Fact Check
Fact Check: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग जोडिएको दाबी सामाजिक संजालमा भाइरल, पढ्नुहोस् वास्तविकता

दाबी: अवैध आप्रवासीलाई अमेरिकाबाट सामूहिक निष्कासन गर्न ट्रम्प दृढ र रहेको र २०१६ पछि डीभी परेर अमेरिका बस्दै आएका सबै नेपाली फिर्ता हुने दाबी ।
तथ्य: ट्रम्पले अवैध आप्रवासीलाई सामूहिक निष्कासन गर्ने चुनावी वाचालाई कार्यान्वयन गर्ने बताएका छन् तर डीभी परेर अमेरिका बस्दै आएका सबै नेपाली फिर्ता हुने दाबीलाई प्रमाणित गर्ने कुनैपनि तथ्य सामग्री फेला परेनन् ।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर जोडिएको एउटा सामग्री सामाजिक संजालमा फैलिरहेको छ । उक्त सामग्रीमा अवैध आप्रवासीलाई अमेरिकाबाट सामूहिक निष्कासन गर्न ट्रम्प दृढ र रहेको र २०१६ पछि डीभी परेर अमेरिका बस्दै आएका सबै नेपाली फिर्ता हुने दाबी गरिएको छ ।
Deepaknepal25 नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर जोडिएको छ । उक्त तस्बिरको थमनेलमा लेखिएको छ- ‘नेपालीहरुका लागि दु:खद् खबर, अहिले डीभी भरेका र २०१६ पछि डीभी परी अमेरिका बस्दै आएका सबै नेपाली फिर्ता हुने भएका छन् । अमेरिकाबाट १ करोड १० लाख अवैध आप्रवासीलाई सामुहिक निस्कासन गर्ने ट्रम्पको दृढता ।’
त्यसैगरी भिडियोमा एउटा समाचार शैलीको आजाव पनि सुन्न सकिन्छ । उक्त आवाजमा भनिएको छ- ‘अमेरिकाबाट एक करोड १० लाख अवैध आप्रवासीलाई सामूहिक निष्कासन गरेरै छाड्ने ट्रम्पको दृढता / आप्रवासी निकाल्न सवा खर्ब डलर खर्च लाग्ने अनुमान ।’

दाबीसहितको सामग्रीलाई २५ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै ८ सयभन्दा बढी प्रतिक्रिया आएको सामग्रीलाई करिब ५ हजार बन्दा बढी पटक सेयर गरिएको छ । यस तथ्यांकले दाबीसहितको सामग्री द्रुत गतिमा फैलिरहेको प्रष्ट छ ।
के २०१६ पछि डीभी परी अमेरिका बस्दै आएका सबै नेपाली फिर्ता हुने भएका हुन् त? दाबीको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
डोनाल्ड ट्रम्पको तस्बिर जोडिएको सामग्रीमा फरक-फरक दाबी जोडिएको छ । उक्त भिडियोमा एउटा अडियो पनि जोडिएको छ, जसमा ट्रम्पको अमेरिकाबाट एक करोड १० लाख अवैध आप्रवासीलाई सामूहिक निष्कासन गरेरै छाड्ने दृढता देखाएको दाबी गरिएको छ । अर्कोतर्फ २०१६ पछि डीभी परेर अमेरिका बस्दै आएका सबै नेपाली फिर्ता हुने दाबीसमेत गरिएको छ ।
जाँचका क्रममा सबैभन्दा पहिले हामीले प्रस्तुत दाबीलाई एक-एक गर्दै गुगलमा सर्च गर्यौँ । जाँचको नतिजास्वरुप कान्तिपुर टीभीमा प्रकाशित एउटा समाचार बुलेटिन फेला पर्यो । २३ कार्तिक २०८१ मा प्रकाशित उक्त बुलेटिनमा ट्रम्पले अमेरिकाबाट एक करोड १० लाख अवैध आप्रवासीलाई सामूहिक निष्कासन गरेरै छाड्ने दृढता देखाएको जानकारीसमेत उल्लेख छ ।
सोही समाचारसहितको भिडियो बुलेटिन Kantipur TV HD युट्युब च्यानलमा पोस्ट गरिएको छ । उक्त बुलेटिनको एउटा अडियो अंशलाई दाबीसहितको सामग्रीमा जोडिएको पाइयो ।
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएसँगै डोनाल्ड ट्रम्पले अवैध आप्रवासीलाई सामूहिक निष्कासन गर्ने चुनावी वाचालाई कार्यान्वयन गर्ने बताएका थिए । आप्रवासीलाई निस्कासन गर्ने अभियानमा खर्चको कुनै प्रवाह नगर्नेसमेत उनले प्रष्ट पारेका हुन् ।
राष्ट्रपतिमा निर्वाचित भएसँगै NBC News लाई ट्रम्पले अन्तर्वार्ता दिएका थिए । ८ नोभेम्बर २०२४ मा प्रकाशित NBC News को समाचारमा लेखिएको छ- ‘एनबीसी न्यूजसँगको एक विशेष अन्तर्वार्तामा ट्रम्पले खर्चको पर्वाह नगरी अमेरिकी इतिहासमा अवैध आप्रवासीहरूको सबैभन्दा ठूलो संख्या निर्वासन गर्ने आफ्नो अभियान र वाचाको बारेमा कुरा गरे ।’

त्यस्तै दाबीसहितको सामग्रीमा २०१६ पछि डीभी परेर अमेरिका बस्दै आएका सबै नेपाली फिर्ता हुने बताइएको छ । तर, यो दाबीलाई प्रमाणित गर्ने कुनै तथ्य-प्रमाण फेला परेनन् ।
डाइभर्सिटी भिसा अमेरिकाले संचालन गरेको एउटा कार्यक्रम हो । डाइभर्सिटी भिसा चिट्ठा अन्तर्गतअमेरिकाले हरेक वर्ष विभिन्न देशका नागरिकलाई वैध रुपमा आफ्नो मुलुकमा भित्र्याउने गर्छ । हरेक वर्ष नेपालीसहित विश्वका विभिन्न मुलुकका नागरिक डाइभर्सिटी भिसामार्फत् अमेरिका पुग्ने गरेका छन् ।
अमेरिकाले डीभी चिठ्ठालाई बन्द गरिसकेको छैन । अर्कोतर्फ पछिल्लो डीभी चिठ्ठाको लागि नेपालमा दर्ता खुलिसकेको छ । यही सन्दर्भमा २०१६ पछि डीभी परेर अमेरिका बस्दै आएका सबै नेपाली फिर्ता हुने भन्ने दाबी भ्रामक छ ।
निष्कर्ष
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग जोड्दै सामाजिक संजालमा फैलाइएको सामग्री आशिंक रुपमा गलत छ । ट्रम्पले अवैध आप्रवासीलाई सामूहिक निष्कासन गर्ने चुनावी वाचालाई कार्यान्वयन गर्ने बताएका छन् तर डीभी परेर अमेरिका बस्दै आएका सबै नेपाली फिर्ता हुने दाबीलाई प्रमाणित गर्ने कुनैपनि तथ्य सामग्री फेला परेनन् ।
नतिजा : आंशिक गलत
हाम्रा स्रोतहरू
समाचार, NBC News
भिडियो, Kantipur TV HD
समाचार, kantipurtv.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई [email protected] मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।