस्तुत सामग्रीमा घटनाबारे थप केही बताइएको छैन । सामग्रीमा सुनिने आवाजमा कयौँ मानिहरू एकैपटक चिच्याइरहेको सुनिन्छ । यसले मानिसहरूलाई थप ‘पेनिक’ बनाउने देखिन्छ । त्यसैले यस सामग्रीको फैलावट व्यापक नभएपनि आगामी दिनमा व्यापक रुपमा फैलिन सक्ने भएकाले हामीले प्रस्तुत दाबीमाथि तथ्यजाँच गर्ने जमर्को गरेका छौँ ।
नेपालमा गैँडाको आक्रमण र त्यसबाट एकाध मानिसको मृत्यु हुनु नयाँ विषय होइन । गैँडाको आक्रमणबाट मानिसको मृत्यु भएको खबर संचार माध्यमहरूमा देखिइरहन्छन् । तर, माथिको सामग्रीमा गरिएको दाबी र सन्दर्भ भने अलग छ । उक्त भिडियोमा मानिसको भीडभाडमा गैँडाले आक्रमण गरेको जस्तो सुनिने अडियो जोडिएकव छ । यसले उक्त आक्रमणबाट ठूलो मानवीय क्षति भएको संकेत गर्छ ।
त्यसैले सबैभन्दा पहिले हामी उक्त सामग्रीमा रहेको दृश्यको वास्तविकता जाँच गर्नतर्फ लाग्यौँ । जाँचका लागि सुरुमै हामीले दाबीसहितकै सामग्री प्रयोग गर्यौँ । उक्त सामग्रीको एउटा कुना राखिएको लोगोलाई युट्युबमा सर्च गर्दा Daksu TV नामक युट्युब च्यानल फेला पर्यो ।
किवर्ड सर्चबाट फेला परेको च्यानलमा धेरै नै भिडियो पोस्ट भएका कारण हामीले ‘गैँडा daksu online tv’ किवर्ड सर्च गर्यौँ । परिणामस्वरुप करिब २ वर्षअघि अर्थात् १७ नोभेम्बर २०२० मा पोस्ट गरिएको एउटा भिडियो फेला पर्यो । उक्त भिडियोको शीर्षक राखिएको छ- ‘भर्खरै चितवनमा दुर्लब एक सिंगे गैडाले वटुवामाथी गर्यो डरलाग्दो आक्रमण, बल्ल फुत्किएर भाग्न सफल’ ।
प्रस्तुत तथ्यबाट के प्रष्ट हुन्छ भने दाबीसहितको सामग्रीमा भनिएजस्तो उक्त दृश्यमा देखिएको गैँडाले सोही समयमा कुनै पनि मानिसको ज्यान लिएको थिएन । सडक छेउमा दुर्लभ मानिएको एक सिंगे गैँडा आइपुगेको र यही सन्दर्भमा उक्त गैँडाको दृश्य खिच्दै जनचेतनामूक सन्देश प्रवाह गरिरहेको यक्त भिडियो देखिन्छ । तर, ४ दिनअघि पोस्ट गरिएको दाबीसहितको सामग्रीमा यसलाई भर्खरैको घटनाजसरी प्रस्तुत गरिएको छ ।
अर्कोतर्फ दाबीसहितको सामग्रीमा जोडिएको अडियोसमेत भ्रामक छ । आपतकालीन अवस्थामा कसरी उद्दार गर्ने भन्ने अभ्यासको भिडियोमा रहेको अडियोलाई यहाँ जोडिएको पाइयो । उक्त अडियो TUBE CRAWLER नामक युट्युब च्यानलमा भेटिन्छ । उक्त भिडियोसँग सम्बन्धित सामग्रीबारे हामीले यसअघि नै सामग्री तयार पारिसकेका छौँ ।
दाबीसहितको सामग्रीमा देखिएको गैँडाले सोही समय कुनैपनि मानिसको ज्यान लिएको छैन । उक्त सामग्रीमा जोडिएका भिडियो र अडियोसमेत फरक-फरक सन्दर्भका हुन् । यही तथ्यका आधारमा उक्त सामग्री भ्रामक रहेको निष्कर्ष न्युजचेकरले निकालेको छ ।
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]