Fact Check
अभिनेता अमिताभ बच्चन र पूर्वप्रधानमन्त्री प्रचण्डको भ्रामक एआई प्रश्नोत्तर

दाबी: यस दृश्यमा अमिताभ बच्चनले पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भ्रष्टाचारबारे प्रश्न गरेको छन् ।
तथ्य: अमिताभ बच्चन र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको संवाद वास्तविक होइन, एआई मार्फत् तयार गरिएको अतिरंजित सामग्री हो ।
भारतीय लोकप्रिय टेलिभिजन रियालिटी गेम शो ‘कौन बनेगा करोड़पति’ (KBC) को अंश जस्तै देखिने दृश्य सामाजिक संजालमा फैलिरहेको छ । उक्त दृश्यमा अमिताभ बच्चनले पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रश्न गरेको देख्न सकिन्छ ।
Prayeen Singh नामक फेसबुक आइडीमा पोस्ट गरिएको भिडियोमा ‘KBC हो कि rapid fire round?’ लेखिएको छ । हिन्दी भाषामा रहेको भिडियोको प्रश्नोत्तर यस्तो छ-
अमिताभ बच्चनको प्रश्न: यो चार देशमा कुनचाहिँ देश ‘करप्सन इन्डेक्स’मा सबैभन्दा धेरै भ्रष्ट मानिन्छ? अप्सनहरु छन्…
पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफ: नेपाल !
अमिताभ बच्चन: पहिले अप्सन त सुन्नुहोस् !
पुष्पकमल दाहाल ‘प्रचण्ड’: सर,‘करप्सन’ सुन्ने बित्तिकै नेपाल दिमागमा आयो !

१३ अप्रिल २०२६ मा पोस्ट गरिएको भिडियोलाई दुई हप्ता नपुग्दै करिब ९० लाख (8.7M) फेसबुक प्रयोगकर्ताले हेरिसकेका छन् । यही अविधमा तीन हजारभन्दा बढी पटक सेयर भइसकेको भिडियो फेसबुकमा भाइरल भइरहेको छ ।
तथ्यजाँच/प्रमाणीकरण
भिडियोमा विश्वचर्चित बलिउड अभिनेता अमिताभ बच्चनलाई देख्न सकिन्छ । उनले हिन्दी भाषामा नेपालका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रश्न गर्छ, जसको जवाफ प्रचण्डले हिन्दी भाषामै दिन्छन् । यो दृश्यले नेपाललाई हिन्दी भाषामा ‘सबैभन्दा भ्रष्ट देश’को रुपमा प्रस्तुत गर्छ ।
प्रस्तुत भिडियोभित्र वा क्याप्सनमा कुनै डिस्क्लेमर एवं नोट दिइएको छैन । भिडियोलाई Hive Moderation लगायतका एआई मिडिया डिटेक्सन टुलले प्रस्तुत भिडियो । जाँचको नतिजाबाट वास्तविक जस्तै देखिने दृश्य एआई जनरेटेड रहेको निष्कर्ष निस्कियो ।

भिडियोलाई सबैभन्दा पहिले पोस्ट गर्ने, Prayeen Singh नामक फेसबुक आइडीमा नेता, कलाकार र चर्चित व्यक्तिहरुका दृश्यहरु पोस्ट गर्ने गरेको पाइयो । अइडीमा पोस्ट भएका यस्ता अधिकांश भिडियोहरु एआई जनरेटेड देखिन्छन् । तर, भिडियोभित्र हुने सन्देशको संवेदनशीलताबारे डिस्क्लेमर एवं नोट दिइएको छैन ।
प्रस्तुत फेसबुक प्रयोगकर्ताको कन्टेन्टले नेपाललाई ‘सबैभन्दा भ्रष्ट देश’को रुपमा प्रस्तुत गर्छ, त्यो पनि दक्षिण एशियाकै चर्चित व्यक्तिहरुको कृत्रिम भिडियोबाट । त्यसैले नेपाल ‘करप्सन इन्डेक्स’मा कस्तो छ त?
‘Transparency International’ ले प्रकाशित गरेको CPI 2025 अनुसार नेपालले ३४/१०० अंक पाएको छ । नेपाल विश्वका १८२ देशमध्ये १०९औँ स्थानमा रहेको छ । भुटान, भारत, माल्दिभ्सभन्दा नेपाल पछाडि छ । तर पाकिस्तान, बंगलादेश, अफगानिस्तानभन्दा भने अगाडि छ ।

फेला परेका तथ्यहरुले के पुष्टि गर्छन् भने भ्रष्टाचारमा नेपाल सबैभन्दा अगाडि छैन । चर्चित व्यक्तिहरुका कृत्रिम अनुहारलाई बिना अस्वीकरण सामाजिक संजालमा पोस्ट गर्दा भ्रामक सन्देश सार्वजनिक भएको छ ।
निष्कर्ष
भिडियोमा देखाइएको अमिताभ बच्चन र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको संवाद वास्तविक होइन, एआई मार्फत् तयार गरिएको अतिरंजित सामग्री हो । यो भिडियोबाट नेपाललाई ‘भ्रष्ट देश’का रूपमा प्रस्तुत गरिएको छ । तर, दाबी पूर्णरुपमा तथ्यसँग मेल खाँदैन । CPI 2025 अनुसार नेपाल न त सबैभन्दा भ्रष्ट देश हो, न त शीर्ष स्थानमा पर्छ । त्यसैले, भिडियोको सन्देशले सामाजिक संजाल प्रयोगकर्तालाई भ्रमित बनाउन सक्छ ।
नितिजा: भ्रामक
हाम्रा स्रोतहरू
करप्सन इन्डेक्स, transparency.org
एआई मिडिया डिटेक्सन, hivemoderation.com
समाचार, newbusinessage.com
समाचार, ekantipur.com
समाचार, myrepublica.nagariknetwork.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected]


