Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: इजरायलस्थित संयुक्त राज्य अमेरिकाको दूतावासमा आक्रमण भएको दाबी (भिडियो) ।
तथ्य: तीन वर्षअघि अमेरिकाको भर्जिनियास्थित रिचमण्डमा रहेको डोमिनियन इनर्जी कम्पनीको पूरानो भवन भत्काइएको दृश्यलाई भ्रामक दाबीसहित सामाजिक संजालमा फैलाइएको पाइयो ।
सामाजिक संजालमा एउटा भिडियोसहितको पोस्ट द्रुत गतिमा फैलिरहेको छ । Disaster नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा ठूलो भवन तहसनहस भएको दृश्य देख्न सकिन्छ । उक्त भिडियोको क्याप्सनमा इजरायलस्थित संयुक्त राज्य अमेरिकाको दूतावासमा आक्रमण भएको दाबी गरिएको छ ।
भिडियोमा अमेरिकाको राष्ट्रिय झण्डा देख्न सकिन्छ । साथै भिडियोको सुरुमै ठूलो बिस्फोट भएको आवाज सुनिएको छ, बिस्फोटपछि एउटा भवन चकनाचुर भएर ढलेको दृश्य देख्न सकिन्छ । सोही भिडियोको क्याप्सन अंग्रेजी भाषामा लेखिएको छ- ‘The USA embassy in Israel today attack.’
१२ घण्टाअघि पोस्ट गरिएको दाबीसहितको भिडियोमा करिब १० हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । यही अवधिमा करिब एक हजार प्रतिक्रिया आएको उक्त भिडियोलाई ९ सय भन्दा बढी टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । यो तथ्यांकलाई आधार बनाउने हो भने प्रस्तुत दाबीसहितको पोस्ट सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको छ ।
पछिल्लो समय (७ अक्टोबर २०२३ देखि) इजरायल र प्यालेस्टाइनी हमास संगठनबीचको तनाब उत्कर्षमा पुगेको छ । इजरायल र गाजा क्षेत्र युद्धसँग जुधिरहेका बेला इजरायलस्थित संयुक्त राज्य अमेरिकाको दूतावासमा आक्रमण भएको दाबीसहित एउटा भिडियो सामाजिक संजालमा फैलिरहेको छ ।
तनाबपूर्ण अवस्थाको सन्दर्भमा सिंगो भवन तहसनहस भएको दृश्य र इजरायलस्थित संयुक्त राज्य अमेरिकाको दूतावासमा आक्रमण भएको दाबीले आम सामाजिक संजाल प्रयोगकर्तालाई संवेदनशील बनाएको छ । यही कारण हामीले प्रस्तुत भिडियो र दाबीको वास्तविकता पत्ता लगाउन तथ्यजाँच गरेका छौँ ।
जाँचका क्रममा हामीले सबैभन्दा पहिले दाबीसहितको भिडियोलाई पुन: एकपटक राम्ररी नियाल्यौँ । यही क्रममा भिडियोमा देखिने एउटा भवनमा अमेरिकाको झण्डा र एउटा लोगो देखियो ।
हामीले उक्त लोगोलाई स्क्रीनसट गरेर गुगल लेन्समा सर्च गर्यौँ । जाँचका क्रममा उक्त लोगो डोमिनियन इनर्जी (Dominion Energy) नामक अमेरिकी उर्जा कम्पनीको रहेको पाइयो । यसको मुख्य कार्यालय अमेरिकास्थित रिचमण्ड, भर्जिनियामा रहेको छ ।
फेला परेको तथ्यका आधारमा हामीले ‘Dominion Energy’ ‘Tower Demolished’ वाक्यांशलाई गुगलमा सर्च गर्यौँ । सर्चको नतिजास्वरुप wric.com नामक संचार माध्यममा प्रकाशित समाचार फेला पर्यो । तीन वर्षअघि अर्थात् ३० मे २०२० मा प्रकाशित उक्त समाचारमा डोमिनियन इनर्जीको वन जेम्स रिभर प्लाजा भवन पूरानो भएकाले भत्काइएको जानकारी दिइएको छ ।
प्रस्तुत तथ्यका आधारमा हामीले ‘Dominion Energy’ ‘Building Implosion’ ‘Richmond, VA’ लगायतका वाक्यांश तयार पार्यौँ र युट्युबमा सर्च गर्यौँ । सर्चको नतिजास्वरुप Richie MacDonald नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पर्यो ।
तीन वर्षअघि अर्थात् ३० मे २०२० मा पोस्ट गरिएको भिडियोमा डोमिनियन इनर्जीको पूरानो भवन भत्काइएको दृश्य देख्न सकिन्छ । उक्त भिडियोको शिर्षक राखिएको छ- ‘Dominion Energy Implosion | Richmond, VA | Helicopter View’
माथि उल्लेखित दाबीसहितको भिडियोमा देखिएको दृश्य र फेला परेका स्रोतहरुमा देखिने भिडियो एउटै होइनन् । तर, दाबीसहितको सामग्रीमा जोडिएको भिडियो र डोमिनियन इनर्जीको पूरानो भवन भत्काइएको दृश्य एउटै सन्दर्भका हुन् भन्ने आधारहरु फेला परेका छन् ।
अर्कोतर्फ ‘Old Dominion Energy Building Implosion’ ‘Richmond’ वाक्यांशलाई युट्युबमा सर्च गर्दा एउटा अर्को सर्ट भिडियो फेला परेको छ । उक्त भिडियो र दाबीसहितको सामाग्रीमा जोडिएको भिडियो एक आपसमा मिल्दाजुल्ला छन् । फेला परेका तथ्यहरुबाट के पुष्टि हुन्छ भने इजरायलस्थित अमेरिकी दूतावासमा आक्रमण गरिएको दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको भिडियो तीन वर्ष पूरानो र फरक सन्दर्भमा खिचिएको थियो ।
अर्कोतर्फ तीन वर्षअघि अमेरिकास्थित भर्जिनियाको रिचमण्ड क्षेत्रको भवन भत्काइएको स्थानलाई हामीले गुगल अर्थबाट नियाल्यौँ । डोमिनियन इनर्जीको पूरानो भवन भत्काइएपछि सो स्थान यस्तो देखिएको छ:
इजरायलस्थित संयुक्त राज्य अमेरिकाको दूतावासमा आक्रमण भएको दाबीसहित सामाजिक संजालमा फैलाइएको भिडियो भ्रामक छ । तीन वर्षअघि अर्थात् मे, २०२० मा अमेरिकाको भर्जिनियास्थित रिचमण्डमा रहेको डोमिनियन इनर्जी कम्पनीको पूरानो भवन भत्काइएको दृश्यलाई भ्रामक दाबीसहित सामाजिक संजालमा फैलाइएको पाइयो ।
समाचार, wric.com, May 30, 2020
भिडियो, Richie MacDonald, May 30, 2020
भिडियो, Apr 24, 2020
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]