Monday, May 19, 2025

Fact Check

Fact Check: एमसिसीका कारण इन्स्पेक्टरले पेस्तोल ताकेका हुन् ? लप्सीफेदी सबस्टेसन विवादमा एमसिसीलाई तानियो 

Written By Aakash Chhetri
Mar 2, 2023
banner_image

भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा एउटा सामग्री फेला परेको छ, उक्त सामग्रीमा एक जना प्रहरी अधिकारी मानिसहरूमाथि पेस्तोल ताकिरहेको अवस्थामा देखिएका छन् र यो दृश्यलाई अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपालमा भित्रनुको परिणामका रुपमा प्रस्तुत गरिएको छ । 

Bishnu Jung नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा प्रहरी अधिकारीले पेस्तोल देखाउँदै मानिसहरूलाई हलचल नगर्न निर्देशन दिइरहेका छन् र उनले ज्यानको चेतावनी दिइरहेको भावसमेत देखाइरहेका छन् । प्रहरी अधिकारीले पेस्तोल झिकेसँगै मानिसहरूले त्यसको प्रतिवाद गरेको दृश्यसमेत भिडियोमा देख्न सकिन्छ ।

प्रस्तुत भिडियोको थमनेलमा एमसिसी विरोधी नारासहित एमसिसीको कामबारे प्रश्न गरिएको छ । थमनेलमा लेखिएको छ- ‘एमसिसी के हो ? यसले कसरी काम गर्छ ? लप्सिफेदी, एमसिसी चाहिँदैन देश बेच्न पाइँदैन ।’

एमसिसीसँग जोडिएको प्रहरीले पेस्तोल ताकेको भिडियोमा करिब ७ सय टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । १७ प्रतिक्रिया र ४० प्रयोगकर्ताले सेयर गरिसकेको सामग्रीमा दाबी गरिएको सन्दर्भ सही छ कि भ्रामक छ ? वास्तविकता पत्ता लगाउन हामीले उक्त सामग्रीको जाँच गरेका छौँ । 

तथ्य जाँच र प्रमाणीकरण

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अमेरिकी सरकारले तल्लो स्तरका देशहरूलाई सहायता गर्न स्थापना गरेको एजेन्सी हो । एमसिसीमार्फत् अमेरिकाले नेपाललाई करिब ५६ अर्ब रुपैयाँ (५० करोड अमेरिकी डलर) सहयोग उपलब्ध गराउने भनेर नेपालकै संसद्‍बाट यसलाई अनुमोदन गरिएको थियो । 

२०७८ फागुन १५ गते अनुमोदन गरिएको उक्त आर्थिक सहयोगलाई नेपालले विद्युत् प्रसारण लाइन र सडक स्तरोन्नतिमा लगाउनुपर्ने सम्झौता छ । एमसिसी अनुमोदन भएको एक वर्षपछि सामाजिक संजालमा माथि उल्लेखित दाबीसहितको सामग्री पोस्ट भयो । उक्त सामग्रीमा एक प्रहरी अधिकारीले मानिसहरूमाथि पेस्तोल तेर्स्‍याएको दृश्य देख्न सकिन्छ ।  

प्रस्तुत सामग्रीको जाँच गर्ने क्रममा सबैभन्दा पहिले हामीले मानिसहरूमाथि पेस्तोल तेर्स्‍याएको दृश्यको वास्तविकता पत्ता लगाउने कोशिस गर्‍यौँ । जसका लागि हामीले ‘प्रहरीले पेस्तोल’ लगायतका किवर्ड तयार पार्‍यौँ र तिनलाई युट्युबमा सर्च गर्‍यौँ । फलस्वरुप हामीले jharana khabar नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पर्‍यो । 

एक महिनाअघि अर्थात् ६ जनवरी २०२३ मा पोस्ट गरिएको सोही घटनाको भिडियोको एउटा अंशलाई काटेर सामाजिक संजालमा पोस्ट गरिएको पायो । भिडियोको शीर्षक छ- ‘शंखरापुरको बोझिनी अझै तनावग्रस्त,प्रहरीले जनतालाई पेस्तोल ताक्दा भागदौड ।’

https://www.youtube.com/watch?v=ZbkxkK701Qs

फेला परेको भिडियोमा ‘शंखरापुरको बोझिनी’ भन्ने स्थानलाई उल्लेख गरिएको छ । यो वाक्यांशलाई आधार बनाएर गुगलमा किवर्ड सर्च गर्दा सोही घटनासँग सम्बन्धित अर्को सामग्री फेला पर्‍यो । setopati मा प्रकाशित उक्त समाचारमा ‘शंखरापुरमा स्थानीयमाथि पेस्तोल ताक्ने इन्स्पेक्टरमाथि छानबिन सुरू’ भएको जानकारी दिइएको छ ।

