Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check

दाबी: अमेरिकी राष्ट्रपतिमा विजयी भएपछि डोनाल्ड ट्रम्प नेपाली गीतमा नाचेको दाबी ।
तथ्य: चुनावी प्रचारका क्रममा ट्रम्पले प्रतिष्ठित ‘YMCA’ गीतमा नृत्य देखाएका थिए, सोही क्रममा खिचिएका पुराना दृश्यहरुलाई नेपाली गीतसँग जोड्दै पोस्ट गरिएको छ ।
अमेरिकाको राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएका छन् । डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई पराजित गर्दै ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपति निर्वाचित भएका हुन् ।
डोनाल्ड ट्रम्प विजयी भएकै सन्दर्भमा नेपाली गीतसँग सम्बन्धित एउटा भिडियो सामाजिक संजालमा पोस्ट गरिएको छ । उक्त भिडियोमा विजयी भएपछि ट्रम्प नेपाली गीतमा नाचेको दाबी गरिएको छ ।
Rabi Kiran Regmi नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा डोनाल्ड ट्रम्प नाचेको दृश्य देख्न सकिन्छ । साथै उक्त भिडियोमा ‘म त ढलेँ ढलेँ’ गीतको अंश पनि जोडिएको छ । प्रस्तुत भिडियोको थमनेलमा लेखिएको छ- ‘चुनाव जितेपछि नेपाली गीतमा नाँच्दै ट्रम्प’ ।
६ नोभेम्बर २०२४ मा पोस्ट गरिएको भिडियोमा २५ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । करिब पाँच सय प्रतिक्रिया आएको भिडियो २ हजारभन्दा बढी पटक सेयर भइसकेको छ ।

त्यसैगरी सोही दाबीसहितको सामग्री Iron curtain नामक टिकटक आइडीमा पनि पोस्ट गरिएको देखिन्छ । ट्रम्प नाचेको भिडियोको थमनेलमा लेखिएको छ- ‘राष्ट्रपतिकोे चुनाव जितेपछि ट्रम्प नेपाली गीतमा मस्कीमस्की नाँच्दै ।’ प्रस्तुत दाबीसहितको सामग्री टिकटक प्रयोगकर्ताम द्रुत गतिमा फैलिरहेको छ ।
के अमेरिकाको राष्ट्रपतिमा विजयी भएका डोनाल्ड ट्रम्पले नेपाली गीतमा नाचेका हुन् त? भिडियोको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
डोनाल्ड ट्रम्प नाचेको भिडियोको जाँचका क्रममा हामीले सबैभन्दा पहिले ‘Donald Trump Dance’ लगायतका वाक्यांशहरुलाई युट्युबमा सर्च गर्यौँ । जाँचको नतिजास्वरुप NBC News मा पोस्ट गरिएको भिडियो फेला पर्यो । २२ अक्टोबर २०२० मा पोस्ट गरिएको उक्त भिडियोमा ट्रम्प विभिन्न नाचेका दृश्यहरु जोडिएको छ ।

भिडियोमा दिइएको जानकारी अनुसार अमेरिकी राष्ट्रपतीय निर्वाचन २०२० को प्रचारका क्रममा ट्रम्पले प्रतिष्ठित ‘YMCA’ गीतमा नृत्य देखाएका थिए । यही भिडियोका केही दृश्य र दाबीसहितको भिडियोमा जोडिएका दृश्यबीच समानता देख्न सकिन्छ ।
त्यस्तै दाबीसहितको सामग्रीमा जोडिएको अर्को दृश्य पनि २०२० को निर्वाचनमा खिचिएको पाइयो । ट्रम्प नाचेको भिडियोलाई विभिन्न वेबसाइट तथा सामाजिक संजालमा पोस्ट गरिएको देखिन्छ ।
tenor.com नामक वेबसाइटमा ट्रम्प नाचेको भिडियो Graphics Interchange Format मा पोस्ट गरिएको छ । २०२१ मा पोस्ट गरिएको उक्त भिडियो र दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको भिडियो उस्तै देखिएका छन् ।
त्यस्तै The Sun युट्युब च्यानलमा पोस्ट गरिएको भिडियोमा पनि ट्रम्प चानेका थुप्रै दृश्य जोडिएको छ । ३ नोभेम्बर २०२० मा पोस्ट गरिएको उक्त भिडियोको थमनेलमा देखिने तस्बिर र दाबीसहितको सामग्रीमा जोडिएको दृश्यमा समानता देख्न सकिन्छ ।
त्यसैगरी ट्रम्प नाचेको अन्य भिडियोको जाँचका क्रममा हामीले गुगल लेन्समा रिभर्स इमेज सर्च गर्यौँ । जाँचको नतिजास्वरुप दाबीसहितको भिडियोसँग मिल्दो दृश्य TRABAR FOREX GOLD लगायतका युट्युब च्यानलमा पोस्ट गरिएको पाइयो । फेला परेको भिडियोमा ट्रम्प नाचेका क्लिपहरु जोडिएको छ । तर, यी दृश्यमा फरक किसिमको संगित जोडिएको छ ।
जाँचकै क्रममा Dan Scavino Jr एक्स ह्यान्डलमा पोस्ट गरिएका भिडियोहरु फेला परे । यहाँ पोस्ट गरिएका भिडियोका केही दृश्य र दाबीसहितको सामग्रीमा जोडिएका दृश्यबीच समानता देख्न सकिन्छ । फेला परेका तथ्यहरुबाट के प्रष्ट हुन्छ भने डोनाल्ड ट्रम्प नेपाली गीतमा नाचेका छैनन् । भिडियो-१, भिडियो-२ ।

अमेरिकाको राष्ट्रपतिमा दोस्रोपटक विजयी भएका डोनाल्ड ट्रम्पले नेपाली गीतमा नाचेको दाबी भ्रामक छ । चुनावी प्रचारका क्रममा ट्रम्पले प्रतिष्ठित ‘YMCA’ गीतमा नृत्य देखाएका थिए, सोही क्रममा खिचिएका पुराना दृश्यहरुलाई दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको पाइयो । ट्रम्प ‘म त ढलेँ ढलेँ’ बोलको गीतमा नाचेको दाबीलाई पुष्टि गर्ने कुनैपनि तथ्य फेला परेनन् ।
भिडियो, NBC News
भिडियो, The Sun
भिडियो, Dan Scavino Jr
भिडियो, TRABAR FOREX GOLD
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई [email protected] मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।