Wednesday, May 14, 2025

Fact Check

Fact Check: संसद् अवरोधको भिडियोमा जोडियो ‘आतंककारी प्रचण्ड’, प्रधानमन्त्रीलाई सदनभित्रै ‘आतंककारी’ भनिएको हो? 

Written By Aakash Chhetri
May 15, 2023
banner_image

Claim

image

Fact

image

दाबी: संसद् अवरोधको दृश्यसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आतंककारी शब्दले सम्बोधन गरिएको छ ।  
तथ्य:  राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले रोष्टम घेराउ गरेको भिडियोमा दुई वर्ष पुरानो अडियो जोडेर भ्रामक सामग्री उत्पादन गरिएको र सामाजिक संजालमा फैलाइएको पाइयो ।  

सामाजिक संजालमा भिडियो सहितको एउटा सामग्री सामग्री फेला परेको छ, उक्त भिडियोमा नेपालको संसदभित्र विरोध भइरहेको दृश्य देख्न सकिन्छ । यस सामग्रीमा एउटा अडियो पनि सुन्न सकिन्छ, उक्त अडियोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आतंककारी शब्दले सम्बोधन गरिएको छ । 

Bohoradipak नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा संसदको रोष्टम घेराउ भइरहेको दृश्य जोडिएको छ, उक्त दृश्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू नारावाजी गरिरहेको अवस्थामा देखिएका छन् । यस सामग्रीमा जोडिएको भिडियोलाई थमनेलमार्फत् चित्रित गरिएको छ । थमनेलमा लेखिएको छ- ‘संसदको आज हेर्न लायक दृश्य, जय ज्ञानेन्द्र शाही आज संसदमा बबाल भयो ।’ 

त्यस्तै उल्लेखित सामग्रीमा एउटा अडियो समेत सुन्न सकिन्छ । उक्त अडियोमा भनिएको छ- 

‘आतंककारी प्रचण्डलाई कि त यो देशको कानुन परिवर्तन गरेर झुन्ड्याउँछौँ कि त यो देशबाट बहिस्कार गर्छौँ, होसियार हुनुस् । जनता मार्ने ? जनता मार्ने ? राजनीतिका लागि जनता मार्ने ? नागरिक मार्ने ? आफ्नो छोरो प्रकाश मर्दाखेरी प्वाँ प्वाँ रुने ? अर्काका छोराछोरी मर्दा शहिद भए भनेर टिका लगाउँने ? यस्ता अपराधी चरित्र भएका यी आतंककारीहरूको पत्तासाप गरेनौँ भने गौतम बुद्धको देश होइन यो । यी दलाल, चोरहरु रामचन्द्र पौडेलजस्ता अपराधीहरू एउटा पुल उद्‍घाटन गर्न पाएनन् भनेर झोले कार्यकर्तालाई सडकमा उतार्छन् । अझ प्रचण्डजस्ता आतंककारीहरू कुर्सी पाइएन भनेर तानातान गर्छन्, अब कुर्सी तान्ने र पुल उद्‍घाटन गर्ने यिनिहरूको पत्तासाप ।’  

 तीन दिनअघि पोस्ट गरिएको प्रस्तुत सामग्री सामाजिक संजालमा फैलिरहेको छ । वर्तमान सन्दर्भमा फैलाइएको उक्त सामग्री अत्यन्तै संवेदनशील देखिन्छ । सोही कारण हामीले प्रस्तुत सामग्रीको वास्तविकता पत्ता लगाउने जमर्को गरेका छौँ । 

तथ्यजाँच/प्रमाणीकरण

माथि उल्लेखित भिडियो सामग्रीलाई झट्ट हेर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध संसदमै आतंककारी लगायतका शब्द प्रयोग गरिएको देखिन्छ । संसदको रोष्टम घेराउ भइरहेको दृश्य र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध अभिव्यक्त भएका भनाईहरू संसदीय मर्यादा विवरित देखिन्छन् । त्यसैले प्रस्तुत सामग्रीको वास्तविकताबारे प्रश्न उठेको छ ।

जाँचका क्रममा सबैभन्दा पहिले हामीले संसदको रोष्टम घेराउ भइरहेको दृश्यको वास्तविकता पत्ता लगाउने कोशिस गर्‍यौँ । उक्त दृश्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू नारावाजी गरिरहेको अवस्थामा देखिएका छन् । यही दृश्यका आधारमा हामीले ‘राप्रपा’ ‘संसद’ ‘रोष्टम घेराउ’ लगायतका वाक्यांशलाई गुगलमा सर्च गर्‍यौँ ।