२०७९ पुस २४ गते प्रकाशित समाचार अनुसार पुस २० गते शंखरापुर नगरपालिका-३ लप्सीफेदी बोझेनीमा इन्स्पेक्टर विशालबहादुर बुढाथोकीले पेस्तोल ताकेका थिए । शंखरापुर नगरपालिका-३ लप्सीफेदी बोझेनीमा स्थानीयले विरोध प्रदर्शन गरेका थिए र त्यही ड्युटीमा रहेका प्रहरी वृत्त बौद्धमा कार्यरत विशालबहादुर बुढाथोकीले पेस्तोल ताकेर हान्दिने धम्की समेत दिएका थिए ।

शंखरापुर नगरपालिका यस्तो क्षेत्र हो जहाँ सबस्टेसन निर्माणस्थल भइरहेको छ र स्थानीय विरोध गरिरहेका छन् । मुआब्जा तथा क्षतिपूर्ति विवाद बल्झिएको उक्त क्षेत्रमा स्थानीयहरूले विरोध गरिरहेका बेला न्स्पेक्टर विशालबहादुर बुढाथोकीले पेस्तोल ताकेको घटना भएको थियो ।  

घटनाक्रमको यही शिलशिलामा उक्त घटनाको भिडियोलाई एमसिसीसँग जोड्दै सामाजिक संजालमा फैलाइएको छ । तर, लप्सीफेदी सबस्टेसन निर्माणमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को प्रत्यक्षा संलग्नता रहेको प्रमाण भेटिएन । अर्कोतर्फ हामीले उक्त आयोजनामा नेपाल सरकार तथा विद्युत प्राधिकरणको लगानी र एसियाली विकास बैंक (एडिबी) को ‘विद्युत प्रसारण विस्तार तथा प्रणाली सुधार आयोजना’ अन्तर्गतको ऋणा तथा अनुदानबाट संचालन भएको तथ्य फेला पार्‍यौँ ।

लप्सीफेदी सबस्टेसनको निर्माणबारे setopati मा लेखिएको रिपोर्ट अनुसार मुआब्जा तथा क्षतिपूर्ति बापत करिब ५० करोड रुपैयाँ वितरण भइरहेको अवस्थामा पनि शंखरापुरमा क्षतिपूर्तिकै विवाद चर्चिएको थियो । उक्त समाचारमा नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) को लगानीमा उक्त सबस्टेसनको निर्माण भइरहेको जानकारी दिइएको छ ।

रिपोर्टमा लेखिएको छ- ‘आयोजना निर्माणका लागि एडिबीसँग १० चैत २०६८ (२३ मार्च २०१२)मा पहिलो र ऋण एसियाली विकास बैंकसँग मार्च २०१२ मा र २५ भदौ २०७४ (१० सेप्टेम्बर २०१७)मा दोस्रो ऋण सम्झौता भएको थियो । लप्सीफेदी र चाँगुनारायण सबस्टेसन निर्माणका लागि पहिलो ठेक्का सम्झौता २८ मंसिर २०७४ मा भएको थियो । ठेकेदारले लप्सीफेदी सबस्टेसन निर्माणका लागि एक वर्ष काम गरेको थियो । तर, ठेकेदारको काम सन्तोषजनक नभएपछि ठेक्का तोडी ४ मंसिर २०७७ नयाँ ठेक्का लगाइएको थियो ।’ 

प्रस्तुत रिपोर्टले मात्र हामी विश्वस्त हुन सकेनौँ । हामीले लप्सीफेदी सबस्टेसन निर्माणमा एमसिसीको संलग्नताबारे नेपाल विद्युत प्रधिकरण अन्तर्गतको आयोजना व्यवस्थापन निर्देशनालयका उप कार्यकारी निर्देशक ताराप्रसाद प्रधानलाई सम्पर्क गर्‍यौँ । 

लप्सीफेदी सबस्टेसन निर्माण आयोजना एमसिसी भित्रनुभन्दा वर्षौँअघिदेखि सुरु भएको जानकारी उप कार्यकारी निर्देशक ताराप्रसाद प्रधानले दिए । उनले भने,‘एमसिसी आएको भर्खर त हो नि, हामीले एडीवीको सहयोगमा २०१२ देखि नै काम गर्दै आएका हौँ । लाइन सप्लाइमा मल्टिपल कनेक्सन गरिएको हुन्छ कहाँ कुन लाइन जोडिन्छ भनेर हेर्नु फरक कुरा होला ।’ 

निष्कर्ष

लप्सीफेदी सबस्टेसन निर्माणमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को प्रत्यक्षा संलग्नता रहेको प्रमाण भेटिएन । फरक सन्दर्भको दृश्यलाई काटछाँट गर्दै भ्रामक थमनेल राखेर सामाजिक संजालमा फैलाइएको पाइयो ।

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू 


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected] 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage