पछिल्लो समय सामाजिक संजालमा भिडियो जोडिएका सामग्री फैलिरहेका छन् । भिडियोमा बलात्कार आरोपी नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई देख्न सकिन्छ । सन्दीप लामिछानेसँग भिडियोमा मानिसहरुको भिडसमेत देखिएको छ ।
Yubrajbhandari_official नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त भिडियो सामग्रीमा सन्दीप लामिछाने कडा सुरक्षाका साथ एयरपोर्टमा देखिएको दाबी गरिएको छ । सन्दीपलाई स्वागत गरिएको दृश्य देखिने भिडियोमा थमनेलमार्फत दाबी पेश गरिएको छ । थमनेलमा लेखिएको छ- कडा सुरक्षाका साथ सन्दीप लामिछाने एयरपोर्टमा, शुभचिन्तकको घुइँचो ।’
चार दिनअघि पोस्ट गरिएको उक्त भिडियोमा १ लाख २४ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने भिडियोलाई ३ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले सेयर गरिसकेको देखिन्छ । satisfaction lamsal नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त भिडियोमा पनि सन्दीप लामिछाने देखिएका छन् ।

प्रस्तुत भिडियोमा पनि माथिको सामग्रीमा जस्तै दाबी दाबी गरिएको छ । दाबीसहितको सामग्रीमा जोडिएको थमनेलमा लेखिएको छ – ‘बलात्कार केसमा मुछिएका सन्दीप लामिछाने एयरपोर्टमा ।’
५ दिनअघि पोस्ट गरिएको दाबीसहितको सामग्रीमा १७ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् ।त्यस्तै भिडियो सेयर गर्ने टिकटक प्रयोगकर्ताको संख्या करिब २ सय रहेको देखिन्छ ।
नेपाल प्रहरीले अनुसन्धान गरिरहेको सन्दीप लामिछानेको आरोप र माथि उल्लेखित सामग्रीमा गरिएको दाबी गम्भीर खालका भएका कारण हामीले प्रस्तुत सामग्रीको वास्तविकता पत्ता लगाउने जमर्को गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
सन्दीप लामिछानेलाई नाबालिगमाथि पटकपटक जबरजस्ती करणी गरेको आरोप लागेको छ । प्रहरी कहाँ पीडित बालिकाले जाहेरी दिएपछि काठमाडौँ महानगरिय प्रहरी वृत्त गौशाला र जिल्ला प्रहरी परिसर काठमाडौँले संयुक्त रूपमा अनुसन्धान गरिरहेको छ ।
प्रहरीले संचार माध्यमलाई दिएको जानकारी अनुसार पीडित भनिएकी किशोरी १७ वर्षकी छन् र र उनको विस्तृत स्वास्थ्य परीक्षण भइसकेको छ । ती किशोरीका आफन्तका तर्फबाट भदौ २१ गते उक्त उजुरी दायर भएको थियो । बलात्कारको घटना भने भदौ ५ भएकाे बनान प्रहरी समक्ष दिइएको छ । मंगलबार (२८ गते) सम्म आरोपी लामिछाने पक्राउ परेका छैनन् ।
भदौ ६ गते उनी केन्यामा हुने टी-२० खेलका लागि गएका थिए । त्यहाँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न उनी वेष्ट इन्डिज पुगेका थिए । सन्दीपले गत शुक्रबार उनले फेसबुकमार्फत आफूले सिपिएल छाडेर केही दिनमै नेपाल आउने बताएका थिए तर उनी नेपाल कहिले आइपुग्छन् भन्ने टुंगो लागेको छैन । सन्दीप लामिछानेलाई अध्यागमन विभागले समेत कालोसूचीमा राखेको छ ।
घटनाको यही सेरोफेरोका बिच नेपाली सामाजिक संजाल प्रयोगकर्ताबीच घटनाका आरोपका विषयमा चर्चा परिचर्चा भइरहेको छ । यही क्रममा सन्दीप लामिछाने एयरपोर्टमा देखिएको दाबीसहितका सामग्रीहरू सामाजिक संजालमा पोस्ट गरिएका छन् ।
दाबीसहितको सामग्री जाँच गर्नेक्रममा हामीले सबैभन्दा पहिले युट्युबमा केही किवर्ड सर्च गर्यौँ । ‘sandeep lamichhane airport’ किवर्ड सर्च गर्दा केही नतिजा भेटिए । प्रस्तुत सर्चबाट SATYA TATHYA (सत्य तथ्य) नामक युट्युब च्यानलमा ४ वर्ष अगाडि अर्थात् २२ मे २०१८ मा पोस्ट गरिएको एउटा भिडियो फेला पर्यो । ‘Exclusive : एयरपाेर्टमा सन्दीपकाे भव्य स्वागत, थेगिनसक्नु भिड Sandeep Lamichhane at airport’ शिर्षकको प्रस्तुत भिडियो त्यही भिडियोको अंश नै माथि दाबीसहितको सामग्रीमा जोडिएको हो ।
त्यस्तै दाबीसहितको दोस्रो सामग्रीमा मा पनि सन्दीप लामिछाने एयरपोर्टमा देखिएको दाबी गरिएको छ । दाबीसहितको सामग्रीमा राखिएको लोगोलाई पछ्याउँदै हामीले युट्युब सर्च गर्दा Rato Khursani नामक युट्युब च्यानलमा चार वर्षअघि पोस्ट गरिएको भिडियो फेला पर्यो । ‘Sandeep Lamichhane back to Nepal after IPL/ Sandeep Lamichhane at Airport’ शीर्षकको उक्त भिडियो २२ मे २०१८ मै पोस्ट गरिएको देखिन्छ ।
प्रस्तुत तथ्यबाट के प्रमाणित हुन्छ भने दाबीसहितको सामग्रीमा प्रयोग गरिएका दुबै सामग्री ४ वर्ष पूराना हुन् । भिडियो पोस्ट गर्ने युट्युब च्यानलका अनुसार इन्डियन प्रिमियर लिग (आइपीएल)मा खेल्ने पहिलो नेपाली खेलाडी बनेर फर्किँदा उक्त भिडियो खिचिएको थियो ।
प्रस्तुत व्यहोराको समाचार तत्कालीन समयमा संचार माध्यमलेसमेत लेखेको देखिन्छ । यस तथ्यबाट पनि उक्त भिडियो पूरानै हो भन्ने पुष्टि हुन्छ ।

निष्कर्ष
दाबीसहितको सामग्रीमा राखिएको भिडियो अंश ४ वर्ष पूरानो हो । वर्तमान सन्दर्भसँग जोड्दै सन्दीप लामिछाने एयरपोर्टमा देखिएको भन्ने दाबी भ्रामक छ ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co