७ फेब्रुअरी बिहान ४ बजेर १७ मिनेटमा टर्कीको दक्षिणी क्षेत्र ( सिरियाको सीमा नजिक) केन्द्रविन्दु बनाएर ७.८ रेक्टर स्केलको भूकम्प गयो । उक्त भूकम्प यति शक्तिशाली थियो कि हजारौँ मानिसले ज्यान गुमाई सकेका छन् भने सयौँ घरहरू क्षतिग्रस्त भएका छन् ।
भूकम्पका कारण ठूला ठूला घर भत्किइरहेका दृश्य अहिले सामाजिक संजालमा फैलिरहेका छन् । यही सेरोफेरोमा ठूला घर एकै पटक भत्किएका दृश्य सामाजिक संजालमा भेटिएका छन् । jayasambhoharahar नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा कयौँ भत्किएको दृश्य देख्न सकिन्छ । उक्त सामग्रीमा देखिएको दृश्य टर्कीस्थित भूकम्पपछिको रहेको दाबी गरिएको छ ।
भिडियोमा थमनेलमा लेखिएको छ- ‘टर्कीको भूकम्पले भवन चट्, सबैको विनास अवश्य छ यस धर्तीमा ।’

त्यस्तै Khem Dahal नामक टिकटक आइडीमा पनि सोही दृश्य देख्न सकिन्छ । उक्त सामग्रीमा पनि यो दृश्य टर्कीकै रहेको दाबी गरिएको छ । भिडियोको थमनेलमा भनिएको छ- टर्कीमा गएको भूइचालोको एक दृश्य, ७.८५ म्याग्नेच्युट ।’

टर्कीमा भवनहरू भत्किएका दाबीसहित सामाजिक संजालमा फैलाइएका प्रस्तुत सामग्री टर्कीको भूकम्पसँग सम्बन्धित छन् कि छैनन् भन्ने प्रश्नसहित हामीले प्रस्तुत तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
टर्कीको भूकम्पका कारण भवन भत्किएकाे दाबीसहित माथि उल्लेखित सामग्री सामाजिक संजालमा फैलाइएको छ । जाँच गर्दैगर्दा हामीले सबैभन्दा पहिले भवन भत्किएका दृश्यको वास्तविकता पत्ता लगाउन चाह्यौँ । यसका लागि हामीले दाबीसहितको गुगल लेन्सको प्रयोग गरेर रिचर्स इमेज सर्च गर्यौँ ।
प्रस्तुत सर्चबाट हामीले news.com.au नामक संचार माध्यमा प्रकाशित समाचार फेला पार्यौँ । सेप्टेम्बर ३०, २०२१ मा प्रकाशित उक्त समाचारमा प्रयोग गरिएका दृश्यहरू र दाबीसहितका सामग्रीमा प्रयोग गरिएका दृश्यहरू एकैखालका देखिन्छन् ।
फेला परेको सोही समाचारका आधारमा हामीले ‘China demolishing unfinished high rises’ वाक्यांश गुगलमा सर्च गर्यौँ । सर्चको फलस्वरुप हामीले telegraph मा प्रकाशित अर्को सामग्री फेला पार्यौँ । २३ अगस्ट २०२२ मा प्रकाशित उक्त सामग्रीमा चीनले ठूला ठूला टावरहरू भत्काएकाे जानकारी दिइएको छ ।
चीनको आर्थिक नीतिसँग जोड्दै लेखिएको प्रस्तुत समाचार भित्र एउटा भिडियोसमेत देखिन्छ । त्यो सोही भिडियो हो जो माथि दाबीसहितको सामाग्रीमा देखिन्छ । unusual_whales नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त भिडियोलाई टेलिग्राफले स्रोतको रुपमा प्रयोग गरेको हो । यो भिडियो एक वर्षअघिको रहेकोसमेत ट्विटरमा जानकारी दिइएको छ ।

फेला परेको प्रस्तुत तथ्यबाट के प्रष्ट हुन्छ भने टर्कीको भूकम्पका कारण भवन भत्किएकाे दाबीसहित सामाजिक संजालमा फैलाइएका भिडियो फरक सन्दर्भका हुन् । चीनले आफ्नो नीति अन्तर्गत भत्काएका भवनहरूको दृश्यलाई टर्कीको भूकम्पकासँग जोड्न खोजेको पाइयो ।
*दाबीसहितको सामग्री प्रस्तुत गर्ने क्रममा असम्बन्धित दाबी यस सामग्रीमा लिंक भएकाले सच्याइएको छ ।
निष्कर्ष
सामाजिक संजालमा दाबी गरिएजस्तो माथि उल्लेखित दृश्यहरू टर्कीको भूकम्पकोसँग सम्बन्धित छैनन् । चीनले आफ्नो नीति अन्तर्गत भत्काएका भवनहरूको दृश्यलाई भ्रामक तरिकाले टर्कीको भूकम्पकासँग जोडिएको छ ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]