दाबी: गृहमन्त्री रबि लामिछानेले प्रधानमन्त्री प्रचण्ड र पूर्व प्रधानमन्त्री ओलीलाई ‘जेल कोच्ने घोषणा’ गरेका छन् ।
तथ्य: इलाम-२ मा सम्पन्न उपनिर्वाचनको प्रचारका क्रममा रबि लामिछानेले भाषण गरेको भिडियोलाई भ्रामक दाबीसहित सामाजिक संजालमा फैलाइएको पाइयो ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछानेले गरेको भाषणसँग सम्बन्धित दाबीसहितको भिडियो सामाजिक संजालमा फैलिरहेको छ । उक्त भिडियोमा गृहमन्त्री रबि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई ‘जेल कोच्ने घोषणा’ गरेको दाबी गरिएको छ ।
Tirtharajgautam21 नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा रबि लामिछानेले भाषण गरिरहेको भिडियो जोडिएको छ । सोही भिडियोको थमनेलमा लेखिएको छ- ‘ओली-प्रचण्डलाई जेल कोच्ने रबिको घोषणा, एक-एकलाई जेल कोच्ने रबिको घोषणा, गठबन्धन भत्किदै ।’

एक साताअघि पोस्ट गरिएको भिडियोमा १५ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । ११ सयभन्दा बढी प्रतिक्रिया आइसकेको दाबीसहितको भिडियोलाई ३ सयभन्दा बढीले सेयर गरिसकेका छन् । त्यस्तै दाबीसहितको भिडियो-अडियोबाट थप १२ वटा भिडियो पुनर्उत्पादन गरिएको देखिन्छ ।

के गृहमन्त्री रबि लामिछानेले प्रधानमन्त्री प्रचण्ड र पूर्व प्रधानमन्त्री ओलीलाई ‘जेल कोच्ने घोषणा’ गरेका हुन् त ? वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणिकरण
रबि लामिछाने पुष्पकमल दाहाल ‘प्रचण्ड’कै नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् । यो सरकार नेकपा (एमाले) सम्मिलित गठबन्धनले बनाएको हो । उक्त गठबन्धनका एकजना शीर्षस्थ नेता केपी शर्मा ओली पनि हुन् । यो तथ्यजाँच रिपोर्ट तयार पारिरहँदासम्म गठबन्धनमा कुनै औपचारिक दरार देखिएको छैन ।
यही सन्दर्भमा गृहमन्त्री रबि लामिछानेले प्रधानमन्त्री प्रचण्ड र पूर्व प्रधानमन्त्री ओलीलाई ‘जेल कोच्ने घोषणा’ गरेको दाबी गर्ने भिडियो सामाजिक संजालमा फैलिरहेको छ । तर, दाबीसहितको भिडियोमा रबि लामिछानेले त्यस्तो कुनै घोषणा गरेको आवाज सुन्न सकिएन ।
त्यसैले हामीले भिडियोको मूल सन्दर्भ जाँच गर्नतिर लाग्यौँ । यसका लागि दाबीसहितको भिडियोमा रबि लामिछानेले बोलेका केही वाक्यांशलाई गुगलमा सर्च गर्यौँ । यसको नतिजास्वरुप deshsanchar संचार माध्यममा प्रकाशित एउटा समाचार फेला पर्यो ।

११ बैशाख २०८१ मा प्रकाशित समाचार अनुसार गृहमन्त्री रबि लामिछानेले इलामको माइ नगरपालिकास्थित कपुरचौरमा आयोजित चुनावी आमसभालाई सम्बोधन उक्त भाषण गरेका थिए । समाचारमा उल्लेखित भिडियो र भनाईहरु रबि लामिछानेको भाषणसँग ‘म्याच’ भएका छन् ।
दाबीसहितको भिडियोको सन्दर्भ पत्ता लगेपछि हामीले मूल भिडियो पनि युट्युबमै फेला पार्यौँ । Sahara Nepal नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियोकै एउटा अंशमा दाबीसहितको थमनेल जोडेर सामाजिक संजालमा फैलाइएको पाइयो ।
एक साताअघि अर्थात् १ मे २०२४ मा पोस्ट गरिएको भिडियोमा फरक सन्दर्भका केही दृश्यहरु पनि जोडिएको छ । साथै रबि लामिछानेको मूल भिडियोसँग जोडेर भ्रामक शिर्षकसमेत राखिएको देखिन्छ ।
फेला परेको भिडियो हामीले पटक-पटक हेर्यौँ । तर भिडियोको कुनैपनि अंशमा गृहमन्त्री रबि लामिछानेले प्रधानमन्त्री प्रचण्ड र पूर्व प्रधानमन्त्री ओलीलाई ‘जेल कोच्ने घोषणा’ र सोही शब्दसहितको अभिव्यक्ति दिएको पाइएन ।
निष्कर्ष
गृहमन्त्री रबि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई ‘जेल कोच्ने घोषणा’ गरेको दाबी भ्रामक छ । इलाम-२ मा सम्पन्न उपनिर्वाचनको प्रचारका क्रममा रबि लामिछानेले भाषण गरेको भिडियोलाई भ्रामक दाबीसहित सामाजिक संजालमा फैलाइएको पाइयो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
समाचार, deshsanchar
भिडियो, Sahara Nepal
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]