Wednesday, May 14, 2025

Fact Check

Fact Check: फरक सन्दर्भको भिडियोलाई ‘हिन्दूवादी प्रदर्शन’ रोक्ने ‘दस्ता’ भन्दै भ्रामक सन्देश फैलाइयो

Written By Aakash Chhetri
Aug 28, 2023
banner_image

Claim

image

Fact

image

दाबी: धरानमा आयोजित ‘हिन्दूवादीहरुको प्रदर्शनलाई प्रतिरोध गर्न पहिचानवादी युवाहरु’ तयार रहेको दाबी 
तथ्य: एक महिनाअघि ‘कोशी प्रदेश’ नामकरणको विरोधका लागि तयार पारिएको ‘पहिचानका लागि युवा’ दस्ता र ताप्लेजुङमा खिचिएको भिडियोलाई फरक सन्दर्भको घटनामा जोडिएको छ । 

सामाजिक संजालमा एउटा भिडियो सामग्री फेला परेको छ । उक्त भिडियोमा देखिएका युवाहरुले निधारमा कालोपट्टी बाधेका छन् र उनीहरु पंक्तिवद्ध भएर उभिएका छन् । साथै धरानमा आयोजित ‘हिन्दूवादीहरुको प्रदर्शनलाई प्रतिरोध गर्न पहिचानवादी युवाहरु’ तयार रहेको दाबी गरिएको छ ।

Ramraiofficial नामक टिकटक आइडीमा पोस्ट गरिएको दाबीसहितको भिडियोमा युवाहरु हातमा लाठी बोकेर उभिएका छन् । साथै भिडियोको थमनेलमा लेखिएको छ- ‘धरानमा आज हुने भनिएको धार्मिक तथा जातीय सद्भाव बिथोल्ने हिन्दूवादीहरुको प्रदर्शनलाई प्रतिरोध गर्न तयार पहिचानको लागि युवा दस्ता । धर्म निरपेक्ष राष्ट्र नेपाल, जिन्दावाद । धार्मिक तथा जातीय सद्भाव र सहिष्णुता कायम गर ।’  

एक दिनअघि पोस्ट गरिएको दाबीसहितको भिडियोमा करिब १९ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् ।

त्यस्तै दुई हजारभन्दा बढी प्रतिक्रिया आइसकेको दाबीसहितको सामग्रीलाई करिब सात सय टिकटक प्रयोगकर्ताले सेयर गरिसकेको देखिन्छ । यसबाट के प्रष्ट हुन्छ भने पोस्ट भएको छोटो समयमै द्रुत गतिमा फैलिएको दाबीसहितको सामग्री आगामी दिनमा झनै व्यापक फैलिन सक्छ ।

वर्तमान संवेदनशील अवस्थामा पोस्ट गरिएको दाबीसहितको सामग्रीले धार्मिक तथा जातीय सद्भावमा असर गर्नसक्ने देखिन्छ । त्यस्तैले हामीले प्रस्तुत भिडियोको वास्तविकता पत्ता लगाउने कोशिस गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

धार्मिक/साम्प्रदायिक तथा जनस्वास्थ्य संकटकाल र शान्तिसुरक्षा संवेदनशीलताका कारण धरान शहरमा जिल्ला प्रशासन कार्यालय सुनसरीले भाद्र ८ (२०८०) रातिदेखि २४ घण्टाका लागि निषेधाज्ञा जारी गर्‍यो ।

निषेधाज्ञा सुरु भएको भोलिपल्ट अर्थात् भाद्र ९ गते हिन्दू समर्थकले विभिन्न कारण (गोरु काटेर खाएको, मन्दिर अगाडि चर्च) विरोध प्रदर्शन आह्वान गरेका थिए । मौजुदा परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । 

सोही सन्दर्भमा धरानमा आयोजित ‘हिन्दूवादीहरुको प्रदर्शनलाई प्रतिरोध गर्न पहिचानवादी युवाहरु’ तयार रहेको दाबी गर्दै सामाजिक संजालमा भिडियो सामग्री पोस्ट गरियो । उक्त भिडियोमा युवाहरुले निधारमा कालोपट्टी बाधेका छन् र उनीहरु लाठीसहित पंक्तिवद्ध भएर उभिएकाे देखिन्छन् ।

प्रस्तुत भिडियोमा देखिएका युवाहरु धरानमा हिन्दू समर्थकले आयोजना गरेको विरोध प्रदर्शनलाई ‘प्रतिरोध’ तयार भएका हुन् ? उक्त भिडियोको मूल सन्दर्भ के हो ? भन्ने विषयमा केन्द्रीत भएर हामीले यो तथ्यजाँच गरेका छौँ ।

