Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check

दाबी: ‘खुशीको खबर, राजासहितको हिन्दु बौद्ध किरात देश नेपाल हुने सरकार पक्षबाट सहमति भएको छ, अब नेपाली खुसी भएर विकास भएको हेर्न मन छ, Kingdom of Nepal, Welcome King’
तथ्य: उपलब्ध प्रमाण र सम्झौता दस्तावेजका आधारमा ‘सरकार पक्षबाट नेपाल राजासहितको हिन्दु बौद्ध किरात देश हुने सहमति भएको’ भन्ने दाबी तथ्यसँग मेल खाँदैन ।
पूर्वराजा ज्ञानेन्द्र शाहसँग सम्बन्धित भिडियो सामाजिक संजालमा फैलिरहेको छ । उक्त भिडियोसँगै ‘सरकार पक्षबाट नेपाल राजासहितको हिन्दु बौद्ध किरात देश हुने सहमति भएको’ अस्पष्ट दाबी गरिएको छ ।

राजतन्त्र जिन्दाबाद नामक फेसबुक पेजमा पोस्ट गरिएको भिडियोमा पूर्वराजा ज्ञानेन्द्र शाहले मानिसहरुसँग भेटघाट गरिरहेको दृश्य जोडिएको छ । साथै भिडियोको थमनेलमा लेखिएको छ- ‘खुशीको खबर, राजासहितको हिन्दु बौद्ध किरात देश नेपाल हुने सरकार पक्षबाट सहमति भएको छ, अब नेपाली खुसी भएर विकास भएको हेर्न मन छ, Kingdom of Nepal, Welcome King ।’
दाबीसहितको भिडियोलाई सात हजारभन्दा बढी फेसबुक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । दुई सयभन्दा बढी प्रतिक्रिया आएको भिडियोलाई ५४ हजारभन्दा बढीले हेरिसकेका छन् ।

त्यसैगरी Sijan.thapa556 नामक टिकटक आइडीमा पनि सोही दाबीसहितको भिडियो पोस्ट गरिएको छ । दाबीसहितको सामग्रीलाई करिब पाँच हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । दुई सयभन्दा बढी प्रतिक्रिया आएको सामग्रीलाई करिब दुई सय टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् ।
के ‘सरकार पक्षबाट नेपाल राजासहितको हिन्दु बौद्ध किरात देश हुने सहमति भएको’ हो त? हामीले दाबीसँगै फैलाइएको भिडियोको तथ्यजाँच गरेका छौँ ।
जाँचका क्रममा हामीले सबैभन्दा पहिले पूर्वराजा ज्ञानेन्द्र शाहले मानिसहरुसँग भेटघाट गरिरहेको दृश्यहरुबाट केही स्क्रिनसटहरु लियौँ । यी दृश्यहरुलाई रिभर्स इमेज सर्च गर्दा पूर्वराजा ज्ञानेन्द्र शाहसँग सम्बन्धित केही पुराना समाचारहरु फेला परे ।

Aljazeera मा प्रकाशित समाचारमा नेपालका राजावादी समर्थकहरूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौँस्थित विमानस्थलमा (त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल) स्वागत गरेको जानकारी दिइएको छ । ९ मार्च २०२५ मा प्रकाशित समाचारमा उल्लेख गरिएको तस्बिर र दाबीसहितको सामग्रीमा जोडिएको दृश्यबीच समानता देख्न सकिन्छ ।
फेला परेको जानकारीका आधारमा वास्तविक दृश्य पत्ता लगाउन हामीले ‘पूर्वराजा ज्ञानेन्द्र शाह स्वागत’ ‘Gyanendra Shah Kathmandu’ वाक्यांशको जाँच गर्यौँ ।
जाँचको नतिजास्वरुप Deshsanchar र NepalPukar Online Tv लगायतका युट्युब च्यानलमा पोस्ट गरिएका भिडियोहरु फेला पर्यो । जसमध्ये ९ मार्च २०२५ मा पोस्टमा गरिएको भिडियोको शिर्षकमा लेखिएको छ- ‘दुर्गा र राजाको अनौठौ प्रेम, राजाको लोभ लाग्दो क्रेज, दुर्गाले मौकामा देखाए शक्ति’ ।

