काठमाडौँमा भूकम्प गएको दाबीसहित सामाजिक संजालमा एउटा सामग्री फैलाइएको छ । भयान काठमाडौँमा फेरि भूकम्प गएको दाबी उक्त सामग्रीमा देख्न सकिन्छ ।
Lalbabu नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त सामग्रीमा भूकम्पको कम्पनका कारण जमिनमा हलचल भइरहेको दृश्य देख्न सकिन्छ । उक्त सामग्रीको थमनेलमा काठमाडौँमा फेरि भूकम्प गएको दाबी गरिएको छ । थमनेलमा लेखिएको छ- ‘काठमाडौँमा आज फेरि भूकम्प, हाम्रो नेपालमा के भइराछ ?’
दाबीसहितको सामग्रीमा समाचारशैलीको एउटा अडियोसमेत सुन्न सकिन्छ । उक्त अडियोमा थमनेलमा लेखिएभन्दा थोरै फरक सूचना दिइएको छ । अडियोमा भनिएको छ– ‘काठमाडौँमा आज बिहान ५ बजेर २६ मिनेटमा भूकम्पको धक्का महसुस, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नुवाकोटको बेलकोटगढी आसपासमा केन्द्रबिन्दू भएको भूकम्पको मापन ५ दशमलभ ३ म्याग्निच्युड ।’

पोस्ट गरिएको २४ घण्टा नपुग्दै दाबीसहितको सामग्रीमा करिब १ लाख टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । ६ सयभन्दा बढी प्रतिक्रिया आएको प्रस्तुत सामग्रीलाई १३ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । यस तथ्यबाट के प्रष्ट हुन्छ भने प्रस्तुत दाबीसहितको सामग्रीको फैलावट व्यापक छ ।
तथ्यजाँच/प्रमाणीकरण
नेपालको सुदूरपश्चिममा मंगलबार (२०७९ माघ १०) भूकम्पको शक्तिशाली झड्का महसुस गरियो । ५.९ म्याग्निच्युड मापन गरिएको उक्त भूकम्पको झड्काले बाजुरा जिल्लामा धनजनको क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको सूचना अनुसार बाजुराका १३ वटा घरमा पूर्ण क्षति भएको छ भने ३५ भन्दा बढी घरमा क्षति पुगेको छ । यो भूकम्पका कारण एक जनाको मृत्युसमेत भएको छ ।
भूकम्प गएको यही सन्दर्भमा हामीले माथि उल्लेखित दाबीसहितको सामाग्री फेला पार्यौँ । सामाजिक संजालमा फैलाइएको सामग्रीमा मूलत: राजधानीमा ठुलै भूकम्प गएको दाबी छ । उक्त सामग्रीमा जोडिएको भिडियोमा पनि ठूलै हलचल भएको दृश्य देख्न सकिन्छ । अर्कोतर्फ सामग्रीमा एउटा समाचारको अडियोसमेत सुन्न सकिन्छ । उक्त समाचारमा नुवाकोटको बेलकोटगढी आसपासमा केन्द्रबिन्दू भएर ५ दशमलभ ३ म्याग्नेच्युटको भूकम्प गएको दाबी गरिएको छ ।
भिडियोमा देखिने भूकम्पको डरलाग्दो हलचल र अडियोमा सुनिएको समाचारले भूकम्पले ठूलै क्षति भएको संकेत गर्दछ । यही कारण हामीले दाबीसहितको सामग्रीमाथि जाँच गर्ने जमर्को गरेका छौँ । दाबीसहितको सामग्रीमाथि जाँच गर्दैगर्दा सबैभन्दा पहिले हामीले समाचारशैलीमा वाचन गरिएको अडियोको मूल स्रोतबारे खोजविन गर्यौँ ।
प्रस्तुत सामग्रीमा रहेको अडियोको ‘ओर्जिनल साउन्ड’मा गएर हेर्दा News24 टेलिभिजनको लोगोसहितको समाचार अंश फेला पर्यौँ । उक्त अडियोसहितको समाचार अंश ६ अगस्ट २०२२ मा टिकटकमा पोस्ट भएको देखिन्छ । यही आधारमा हामीले News24 Nepal मा ५ महिनाअघि पोस्ट गरिएका समाचार बुलेटिनहरू जाँच गर्न थाल्यौँ ।
जाँचकै क्रममा ६ अगस्ट २०२२ मा पोस्ट गरिएको समाचार बुलेटिन फेला पर्यो । उक्त समाचारमा नुवाकोटको बेलकोटगढी आसपासमा केन्द्रबिन्दू बनाएर ५ दशमलभ ३ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिइएको छ ।
फेला परेको प्रस्तुत तथ्यबाट के प्रष्ट हुन्छ भने माथि दाबीसहितको सामग्रीमा जोडिएको अडियो ५ महिनाअघि गएको भूकम्पसँग सम्बन्धित छ र उक्त समाचार पनि ५ महिनाअघि नै तयार पारिएको थियो । अब बाँकि रह्यो, भूकम्पपछि जमिन हल्लिएको दृश्य । के दाबीसहितको सामग्रीमा जोडिएको भूकम्पको उक्त डरलाग्दो दृश्य र अडियोमा सुनिने सूचना एउटै सन्दर्भका हुन् त ?
प्रस्तुत प्रश्नको जवाफ खोज्न हामीले अर्को जाँच सुरु गर्यौँ । यसका लागि हामीले सबैभन्दा पहिले ‘earthquake nepal live footage’ वाक्यांशलाई युट्युबमा सर्च गर्यौँ । यस किवर्डले फेला पारेका फुटेजहरूलाई नियाल्ने क्रममा हामीले ७ वर्षअघि पोस्ट गरिएको एउटा दृश्य फेला पार्यौँ ।
१ जुन २०१५ मा TheEventRecorder युट्युब च्यानलमा पोस्ट गरिएको उक्त भिडियोको शीर्षक छ- ‘Nepal Earthquake – Visible Lateral Ground Movement.’ सात वर्षअघि पोस्ट गरिएको यो भिडियो फेला परेपछि यसलाई हामीले दाबीसहितको सामग्रीमा जोडिएको दृश्यसँग जोडेर हेर्यौँ । यस जाँचबाट के प्रष्ट हुन्छ भने भने दाबीसहितको सामग्रीमा देखिएको दृश्य र सात वर्षअघि युट्युबमा पोस्ट गरिएको दृश्य हो ।
माथि दाबीसहित सामाजिक संजालमा फैलाइको सामग्री पूर्णत: भ्रामक देखिएको छ । ५ महिनाअघि सार्वजनिक गरिएको समाचारको अडियो र सात वर्ष पूरानो भूकम्पको दृश्यलाई एक आपसमा जोडेर सामाजिक संजालमा पोस्ट गरिएको फेला परेका तथ्यले पुष्टि गरेका छन् ।
निष्कर्ष
काठमाडौँमा फेरि भूकम्प गएको भन्ने सनसनीपूर्ण दाबी भ्रामक छ । सात वर्षअघि खिचिएको भूकम्पको भयानक दृश्यसँग पूरानो समाचार जोडेर सामाजिक संजालमा फैलाइएको पाइयो । दुई फरक सन्दर्भका भिडियो र अडियो जोडेर सनसनीपूर्ण ढंगले भ्रामक दाबीका साथ सामाजिक संजालमा पोस्ट गरिएको हो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co