दाबी: गर्भावस्थामा लिपस्टिक लगाउँदा बच्चालाई सतप्रतिशत अटिजमको समस्या देखिन्छ ।
दाबी: आनुवंशिक कारकले अटिजम समस्या निम्तिन्छ भन्ने धेरै प्रमाणहरु फेला परेका छन् । यो समस्यालाई कुनै पनि विश्वसनीय अनुसन्धानले कस्मेटिक सामग्रीको प्रयोगसँग जोडेको छैन।
अटिजम समस्यासँग सम्बन्धित एउटा सामग्री सामाजिक संजालमा फेला परेको छ । उक्त सामग्रीमा आमाले लिपस्टिकको प्रयोग गर्दा बच्चामा अटिजम निम्तिने दाबी गरिएको छ ।
Prem Kshetri नामक फेसबुक पेजमा पोस्ट गरिएको भिडियोमा एक व्यक्तिले स्वास्थ्य सल्लाह दिइरहेका छन् । उक्त भिडियोको थमनेलमा लेखिएको छ- ‘गर्भावस्थामा लिपस्टिक लगाउँदा बच्चालाई धेरै असर गर्छ, १०० प्रतिशत अटिजम समस्या ।’

के लिपस्टिकमा अटिजम निम्त्याउन सक्ने रसायनहरू हुन्छन् त? दाबीसहितको सामग्रीको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
लिपस्टिक र अन्य कस्मेटिक सामग्रीहरूको प्रयोगले प्रत्यक्षरूपमा अटिजम निम्त्याउन सक्छ भन्ने दाबीलाई प्रमाणित गर्ने कुनै प्रमाण फेला परेनन् ।
लिपस्टिकहरूमा प्याराबेन्स, थ्यालेट्स वा सिसा जस्ता रसायनहरूको ट्रेस मात्रा हुन सक्छ, जसले गर्भावस्थाको समयमा सुरक्षाको बारेमा चिन्ता निम्त्याउँन सक्छ । यद्यपी, यी रसायनहरूले प्रत्यक्ष रूपमा अटिजम निम्त्याउन सक्छन् भन्ने दाबीलाई विज्ञानले समर्थन गर्दैन ।
अटिजम स्पेक्ट्रम डिसअर्डर (एएसडी) मुख्यत: आनुवंशिक कारकहरूसँग जोडिएको छ । केही वातावरणीय कारकहरूलेसमेत बालबालिकामा अटिजम देखिनसक्छ । तर, लिपस्टिकलाई कहिल्यै अटिजमको कारकको रूपमा पहिचान गरिएको छैन ।
नियामक निकायहरूले सौन्दर्य प्रसाधनका लागि कडा सुरक्षा मापदण्डहरू तोकेका छन् । खाद्य तथा औषधि प्रशासन (एफडीए) र युरोपेली औषधि एजेन्सी (इएमए) लगायतका नियामक निकायहरूले बनाएको मापदण्डभित्र रहेर सौन्दर्य सामग्रीको उत्पादन गरिन्छ । लिपस्टिकले भ्रूणको मस्तिष्क विकासमा कुनै हानिकारक प्रभाव पार्नसक्छ भनेर प्रमाणित भएको छैन ।
अटिजम धेरै हदसम्म आनुवंशिक हुन्छ, लिपस्टिक वा सौन्दर्य प्रसाधनको कारणले यस्तो समस्या देखिँदैन । वातावरणीय प्रभावहरूले पनि अटिजम समस्या देखिन सक्छ । तर यसको पूर्ण अध्ययन जारी छ :
आमाबाबुको उमेर: वृद्ध आमाबाबुको बच्चालाई अटिजमको जोखिम अलि बढी हुन सक्छ ।
गम्भीर संक्रमण: गर्भावस्थाको समयमा हुने गम्भीर संक्रमणले जोखिम बढाउन सक्छ ।
गर्भावस्थाका जटिलता: कम तौल वा जन्मको समयमा अक्सिजनको अभावले पनि समस्या निम्त्याउन सक्छ ।
यद्यपी, गर्भावस्थाको समयमा लिपस्टिकको प्रयोगलाई अटिजमसँग जोड्ने कुनै विश्वसनीय वैज्ञानिक प्रमाण छैन। यदि यो दाबी सत्य भएको भए, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) जस्ता प्रमुख चिकित्सा संस्थाहरूले यसलाई चिन्ताको रूपमा औँल्याउने थिए । तर यी संस्थाहरुले त्यस्तो गरेका छैनन् ।
गर्भवती महिलाहरूले सुरक्षित रूपमा लिपस्टिक प्रयोग गर्न सक्छन् । निराधार मिथकहरूमा पर्नुको सट्टा, गर्भवती आमाहरूले गर्भावस्थामा वास्तविक स्वास्थ्य समस्यामा ध्यान दिनुपर्छ । यदि केही शंका उत्पन्न भएको छ भने अनलाइन फैलिएका गलत जानकारीमा भरपर्नुको सट्टा सधैँ योग्य चिकित्सा पेशेवरसँग परामर्श गर्नुपर्छ ।
निष्कर्ष
गर्भावस्थामा लिपस्टिक लगाउनाले अटिजमको समस्या देखिन्छ भन्ने दाबीलाई कुनैपनि वैज्ञानिक प्रमाणले पुष्टि गर्दैन । आनुवंशिक कारकले अटिजम समस्या निम्तिन्छ भन्ने धेरै प्रमाणहरु फेला परेका छन् । यो समस्यालाई कुनै पनि विश्वसनीय अनुसन्धानले कस्मेटिक सामग्रीको प्रयोगसँग जोडेको छैन।
नतिजा : गलत
हाम्रा स्रोतहरू
रिसर्च जर्नल, scirp.org/journal
रिसर्च लेख, pmc.ncbi.nlm.nih.gov
(This article is published in collaboration with THIP Media)
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई [email protected] मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।