Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Coronavirus
एउटा सूचनाजन्य अडियो पछिल्लो समय टिकटक प्रयोगकर्ताहरुमाझ फैलिरहेको छ । अडियोमा ‘देशभरका विद्यालय बन्द हुने’ दाबी गरिएको छ । उक्त अडियोमाथि टिकटक प्रयोगकर्ताले आफूले खिचेको भिडियो राख्दै सेयर गरिरहेका छन् ।
एक दिनअघि सन्देश देवकोटा नामक टिकटक आइडीबाट सोही अडियोसहितको भिडियो पोस्ट भयो । उक्त भिडियोको थमनेलमा लेखिएको छ,‘भोलिबाट स्कूल बिदा हुनेछ, सबैलाई जानकारी गराउँदछु ।’
२४ घण्टामै यो अडियोसहितको भिडियोमा ७२ हजार ३ सय टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै भिडियोलाई १ हजार ८ सयभन्दा बढीले सेयर गरिसकेका छन् ।
ठाकुर डाँगी नामको टिकटक आइडीमा पनि सोही अडियोमा स्कुल प्राङ्गणका दृश्यहरू भिडियो र विद्यार्थीका लागि ‘दुखको खबर’ भन्ने थमनेल राखिएको सामग्री पोस्ट गरिएको छ । यो सामग्री तयार पार्दासम्म उक्त भिडियोमा ३५ हजार ७ सय प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् र करिब ३ सयले सेयरसमेत गरिसकेका छन् ।
यी दुबै भिडियोको सेयर संख्याबाट के प्रष्ट हुन्छ भने यो सूचना द्रुत गतिमा फैलिरहेकाे छ । पछिल्लो समय फैलिएको उक्त अडियोमा यस्तो भनिएको छ- ‘देशभरका विद्यालय अब बन्द हुने भएका छन् । कोभिड-१९ संक्रमणको जोखिम ह्वात्तै बढेपछि विद्यालयहरू बन्द गर्न स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको हो ।’
यी अडियोसहितका भिडियोमाथि प्रतिक्रिया राख्दै केही प्रयोगकर्ताले खुसी ब्यक्त गरेका छन् भने केहीले दुख ब्यक्त गरेका छन् । तर, केहीले अडियोमा रहेको सूचनाको सत्यतामाथि प्रश्न उठाएका छन् । त्यसैले हामीले उक्त अडियो सूचनामाथि तथ्यजाँच गरेका छौँ ।
माथि फैलिरहेका अडियोसहितको भिडियोमा विद्यालय बन्द हुन लागेको दाबी गरिएको छ र यसको कारण कोभिड-१९ लाई देखाइएको छ । कोभिड संक्रमण बढेका कारण स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गर्न सिफारिस गरेकोसमेत दाबी अडियोमा छ ।
फैलिरहेका अडियोहरूको मूल स्रोतमा जाँच गर्दा उक्त अडियो नेपालको एक डिजिडिल मिडियाको टिकटक आइडीमा पोस्ट भएको पाइयो । त्यहाँ अर्थ सरोकार नामक उक्त आइडीले ९ महिनाअघि उक्त अडियोसहितको सामग्री पोस्ट गरेको देखिन्छ । ९ अप्रिलमा पोस्ट भएको उक्त अडियो-भिडियोमा सोही सामग्री छ जो अहिले टिकटकमा फैलिरहेको छ । यसको अर्थ हुन्छ पूरानो सन्दर्भको सूचनासहितको अडियोलाई वर्तमान सन्दर्भ बनाएर सामाजिक संजालमा फैलाइएको छ ।
स्वास्थ्य मन्त्रालयले त्यो समयमा कोभिड-१९ संक्रमण विद्यार्थीमा पनि फैलिरहेकाले विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयलाई आग्रह गरेको थियो । तत्कालीन स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलेसमेत लकडाउन गर्नुपर्ने अवस्थासम्म नपुग्नका लागि विद्यालय तथा कलेज बन्द गर्नुपर्ने अभिव्यक्ति दिँदै आएका थिए । यसको एक महिना नबित्दै सरकारले मुलुकभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।
तर, वर्तमान समयमा स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गर्न कुनै आग्रह गरेको छैन र सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय पनि गरेको छैन । पछिल्लो समय स्वास्थ्य मन्त्रालयकी प्रवक्ता संगिता मिश्राले शिक्षा मन्त्रालयलाई विद्यालय बन्द गर्न आग्रह नगरेको जानकारी दिइन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंसिर २० गते कोभिड-१९ को अति संक्रामक नयाँ भेरियन्टका सन्दर्भका आम नागरिकलाई सचेत भने गराएको थियो । मन्त्रालयले जारी गरेको वक्तब्य यस्तो छ :
वर्तमान समयमा सरकारले विद्यालय बन्द गर्ने कुनै निर्णय गरेको छैन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षा मन्त्रालयलाई विद्यालय बन्द गर्न आग्रह पनि गरेको छैन । यसकारण पुरानाे समाचारको अडियोलाई वर्तमान सन्दर्भ बनाएर भ्रमक तरिकाले सामाजिक संजालमा फैलाइएको देखिन्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
कान्तिपुर : देशभरका विद्यालय बन्द गर्ने निर्णय
शिलापत्र : विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
अर्थ सरोकारको मूल अडियो-भिडियो
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Aakash Chhetri
March 12, 2024
Newschecker And THIP Media
June 2, 2023
Surendra Phuyal
July 1, 2021