प्रस्तुत भिडियोको एउटा अंशलाई नै दाबीसहितको सामग्रीमा जोडिएको पाइयो । त्यतिबेला पूर्वराजा पश्चिम नेपालबाट राजधानी फर्किँदा काठमाडौँमा हजारौँ समर्थकहरूले राजसंस्थाको पक्षमा र्याली गरेका थिए । ‘देशको अवस्थाप्रति असन्तुष्टि जनाउँदै’ उक्त भीडले पूर्वराजा र राजसंस्थाको पक्षमा नारावाजीसमेत गरेको थियो ।
तर, यस सन्दर्भमा दाबीमा भनिएजस्तो ‘सरकार पक्षबाट नेपाल राजासहितको हिन्दु बौद्ध किरात देश हुने भन्ने कुनै सहमति भएको थिएन् । पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजावादी समर्थकले स्वागत गरेपछि एउटा छोटो र्याली भयो र कार्यक्रम टुंगियो । पछि, सोही सन्दर्भको भिडियोलाई अपुष्ट दाबीका साथ पोस्ट गरिएको पाइयो ।
अर्कोतर्फ जेनजी घटनापछि (भदौ २०८२) सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार र राजावादी समूहबीच हालसालै एउटा सहमति भएको देखिन्छ । २ माघ २०८२ मा प्रकाशित समाचार अनुसार नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँबिच सम्झौता भएको थियो । सिंहदरबारमा भएको वार्तामा सरकारका तर्फबाट तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र अभियानका तर्फबाट अध्यक्ष प्रसाईँले सम्झाैतामा हस्ताक्षर गरेका थिए ।
सम्झौताअनुसार, किरात र बौद्ध धर्मसहितको हिन्दु अधिराज्यको अवधारणा, प्रदेश संरचनाको खारेजी तथा राजसंस्थाको पुनर्स्थापना जस्ता मागहरूसँग सम्बन्धित आवश्यक संवैधानिक र कानुनी सुधारबारे अध्ययन गरी सुझाव पेश गर्न सरकारले ‘संविधान संशोधन सुझाव आयोग’ गठन गर्ने निर्णय गरिएको छ ।
तर, प्रस्तुत सम्झौतामा नेपाललाई राजासहितको राज्य बनाउने, हिन्दु–बौद्ध–किरात राष्ट्र घोषणा गर्ने, वा यस्ता विषयमा सरकारको तर्फबाट अन्तिम निर्णय भइसकेको भन्ने कुनै स्पष्ट वा अप्रत्यक्ष सहमति उल्लेख गरिएको छैन । नेपालमा राज्य व्यवस्था वा धार्मिक पहिचान परिवर्तन गर्न संविधान संशोधन आवश्यक पर्छ, जसका लागि संसद्को विशेष बहुमतसहितको औपचारिक प्रक्रिया अनिवार्य हुन्छ । सम्झौताले यस्तो प्रक्रिया सुरु भएको वा निर्णय भइसकेको संकेत पनि गर्दैन, यसले केवल छलफल, अध्ययन र सुझावको बाटो खोल्ने कुरा मात्र गर्छ ।

त्यसैले, सम्झौता दस्तावेजलाई आधार मान्दा ‘सरकार पक्षबाट नेपाल राजासहितको हिन्दु–बौद्ध–किरात देश हुने सहमति भएको’ भन्ने दाबी तथ्यसँग मेल खाँदैन । यो दाबी सम्झौतामा नभएको अर्थ र निष्कर्ष निकालेर फैलाइएको भ्रामक दाबी हो ।
उक्त सम्झौता सरकार र राजावादी समूहबीचका मागहरूलाई शान्तिपूर्ण, संवैधानिक र संस्थागत ढंगले अध्ययन–समाधान गर्ने समझदारी हो । तर, यसलाई आधार बनाएर सरकार पक्षबाट नेपाल राजासहितको हिन्दु बौद्ध किरात देश हुने सहमति भएको दाबी गर्नु दस्तावेजको भाव र सहमतिको आशयसँग मेल नखाने अतिरञ्जित र भ्रामक हो ।
सरकार पक्षबाट नेपाल राजासहितको हिन्दु बौद्ध किरात देश हुने सहमति भएको दाबी अतिरञ्जित र भ्रामक छ । दाबीमा प्रयोग गरिएको दृश्य ९ मार्च २०२५ मा राजावादीहरूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौँमा स्वागत गर्दा खिचिएको थियो, उक्त कार्यक्रम स्वागत र छोटो र्यालीमै सीमित थियो र त्यसबेला सरकार पक्षबाट नेपाललाई राजासहितको हिन्दु–बौद्ध–किरात राज्य बनाउने कुनै सहमति भएको थिएन । जेनजी घटनापछि राजावादी र अन्तरिम सरकारबीच भएको सम्झौतामा पनि राजसंस्थाको पुनर्स्थापना वा नेपाललाई हिन्दु–बौद्ध–किरात राष्ट्र घोषणा गर्ने विषयमा सरकारको अन्तिम निर्णय होइन, सम्झौताले केवल अध्ययन, छलफल र सुझावका लागि आयोग गठन गर्ने व्यवस्था मात्र गरेको छ । यसैले, उपलब्ध प्रमाण र सम्झौता दस्तावेजका आधारमा ‘सरकार पक्षबाट नेपाल राजासहितको हिन्दु–बौद्ध–किरात देश हुने सहमति भएको’ भन्ने दाबी तथ्यसँग मेल खाँदैन ।
समाचार, aljazeera.com
समाचार, bbc.com
भिडियो, Deshsanchar
भिडियो, NepalPukar Online Tv
समाचार, onlinekhabar.com
समाचार, ratopati.com
समाचार, deshsanchar.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected]

Aakash Chhetri
March 25, 2026
Aakash Chhetri
February 26, 2026

Aakash Chhetri
December 28, 2025