Fact Check
Fact Check: के रवि लामिछानेलाई भेट्न डोनाल्ड ट्रम्प नेपाल आउन लागेका हुन्?

दाबी: रवि लामिछानेलाई हिरासतमै भेट्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेपाल आउन लागेको दाबी ।
तथ्य: अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आएकै बेला विभिन्न व्यक्तिहरुका तस्बिर र संचार माध्यममा पोस्ट गरिएका थमनेल जोडेर गलत दाबी उत्पादन गरिएको छ ।
नेपालसँग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जोड्दै एउटा भिडियो सामाजिक संजालमा पोस्ट गरिएको छ । उक्त भिडियोमा रवि लामिछानेलाई हिरासतमै भेट्न अमेरिकी राष्ट्रपति ट्रम्प नेपाल आउन लागेको दाबी गरिएको छ ।
breaking news Nepal नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री रवि लामिछाने लगायतका व्यक्तिहरुको तस्बिर जोडिएको छ ।
प्रस्तुत सामग्रीको थमनेलमा लेखिएको छ- ‘रवि लामिछानेलाई भेट्न अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प नेपाल आउँदै, केपी ओलीलाई दिए दबाब, रवि लामिछानेको चाँडै फैसला गर ।’ भिडियोसँगै जोडिएको अडियोमापनि सोही दाबी गरिएको छ ।
८ डिसेम्बर २०२४ मा पोस्ट गरिएको दाबीसहितको भिडियोमा करिब ३३ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । १२ सयभन्दा बढी प्रतिक्रिया आएको उक्त सामग्री १७ सयभन्दा बढी पटक सेयर भइसकेको देखिन्छ ।

के रवि लामिछानेलाई भेट्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेपाल आउन लागेका हुन् त? दाबीसहित पोस्ट गरिएको सामग्रीको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
२ कात्तिक २०८१ मा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछाने प्रहरी हिरासतमा छन् । रवि लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा प्रहरी हिरासतमा अनुसन्धान भइरहेको छ । अनुसन्धानका लागि लामिछानेलाई विभिन्न जिल्ला पुर्याइँदैछ ।
अर्कोतर्फ अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आएका छन् । उनी विभिन्न एशियाली मुलुक हुँदै २३ मंसिर २०८१ मा नेपाल आइपुगेका छन् । यहाँ डोनाल्डले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल लगायतसँग भेटवार्ता गरेको समाचार संचार माध्यममा प्रकाशित भएका छन् ।
यही सन्दर्भमा रवि लामिछानेलाई भेट्न अमेरिकी राष्ट्रपति ट्रम्प नेपाल आउन लागेको दाबी सामाजिक संजालमा फैलाइएको छ । यस दाबीको विषयमा बुझ्न हामीले नेपालको परराष्ट्र मन्त्रालयमा सम्पर्क गर्यौँ । मन्त्रालयका सहायक प्रवक्ता सुभाङ्ग पराजुलीले सामाजिक संजालमा फैलाइएको दाबी गलत रहेको बताए । उनका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेपाल भ्रमण तत्काल हुनेबारे कुनै तयारी छैन ।
दाबीसहितको सामग्रीलाई थप जाँच गर्दा केही संचार माध्यमले पोस्ट गरेका भिडियो रिपोर्टका थमनेललाई बिना सन्दर्भ प्रयोग गरिएको पाइयो । Prime Times HD मा पोस्ट गरिएको भिडियो रिपोर्टको थमनेल पनि दाबीसहितको सामग्रीमा जोडिएको छ ।
३ डिसेम्बर २०२४ मा पोस्ट गरिएको भिडियो रिपोर्टमा नेपालको चीन र अमेरिका सम्बन्धबारे टिप्पणी गरिएको छ । साथै रिपोर्टको शिर्षकमा प्रधानमन्त्री केपी ओली चीन भ्रमणबाट फर्किएलगत्तै अमेरिकी विदेशमन्त्री डोनाल्ड लु नेपाल आउन लागेको जानकारीसमेत दिइएको छ ।

तर, यो भिडियोमा रवि लामिछानेलाई भेट्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेपाल आउन लागेका जानकारी छैन । सोही भिडियो रिपोर्टमा राखिएको थमनेल तस्बिरलाई दाबीसहितको सामग्रीमा जोडिएको पाइयो । फेला परेका तथ्यहरुबाट के प्रष्ट हुन्छ भने फरक सन्दर्भका तस्बिर र सामग्रीलाई जोडेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेपाल आउन लागेको दाबी गरिएको छ ।
निष्कर्ष
रवि लामिछानेलाई हिरासतमै भेट्न अमेरिकी राष्ट्रपति ट्रम्प नेपाल आउन लागेको दाबी गलत छ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आएकै बेला दाबीसहितको सामग्री सामाजिक संजालमा पोस्ट गरिएको हो । विभिन्न व्यक्तिहरुका तस्बिर र संचार माध्यममा पोस्ट गरिएका थमनेल जोडेर गलत दाबी उत्पादन गरिएको पाइयो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
समाचार, kantipurtv.com
भिडियो थमनेल, Prime Times HD
परराष्ट्र मन्त्रालय, mofa.gov.np
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई [email protected] मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।