Fact Check
के हालसालै पूर्वराजा शाह र मुख्यमन्त्री योगीबीच भेटवार्ता भएको हो? पुरानो तस्बिर भाइरल

दाबी: पूर्वराजा ज्ञानेन्द्र शाह र भारतस्थित उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ भेट भएको दाबी (तस्बिर)
तथ्य: दाबीमा प्रयोग गरिएको तस्बिर हालको नभई जनवरी २०१८ मा लखनऊमा भएको भेटको पुरानो तस्बिर हो, जुन त्यस समय विभिन्न भारतीय संचार माध्यमले प्रकाशित गरेको पाइयो ।
पूर्वराजा ज्ञानेन्द्र शाह र भारतस्थित उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग सम्बन्धित तस्बिर सामाजिक संजालमा फैलिरहेका छन् । उक्त पोस्टमा पूर्वराजा शाह र मुख्यमन्त्री योगीबीच भेटवार्ता भएको दाबी गरिएको छ ।
Narayandhakal032 नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा पूर्वराजा ज्ञानेन्द्र शाह र भारतस्थित उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेट/कुराकानी भइरहेको तस्बिर जोडिएको छ । तस्बिरको थमनेलमा ज्ञानेन्द्र र आदित्यनाथबीच भेटवार्ता भएको दाबी लेखिएको छ ।

२६ डिसेम्बर २०२५ मा पोस्ट गरिएको भिडियोको क्याप्सनमा लेखिएको छ- ‘मुलुक नै सिद्धिने भएपछि राजा ज्ञानेन्द्र शाह विशाल दुई छिमेकी मुलुक भारत र चीन बीचमा रहेको हाम्रो देश को कुटनैतिक सम्बन्ध सायद बुझेको छ, राजा ज्ञानेन्द्र शाह नै हुनुहुन्छ । पछिल्लो सुरक्षाको दृष्टिकोणले दुई छिमेकी मुलुक निकै संवेदनशील कूटनैतिक माथिल्लो तहमा राजा ज्ञानेन्द्र शाह अहिले भारतका उच्चस्तरीय विशेष व्यक्तिहरूसँग केही उच्च छलफलबाट निष्कर्ष निस्किने हामी सबै विश्वस्त भएको देखिरहेको छौँ । जुन कठिन परिस्थितिबाट गुज्रिरहेको नेपाल अब एउटा गन्तव्य लिने देखिन्छ ।’
यसअघि सोही तस्बिर Kritika Shah नामक (पूर्वराजा ज्ञानेन्द्र शाहकी नातिनीको नाम र तस्बिरसहितको) फेसबुक पेजमा पोस्ट गरिएको देखियो । २४ डिसेम्बर २०२५ मा पोस्ट गरिएको तस्बिरको क्याप्सनमा माथि उल्लेखित लामो स्ट्याटस लेखिएको छ ।
त्यस्तै Janki Times नामक फेसबुक पेजमा पूर्वराजा ज्ञानेन्द्र शाह र भारतस्थित उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ देखिने तस्बिर पोस्ट गरिएको पाइयो । २३ डिसेम्बर २०२५ को उक्त पोस्टमा ‘पूर्वराजाले योगी र मोदीलाई भेटेको’ दाबी गरिएको छ ।

के हालसालै पूर्वराजा शाह र मुख्यमन्त्री योगीबीच भेटवार्ता भएको हो त? सामाजिक संजालमा भाइरल तस्बिरको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह हालसालै (२ पुस २०८२) भारतको सिलिगुडी पुगेका थिए । पश्चिम बंगालस्थित सिलिगुडीमा साताभन्दा बिताएर शाह दम्पती ९ पुस २०८२ मा काकडभिट्टा हुँदै स्वेदश फर्किएका थिए । तर, प्रष्ट उद्देश्य नखुलाइएको यस भ्रमणमा पूर्वराजाले भारततर्फ उच्चस्तरिय भेटघाट गरे कि गरेनन् भन्ने कुनै आधिकारिक जानकारी आएको छैन ।

यही सन्दर्भमा पूर्वराजा शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगीबीच भेटवार्ता भएको दाबी र तस्बिर सामाजिक संजालमा फैलिरहेको छ । उक्त तस्बिरको जाँचका क्रममा हामीले केही वाक्यांश ‘पूर्वराजा ज्ञानेन्द्र शाह र योगी आदित्यनाथ’ ‘भेटवार्ता’‘Former King Gyanendra Shah met Yogi Adityanath’ र रिभर्स इमेज जाँच गर्यौँ ।
जाँचका क्रममा jagran.com मा प्रकाशित पुरानो समाचार फेला पर्यो । ८ जनवरी २०१८ मा प्रकाशित समाचारमा नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह र मुख्यमन्त्री योगी आदित्यनाथबीच लखनऊमा भेटेवार्ता भएको जानकारी दिइएको छ ।

करिब आठ वर्षअघि पोस्ट भएको समाचारमा प्रयोग गरिएको तस्बिर र वर्तमान समयमा पूर्वराजा शाह र मुख्यमन्त्री योगीबीच भेटवार्ता भएको भन्दै पोस्ट गरिएको तस्बिर एउटै हो ।
प्रस्तुत तस्बिर ८ जनवरी २०१८ मै aajtak.in/india मा प्रकाशित समाचारमा पनि उल्लेख गरिएको छ ।

त्यस यता २७ वैशाख २०८० मा पनि पूर्वराजा ज्ञानेन्द्र शाह र उत्तर प्रदेशका मुख्यमन्त्रीबीच भेटवार्ता भएको जानकारी प्रमाणित भएको छ । यस भेटपछि पूर्वराजाको सचिवालयले एउटा सूचना नोट जारी गर्दै भेटवार्ताको पुष्टि गरेको थियो ।
यद्यपी, पछिल्लो समय भारतमा रहेको पूर्वराजा ज्ञानेन्द्र शाह र उत्तर प्रदेशका मुख्यमन्त्रीबीच भेटवार्ता भएको दाबीसहित पुरानो तस्बिर सामाजिक संजालमा फैलिरहेको छ । तर यसको कुनै आधिकारिक पुष्टि भएको छैन ।
निष्कर्ष
पूर्वराजा ज्ञानेन्द्र शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच हालै भेटवार्ता भएको दाबी भ्रामक रहेको निष्कर्ष तथ्यजाँचबाट निस्किएको छ । दाबीमा प्रयोग गरिएको तस्बिर हालको नभई जनवरी २०१८ मा लखनऊमा भएको भेटको पुरानो तस्बिर हो, जुन त्यस समय विभिन्न भारतीय संचार माध्यमले प्रकाशित गरेको पाइयो । अर्कोतर्फ पछिल्लो समय सिलिगुडी भारत भ्रमणका क्रममा पूर्वराजा शाह र मुख्यमन्त्री योगीबीच भेटवार्ता भएको भन्ने दाबीलाई पुष्टि गर्ने कुनै पनि आधिकारिक सूचना वा प्रमाण फेला परेका छैनन् ।
नितिजा: भ्रामक
हाम्रा स्रोतहरू
समाचार/तस्बिर, aajtak.in/india
समाचार/तस्बिर, jagran.com
समाचार, ratopati.com
समाचार, deshsanchar.com
समाचार, annapurnapost
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected]