जाँचका क्रममा हामीले सबैभन्दा पहिले ‘युवा दस्ता’ ‘कोशी प्रदेश’ ‘पहिचानका लागि युवा’ लागायतका वाक्यांशलाई गुगलमा सर्च गर्‍यौँ । सर्चको नतिजास्वरुप onlinekhabar मा प्रकाशित एउटा समाचार फेला पर्‍यो ।

एक महिनाअघि अर्थात् साउन ७ (२०८०)मा प्रकाशित उक्त समाचारमा प्रदेशको नाम कोशी राखिएको प्रति असन्तुष्ट संघ–संस्था एवं राजनीतिक दलहरूले संयुक्त युवा दस्ता बनाइरहेको जानकारी दिइएको छ ।

सोही समाचारको एउटा अंशमा यस्तो लेखिएको छ- ‘गत २१ असारमा ताप्लेजुङमा संयुक्त दस्ता घोषणा अगाडि मार्चपास गरेका थिए । मार्चपासमा सहभागीहरूले हातमा लाठी बोकेका थिए । त्यहाँ नवीन पोमुको संयोजकत्वमा ५०१ सदस्यीय संयुक्त जिल्ला दस्ता घोषणा भएको छ । त्यसअघि राजधानी उपत्यकामा २०१, ओखलढुंगामा १०१, तेह्रथुममा २०१ सदस्यीय दस्ता बनाइएको छ ।’

दस्ताबारे जानकारी दिँदै किरात गणराज्य मोर्चाका उपत्यका संयोजक खुक्सङ खम्बुले समाचारमा भनेका छन्- ‘यो दस्ताको उद्देश्य सशस्त्र आन्दोलन होइन । तर आन्दोलन मर्यादित बनाउन आवश्यक छ’ खम्बु भन्छन्, ‘हामीले बनाएको दस्तालाई अहिले त्यही तरिकाले प्रशिक्षण दिइरहेका छौं ।

समाचारमा दिइएको जानकारीकै आधारमा हामीले ‘पहिचानका लागि युवा’ ‘ताप्लेजुङ’ लगायतका वाक्यांश गुगलमा सर्च गर्‍यौँ । सर्चको नतिजास्वरुप ChulaChuli Media नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पर्‍यो । उक्त भिडियो एक महिनाअघि अर्थात् ७ जुलाई २०२३ मा पोस्ट गरिएको देखिन्छ ।  

https://www.youtube.com/watch?v=p-6EmBMt82c&t=126s

प्रस्तुत तथ्यबाट के प्रष्ट हुन्छ भने ‘पहिचानका लागि युवा’ दस्ता धरान घटनाका लागि तयार पारिएको होइन । यो दस्ताको दृश्य धरानमा निषेधाज्ञा हुनुभन्दा एक महिना अगाडि नै खिचिएको थियो । २०७९ फाल्गुण १७ गते दुई तत्कालीन प्रदेश १ लाई तिहाई बहुमतका साथ सरकारले ‘कोशी प्रदेश’ नामकरण गरेको थियो । प्रदेशको नामाकरणसँगै पहिचानवादीहरू आन्दोलित बनेका थिए । 

प्रदेशको नाम ‘कोशी’ खारेज गरेर पुनः नामकरण गर्नुपर्ने भन्दै संयुक्त संघर्ष समिति नै बनेको थियो । यही क्रममा ‘पहिचानका लागि युवा’ गठन गर्न सुरु गरिएको थियो । यही बेला ताप्लेजुङमा खिचिएको भिडियोलाई धरान घटनासँग जोड्दै सामाजिक संजालमा फैलाइएको देखिन्छ । 

निष्कर्ष

धरानमा आयोजित ‘हिन्दूवादीहरुको प्रदर्शनलाई प्रतिरोध गर्न पहिचानवादी युवाहरु’ तयार रहेको दाबी गरिएको सामग्री भ्रामक छ । एक महिनाअघि ‘कोशी प्रदेश’ नामकरणको विरोधका लागि तयार पारिएको ‘पहिचानका लागि युवा’ दस्ता र ताप्लेजुङमा खिचिएको भिडियोलाई फरक सन्दर्भको घटनामा जोडेर सामाजिक संजालमा फैलाइएको पाइयो ।    

नतिजा : भ्रामक  

हाम्रा स्रोतहरू

Ekantipur
Onlinekhabar
Annapurnapost
ChulaChuli Media


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected] 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage