कोभिड-१९ महामारीका कारण प्राय सुनसान दिने सिनेमा हलहरू पछिल्लो समय परिभराउन हुने गरेका छन् । केही स्वदेशी र विदेशी चलचित्रलाई दर्शकले रुचाएपछि हलहरूमा भीड देखिन सुरु भएको हो । नेपाली दर्शकलाई हलसम्म तान्नेमध्येकै एउटा चलचित्र हो, केजीएफ च्याप्टर २ । दक्षिण भारतीय चलचित्र केजीएफलाई नेपाली दर्शकले रुचाइरहेका यसका मुख्य अभिनेता यश र संजय दत्त नेपाल आएको दाबी गर्ने सामग्रीहरू सामाजिक संजालमा फैलिएका छन् ।
#princethapa_official नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा अभिनेता यश र संजय दत्तले आफ्ना फ्यानहरूलाई अभिन्दन गरिरहेको दृश्य देखिन्छ । भिडियोको थमनेलमा दुबै अभिनेता काठमाडौँमा रहेको दाबी गरिएको छ । उक्त दृश्यतिर संकेत गर्दै थमनेलमा अंग्रेजी र नेपाली भाषामा लेखिएको छ, ‘यश र संजय दत्त काठमाडौँमा ।’
पोस्ट भएको तीन दिनमै दाबीसहितको उक्त भिडियोमा ६८ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने भिडियोलाई साढे २ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । सोही दाबीसहितका अन्य भिडियो पनि टिकटकमा पोस्ट गरिएको छ ।

#santoshma र #sonua नामक टकटक आइडीमा पोस्ट गरिएको भिडियोमा पनि माथिकै दाबी दोहोर्याइएको छ । यसबाट के प्रष्ट हुन्छ भने केजीएफ च्याप्टर २ का अभिनेता नेपाल आएको भन्ने दाबी सामाजिक संजालमा फैलिरहेको छ । भारतीय चर्चित अभिनेता नेपाल आएको भन्ने दाबी घातक नभएपनि आम दर्शकको भावनासँग जोडिएको विषय भएकाले हामीले उक्त दाबीमाथि तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
१४ अप्रिलमा नेपालभित्र रिलिज गरिएको केजीएफ च्याप्टर २ ले उहाँ आकर्षक व्यापार गरिरहेको छ । रिलिज हुनु अगावै केजीएफ च्याप्टर २ अग्रिम टिकट बिक्री गर्न सुरु भएको थियो । चिलचित्र रिलिज हुनु अगावै अग्रीम बुकिङले हाउसफुल भएको थियो । यसले के प्रष्ट पार्छ भने नेपालमा केजीएफ च्याप्टर २ को क्रेज ब्यापक छ । यही सन्दर्भमा साेही चलभित्रका प्रमुख अभिनेता यश र संजय दत्त नेपाल आएको दाबी सामाजिक संजालमा फैलाइएको हो ।
दाबीसहितको सामग्रीमा अभिनेता यश र संजय दत्त रहेको एउटा भिडियो देखिन्छ । सोही भिडियो भिडियोलाई आधार बनाएर केजीएफ च्याप्टर २ का दुबै अभिनेता नेपाल आएको दाबी गरिएको छ । यही कारण हामीले सुरुमै भिडियोको वास्तविकता पत्ता लगाउने काममा जुट्यौँ ।
जाँचको सुरुमै हामीले ‘KGF Chapter 2’, ‘Yash’, ‘Sanjay Dutt’ ‘Fans’ लगायतका किवर्डहरू युट्युब लगायतका भिडियो माध्यमहरूमा सर्च गर्यौँ । पहिलो सर्च र केही भिडियोलाई नियालेपछि हामीले टिकटक भिडियोको मूल स्रोत पत्ता लगायौँ ।
Rocking Star Yash नामक युट्युब च्यानलमा केजीएफ च्याप्टर २ चलचित्रको प्रचारात्मक भिडियो पोस्ट गरिएको छ । ३ अप्रिलमा पोस्ट गरिएको उक्त भिडियोमा दिल्लीमा केजीएफ च्याप्टर २ को प्रचार गरिएको जानकारी दिइएको छ । युट्युबमा भिडियोको शीर्षक राखिएको छ,‘KGF Chapter 2 promotion at Delhi | Rocking Star Yash and Sanjay Dutt fans’
उल्लेखित तथ्यबाट के प्रष्ट हुन्छ भने माथि टिकटकमा दाबीसहित प्रस्तुत गरिएको दृश्य भारतको राजधानी दिल्लीको हो । तर, उक्त दृश्यलाई काठमाडौँ भनेर सामाजिक संजालमा फैलाइएको छ । अभिनेता यश र संजय दत्त केजीएफ च्याप्टर २ प्रचारका लागि काठमाडौँ आएका छैनन् । त्यसैले उक्त दाबी गलत र भ्रामक छ ।
निष्कर्ष
अभिनेता यश र संजय दत्त केजीएफ च्याप्टर २ प्रचारका लागि काठमाडौँमा आएको भन्ने दाबी गलत छ । भारतको राजधानी दिल्लीको भिडियो राख्दै दुबै अभिनेता काठमाडौँमा भनिएको दाबी गलत र भ्रामक हो ।
नतिजा : भ्रामक/असत्य
हाम्रा स्रोतहरू
Rocking Star Yash : KGF Chapter 2 promotion at Delhi
Onlinekhabar : केजीएफ च्याप्टर २ नेपालमा कीर्तिमानी व्यापार गर्ने संकेत
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]