सर्चको नतिजास्वरुप annapurnapost संचार माध्यममा प्रकाशित समाचार फेला पर्‍यो । पाँच दिनअघि अर्थात् २७ वैशाख २०८० मा प्रकाशित उक्त समाचार अनुसार प्रतिनिधि सभा बैठक सुरु हुनेबितिकै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसदहरूले रोष्टम घेराउ गरेका थिए । 

राप्रपाका सांसदहरूले बोल्न समय माग गरेकाे र समय नपाएपछि संसद अवरोध गरेको जानकारी उक्त समाचारमा दिइएको छ । समाचारमा भनिएको छ- ‘सभामुख देवराज घिमिरेले प्रीबजेटमा छलफललाई समयमै सक्‍नुपर्ने भएकाले आकस्मिक र विशेष समय नराखिएको जानकारी दिएपछि राप्रपा सांसदहरूले आफूले बोल्न पाउनुपर्ने भन्दै विरोध गरेका हुन् ।’ 

फेला परेको समाचारका आधारमा हामीले ‘राप्रपा संसद रोष्टम घेराउ’ भन्ने वाक्यांशलाई युट्युबमा सर्च गर्‍यौँ । सर्चको नतिजास्वरुप Sunaulo Nepal TV नामक युट्युब च्यानलमा पोस्ट गरिएको संसद अवरोधको भिडियो फेला पर्‍यो । पाँच दिनअघि नै पोस्ट गरिएको उक्त भिडियोमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले संसदको रोष्टम घेराउ गर्दै विरोध जनाइरहेको दृश्य देख्न सकिन्छ । 

पाँच दिनअघि सुनौलो नेपाल टिभी नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो र माथि उल्लेखित दाबीसहितको सामग्रीमा जोडिएको भिडियोमा समानता देखिन्छ । त्यसैले फेला परेको स्रोतबाट दुबै भिडियो एउटै सन्दर्भको तथ्य पुष्टि हुन्छ । तर, दाबीसहितको सामग्रीमा सुन्न सकिने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरोधी अभिव्यक्ति भने फेला भिडियो स्रोतमा सुनिँदैन ।

त्यसैले अब बाँकि रह्यो, दाबीसहितको सामग्रीमा सुन्न सकिने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरोधी अभिव्यक्तिको प्रश्न । उक्त अडियोमा सुनिने आवाज राप्रपाका सांसद ज्ञानेन्द्र शाहीसँग मिल्दोजुल्दो छ । त्यसैले उक्त अडियोको वास्तविक सन्दर्भ पत्ता लगाउन हामीले ‘ज्ञानेन्द्र शाही’ ‘प्रचण्ड देश निकाला’ लगायतका वाक्यांशलाई युट्युबमा सर्च गर्‍यौँ ।  

सर्चको नतिजास्वरुप Hulak Sanchar युट्युब च्यानलमा पोस्ट गरिएको भाषन सहितको एउटा भिडियो सामग्री फेला पर्‍यो । दुई वर्षअघि अर्थात् २७ फेब्रुअरी २०२२ मा पोस्ट गरिएको उक्त भिडियोमा तत्कालीन भ्रष्टाचार विरोधी अभियान्ता ज्ञानेन्द्र शाहीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरोधी अभिव्यक्ति दिएका छन् ।  

फेला परेको तथ्यले केही दिनअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले रोष्टम घेराउ गरेको दृश्यमा दुई वर्ष पुरानो अडियो जोडेर सामाजिक संजालमा फैलाइएको पुष्टि गरेको छ । उक्त अभिव्यक्ति दिइरहेको सन्दर्भमा ज्ञानेन्द्र शाही सांसद पदमा निर्वाचित भइसकेका थिएनन् । उक्त अभिव्यक्ति संसदभित्र नभई एउटा सार्वजनिक समारोहमा दिइएको थियो ।   

निष्कर्ष

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले रोष्टम घेराउ गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘आतंककारी’ भनिएको छैन । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले रोष्टम घेराउ गरेको भिडियोमा दुई वर्ष पुरानो अडियो जोडेर भ्रामक सामग्री उत्पादन गरिएको र सामाजिक संजालमा फैलाइएको पाइयो ।   

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू

Annapurnapost
Sunaulo Nepal TV 
Hulak Sanchar


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected] 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage