दाबी: बझाङ जिल्लामा २६ मिनेटको अन्तरालमा दुईवटा भूकम्पको धक्का महसुस भएको दाबी, तस्बिरसहित ।
तथ्य: राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको विवरणसँग नमिल्दो विवरणलाई टर्की देशसँग सम्बन्धित पुरानो तस्बिरसँग जोडेर सामाजिक संजालमा पोस्ट गरिएको छ ।
पश्चिम नेपाल भूकम्प भएको भन्दै एउटा तस्बिर सामाजिक संजालमा फैलाइएको छ । उक्त तस्बिरसँगै बझाङ जिल्लामा २६ मिनेटको अन्तरालमा दुईवटा भूकम्पको धक्का महसुस भएको दाबी गरिएको छ ।
Saroj.bohara06 नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा एउटा तस्बिर जोडिएको छ । उक्त तस्बिरमा आधुनिक भवनहरु तहसनहस भएको दृश्य देख्न सकिन्छ ।
सोही तस्बिरमा जोडिएको अडियोमा एक व्यक्तिले भनेका छन्- ‘पश्चिम नेपालमा आज २६ मिनेटको अन्तरालमा दुईवटा भूकम्पको धक्का महसुस । बझाङको तलकोटमा २ बजेर ४० मिनेटमा ५ दशमलव ३ म्याग्नेच्युट र ३ बजेर ६ मिनेटमा बझाङकै जयपुर आसपास केन्द्रबिन्दु भएर ६ दशमलव ३ म्याग्नेच्युटको भूकम्प ।’

दाबीसहितको उही सामग्री bikrammahato906 नामक टिकटक आइडीमा पनि पोस्ट गरिएको पाइयो । एक हप्ताअघि मात्रै पोस्ट गरिएको सामग्रीमा ३३ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् ।
त्यस्तै सोही सामग्री urinashrestha0 टिकटक नामक टिकटक आइडीमा पनि पोस्ट गरिएको देखिन्छ । दाबीसहितको यो सामग्रीमा २१ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छ ।
प्रस्तुत तथ्यांकले के प्रष्ट पार्छन् भने आधुनिक भवनहरु तहसनहस भएको तस्बिरसँगै पोस्ट गरिएका दाबीहरु सामाजिक संजालमा व्यापक फैलिएका छन् ।
तथ्यजाँच/प्रमाणीकरण
सबैभन्दा पहिले हामीले आधुनिक भवनहरु तहसनहस भएको तस्बिरलाई जाँच गर्यौँ । तस्बिरलाई गुगल लेन्सको रिभर्स इमेल सर्च गर्दा gettyimages.com मा पोस्ट गरिएको एउटा तस्बिर फेला पर्यो । फेला परेको तस्बिर र दाबीसहितको सामग्रीमा जोडिएको तस्बिरमा समानता देख्न सकिन्छ ।
तर, जाँचका क्रममा फेला परेको तस्बिर नेपालसँग सम्बन्धित छैन । उक्त तस्बिर टर्कीको हाताय प्रान्तको हो । १२ फेब्रुअरी २०२३ मा टर्कीमा विनाशकारी भूकम्प गएको थियो । भूकम्पका कारण टर्कीमा ठूलो जनधनको क्षति भएको थियो ।

Getty Images को वेबसाइटमा दिएको विवरण अनुसार आधुनिक भवनहरु तहसनहस भएको दृश्य देखिने उक्त तस्बिर सेमल युर्टासले खिचेका थिए । सोही तस्बिरलाई नेपालसँग जोड्दै सामाजिक संजालमा फैलाइएको पाइयो ।
अर्कोतर्फ बझाङ जिल्लामा केन्द्रबिन्दु भएर २६ मिनेटको अन्तरालमा दुईवटा भूकम्प भएको दाबीलाई पनि प्रमाणित कुनै तथ्य फेला परेनन् । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको वेबसाइटमा नेपालमा केन्द्रबिन्दु भएका भूकम्पहरुको विवरण राखिएको छ ।
seismonepal.gov.np मा राखिएको विवरण अनुसार दुई हप्ता अगाडि मात्रै बझाङ जिल्लामा केन्द्रबिन्दु भएर दुईवटा भूकम्प गएका थिए । यी दुईवटा भूकम्प गएको समय अन्तर एक दिन देखिन्छ । अर्कोतर्फ दाबीसहितको सामग्रीमा दाबी र राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको मापन नै फरक रहेको पाइयो ।

फेला परेका तथ्यहरुबाट के प्रष्ट हुन्छ भने भूकम्पको गलत विवरणसहित नेपालसँग सम्बन्धित नै नरहेको तस्बिरलाई सामाजिक संजालमा फैलाइएको छ । दाबीसहितको सामग्रीमा दिइएको विवरण गलत छ ।
निष्कर्ष
बझाङ जिल्लामा २६ मिनेटको अन्तरालमा दुईवटा भूकम्प गएको भन्दै पोस्ट गरिएको तस्बिरले भ्रामक सन्देश प्रवाह गरेको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको मापनसँग नमिल्दो विवरणलाई टर्की देशसँग सम्बन्धित पुरानो तस्बिरसँग जोडेर सामाजिक संजालमा फैलाइएको पाइयो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, seismonepal.gov.np
तस्बिर र जानकारी विवरण, gettyimages.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई checkthis@newschecker.in मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।