Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check

    दाबी: राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले निराश हुँदै आँशु झारेको र ‘सन्दीप भएको भए यसरी रुनु पर्ने थिएन’ भन्ने अभिव्यक्ति दिएको दाबी । 
    दाबी: टी-ट्वान्टी त्रिकोणात्मक क्रिकेट सिरिज सुरु भएको सन्दर्भमा पोस्ट गरिएको भिडियो सन्देशलाई गलत दाबी जोडेर सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलसँग सम्बन्धित भिडियो सामग्री सामाजिक संजालमा फेला परेको छ । उक्त भिडियोमा नेदरल्यान्ड्ससँग पराजित भएपछि राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले निराश हुँदै आँशु झारेको र ‘सन्दीप भएको भए यसरी रुनु पर्ने थिएन’ भन्ने अभिव्यक्ति दिएको दाबी गरिएको छ ।
CR7★SUNIL नामक टिकटक आइडीमा पोस्ट गरिएको दाबीसहितको भिडियोमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल बोलिरहेको दृश्य जोडिएको छ । भिडियोमा कप्तान पौडेलको आवाज त सुन्न सकिएको छैन तर भिडियोको थमनेलमा ‘सन्दीप भएको भए यसरी रुनु पर्ने थिएन’ भन्ने अभिव्यक्ति पौडेल दिएको दाबी गरिएको छ ।
भिडियोको थमनेलमा लेखिएको छ- ‘नेदरल्यान्डस्सँग हारेपछि निराश हुँदै झारे कप्तालने आँसु । खेगाडी बिनाको कप्तान म, खेल कसरी जिताउँ, सन्दीप भएको भए यसरी रुनु पर्ने थिएन । भारत र पाकिस्तानजस्ता देशलाई चुनैती दिने हामी आज सन्दीप नभएर नेदरल्यान्डसँग डराउनुपर्ने भएको छ ।’

एक दिनअघि पोस्ट गरिएको दाबीसहितको भिडियोमा करिब एक हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै यही अवधिमा भिडियोमा करिब ३० टिकटक प्रयोगकर्ताले प्रतिक्रिया दिइसकेका छन् । आगामी दिनमा दाबीसहितको उक्त भिडियोको फैलावट अझैँ बढ्ने देखिन्छ । सोही कारण हामीले प्रस्तुत दृश्य र दाबीको तथ्यजाँच गरेका छौँ ।
सन्दीप लामिछानेसँग जोडिएको दाबीको वास्तविकता के हो त ? दाबीबारे जाँच सुरु गर्नुपूर्व सन्दीप लामिछानेसँग सम्बन्धित विषय बुझ्न आवश्यक छ ।
क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको मुद्दामा जिल्ला अदालत काठमाडौंले यसअघि नै दोषी ठहर गरिसकेको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालको इजलासले २०८० पुसमा उनलाई गौशाला २६ पीडितको फाइदा उठाएर बलात्कार गरेको ठहर गरेको हो ।
यही सन्दर्भ नेदरल्यान्ड्ससँगको खेल हारेपछि राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले निराश हुँदै आँशु झारेको र ‘सन्दीप भएको भए यसरी रुनु पर्ने थिएन’ भन्ने अभिव्यक्ति दिएको दाबी सामाजिक संजालमा फेला परेको छ । दाबीसहितको भिडियोमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल बोलिरहेको एउटा दृश्य जोडिएको छ ।
जाँचका क्रममा हामीले सोही भिडियोको वास्तविक सन्दर्भ पत्ता लगाउने कोशिस गर्यौँ । जसका लागि ‘Captain Rohit Paudel’ लगायतका अनेक वाक्यांशलाई युट्युब सर्च गर्न थाल्यौँ । केही समयको जाँचपछि Cricket Association of Nepal (CAN) युट्युब च्यानलमा पोस्ट गरिएको एउटा भिडियो फेला पर्यो । यो भिडियो दाबीसहितको सामग्रीमा जोडिएको दृश्यसँग दुरुस्तै मिलेको छ ।
२७ फेब्रुअरी २०२४ मा पोस्ट गरिएको प्रस्तुत भिडियोमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र प्रशिक्षक मोन्टी देशाईले एउटा सन्देश जारी गरेका छन् । उनले भिडियोमा विश्वकप क्रिकेट लिग-२ मा सोचेजस्तो परिणाम नआए पनि टिम एकदमै सकारात्मक रहेको सन्देश दिएका छन् ।
राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आगामी खेलमा आफूहरूले सक्दो कोसिस गरेर टिमलाई जित दिलाउन भरपूर कोसिस गरेर सबैलाई गौरवान्वित बनाउने प्रतिबद्धतासमेत जनाएका छन् । अर्कोतर्फ उनले भिडियो सन्देशमा सन्दीप लामिछानेसँग जोडिएको कुनैपनि सन्दर्भ उल्लेख गरेका छैनन् ।
प्रस्तुत भिडियो सन्देश जारी भएकै दिन (फागुन १५, २०८०) टी-ट्वान्टी त्रिकोणात्मक क्रिकेट सिरिज सुरु भएको थियो । फाल्गुन (२०८०) २२ गते नेपालस्थित टीयू मैदानमा सम्पन्न अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखला अन्तर्गतको अन्तिम खेलमा नेदरल्यान्ड्सले नेपाललाई पराजित गरेको थियो ।
नेपाललाई नेदरल्यान्ड्सले पराजित गरेको सन्दर्भमा दाबीसहित पोस्ट गरिएको भिडियो भने फरक सन्दर्भको हो । टी-ट्वान्टी त्रिकोणात्मक क्रिकेट सिरिज सुरु भएको दिन युट्युबमा पोस्ट गरिएको भिडियोलाई प्रतियोगिता सकिएको भोलिपल्ट पोस्ट गरिएको देखिन्छ ।
नेदरल्यान्ड्ससँग पराजित भएपछि राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले निराश हुँदै आँशु झारेको र ‘सन्दीप भएको भए यसरी रुनु पर्ने थिएन’ भन्ने अभिव्यक्ति दिएको दाबी गलत छ । टी-ट्वान्टी त्रिकोणात्मक क्रिकेट सिरिज सुरु भएको सन्दर्भमा पोस्ट गरिएको भिडियो नेपाललाई नेदरल्यान्ड्सले पराजित गर्नुअघि नै पोस्ट गरिएको हो । फरक सन्दर्भको भिडियोमा गलत दाबी जोडेर सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।
     सामाचार, ekantipur.com 
     समाचार, ukeraa.com  
     समाचार, setopati.com 
     भिडियो, Cricket Association of Nepal (CAN)
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]

Aakash Chhetri
June 3, 2024

Aakash Chhetri
May 3, 2024

Aakash Chhetri
November 10, 2022