Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check

दाबी: काठमाडौँमा सुर्तीजन्य पदार्थ बिक्री तथा प्रयोग बन्द गराएपछि मेयर बालेन शाह भक्तपुर र पोखरा पुगेर धुम्रपान गरेको दाबी ।
तथ्य: बालेन शाह अभिनित ‘हान्दे’ शिर्षकको म्युजिक भिडियोको एउटा अंशलाई छाँटकाँट गरेर भ्रामक दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहसँग सम्बन्धित केही तस्बिरहरु सामाजिक संजालमा फैलिरहेका छन् । साथै काठमाडौँमा सुर्तीजन्य पदार्थ बिक्री तथा प्रयोग बन्द गराएपछि मेयर बालेन शाहले भक्तपुर र पोखरा पुगेर धुम्रपान गरेको दाबी गरिएको छ ।
Namaste Bhaktapur नामक फेसबुक पेजमा मेयर बालेन शाहले धुम्रपान गरिरहेको दृश्य देखिने तस्बिर पोस्ट गरिएको छ । तस्बिरसँगै पोस्टको क्याप्सनमा लेखिएको छ- ‘काठमाडौंमा चुरोट, खैनी बन्द गराएपछि आफु तलतल मेट्न भक्तपुर आएर चुरोट तान्दै हाम्रा मेयर साहेब !’

दुई दिनअघि पोस्ट गरिएको दाबीसहितको तस्बिरमा करिब एक हजार फेसबुक प्रयोगकर्ताले लाइक गरिसकेका छन् । यही अवधिमा ५० भन्दा धेरै प्रतिक्रिया दिइएको दाबीसहितको पोस्टलाई करिब ४० फेसबुक प्रयोगकर्ताले सेयर गरिसकेका छन् ।दाबीसहितका तस्बिरहरु सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको यस तथ्यांकले प्रष्ट पार्छ ।
त्यसैगरी Khadga Sherma Limbu नामक फेसबुक आइडीमा पनि त्यस्तै तस्बिर पोस्ट गरिएको छ । तस्बिरसँगै क्याप्सनमा बालेन शाहले काठमाडौँमा सुर्ती, चुरोट प्रतिबन्ध गरी पोखरामा पुगेर चुराेट तानेको दाबी गरिएको छ । क्याप्सनमा लेखिएको छ- ‘काठमाडौँमा चुरोट सुर्ती ब्यान गरेर आफैँ पोखरामा गएर चुरोट तान्दै मेयर बालेन शाह ।’
माथि उल्लेखित दुबै पोस्टमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले धुम्रपान गरिरहेको दृश्य देखिने एउटा तस्बिर राखिएको छ । तर, मेयर बालेन शाह पोखरा र भक्तपुर शहर पुगेको दाबी गर्ने यी छुट्टाछुट्टै पोस्टमा बालेनले धुम्रपान गरिरहेको एउटै तस्बिर जोडिएको छ ।

फरक-फरक फेसबुक पोस्ट र अलग अलग दाबी तर एउटै तस्बिर । उक्त तस्बिरको वास्तविकता पत्ता लगाउन हामीले याे तथ्यजाँच गरेका छौँ ।
२७ मंसिर (२०८०) देखि काठमाडौँ महानगरपालिकाले आफ्नो प्रशासनिक क्षेत्रभित्र सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगायो । मेयर बालेन शाहको अगुवाईमा काठमाडौँ महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गर्यो । साथै बिक्री वितरण गरेको पाइए नगर प्रहरीमार्फत् हस्तक्षेप र जफत गरी कारबाही गर्ने सूचना महानगरले जारी गरेको थियो ।
सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने महानगरको निर्णयविरुद्ध श्रीराम टोवागो उद्योगले उच्च अदालत पाटनमा मुद्दा दायर गर्यो । त्यस्तै २९ मंसिर (२०८०) मा उच्च अदालत पाटनले महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न आदेश दियो । न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले मुद्दाको अन्तिम टुंगो नलगेसम्म निर्णय कार्यान्वयन नगर्न आदेश गरेको हो ।
घटनाक्रमको यही सन्दर्भमा एउटा तस्बिरसँगै मेयर बालेन शाहले पोखरा र भक्तपुर पुगेर ध्रुमपान गरेको छुट्टाछुट्टै दाबीसहितका पोस्ट सामाजिक संजाल फेसबुकमा फेला परेका छन् । प्रस्तुत दाबीको जाँचका क्रममा सबैभन्दा पहिले हामीले तस्बिरको वास्तविकता पत्ता लगाउने कोशिस गर्यौँ ।
सुरुमा बालेन शाहले धुम्रपान गरिरहेको तस्बिर अभिनयको अंश हुनसक्ने अनुमान हामीले गर्यौँ । यही क्रममा ‘Balen Shah Song’ लगायतका वाक्यांशलाई युट्युबमा सर्च गर्यौँ । सर्चको नतिजास्वरुप हामीले PGGH Music नामक युट्युब च्यानलमा पोस्ट गरिएको र्याप म्युजिक भिडियो फेला पर्यो ।

एक वर्षअघि अर्थात् २ फेब्रुअरी २०२२ मा पोस्ट गरिएको उक्त म्युजिक भिडियोमा मेयर बालेन शाहले अभिनय गरेका छन् । ‘हान्दे’ शिर्षकको उक्त म्युजिक भिडियोमा बालेन शाह अतरंगी भूमिकामा देखिएका छन् । सोही म्युजिक भिडियोको एउटा अंशमा बालेन शाहको भूमिकाले धुम्रपान गरेको दृश्य देख्न सकिन्छ ।
म्युजिक भिडियोका लागि गरिएको अभिनयको दृश्यलाई वास्तविक जीवनसँग जोडिएको पाइयो । काठमाडौँमा सुर्तीजन्य पदार्थ बिक्री तथा प्रयोगमा प्रतिबन्ध गर्ने निर्णय, म्युजिक भिडियोको अंश तथा मेयर बालेन शाहले भक्तपुर र पोखरा पुगेर धुम्रपान गरेको दाबी एक आपससमा मेल खाँदैनन् ।
काठमाडौँ महानगरका मेयर बालेन शाहले भक्तपुर र पोखरा पुगेर धुम्रपान गरेको दाबी भ्रामक छ । बालेन शाह अभिनित ‘हान्दे’ शिर्षकको म्युजिक भिडियोको एउटा अंशलाई छाँटकाँट गरेर भ्रामक दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।
समाचार, setopati
समाचार, deshsanchar
म्युजिक भिडियो, PGGH Music
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Aakash Chhetri
June 26, 2025

Aakash Chhetri
April 16, 2025

Aakash Chhetri
March 6, 2025