Fact Check
ज्ञानेन्द्र शाह र राजेश हमाललाई हृदयघात भएको दाबी भाइरल

दाबी: हृदयघातबाट राजेश हमालको निधन भएको र ज्ञानेन्द्र शाहलाई हृदयघात भएको दाबी गरिएको भिडियो ।
तथ्य: दाबीहरू पुरानो वा अपुष्ट सूचनामा आधारित भ्रामक सामग्री हुन्, यस्ता दाबी पुष्टि गर्ने कुनै आधिकारिक तथ्य उपलब्ध छैनन् ।
अभिनेता राजेश हमाल र पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्यसँग सम्बन्धित केही भिडियोहरु टिकटकमा फैलिरहेका छन् । छुट्टाछुट्टै दुई भिडियोमा हृदयघातबाट राजेश हमालको निधन भएको र ज्ञानेन्द्र शाहलाई हृदयघात भएको दाबी गरिएको छ ।
Astha Dhakal Sapkota नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा पूर्वराजा ज्ञानेन्द्र शाहको तस्बिर जोडिएको छ । प्रस्तुत तस्बिरको थमनेल र क्याप्सनमा लेखिएको छ- ‘पूर्वराजा Gyanendra Bir Bikram Shah लाई ७८ वर्षको उमेरमा अचानक हृदयघात भएको खबर आएको छ । हाल उहाँको अवस्था चिन्ताजनक रहेको र काठमाडौँको नर्भिक अस्पतालमा उपचार भइरहेको जानकारी प्राप्त भएको छ ।’

१० मार्च २०२६ मा पोस्ट गरिएको भिडियोलाई चार हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै पाँच भन्दा बढी प्रतिक्रिया आएको पोस्टलाई एक लाख २० हजारले हेरिसकेका छन् ।
प्रस्तुत टिकटक आइडीमै चर्चित अभिनेता राजेश हमालको निधन भएको दाबी गर्ने अर्को भिडियो पोस्ट गरिएको छ । भिडियोमा हमालको तस्बिर र हृदयघातका कारण उनको निधन भएको जानकारी दिइएको छ । भिडियोको थमनेलमा लेखिएको छ- ‘महानायक Rajesh Hamal को हृदयघातका कारण निधन भएको खबरले नेपाली फिल्म उद्योग स्तब्ध बनेको छ । योगदान र सम्झनाले सधैं नेपाली चलचित्र क्षेत्रमा जीवित रहनेछ ।’
११ मार्च २०२६ मा पोस्ट गरिएको दाबीसहितको भिडियोमा करिब १० हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै आठ सयभन्दा बढी सेयर भएको सामग्रीलाई चार लाखले हेरिसकेका छन् ।

के हृदयघातबाट अभिनेता राजेश हमालको निधन भएको र पूर्वराजा ज्ञानेन्द्र शाहलाई हृदयघात भएको दाबीमा कुनै सत्यता छ त? वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
पूर्वराजा ज्ञानेन्द्र शाहलाई हृदयघात भएको दाबीको जाँचका लागि हामीले सबैभन्दा जानकारीसँग मिल्दाजुल्दा वाक्यांशहरु तयार पार्यौँ । पहिले ‘ज्ञानेन्द्र शाहलाई हृदयघात’ ‘Gyanendra Shah Hart Attack’ ‘नर्भिक अस्पतालमा भर्ना’ लगायतका वाक्यांश जाँच गर्यौँ ।
जाँचको नतिजास्वरुप ४ असोज २०७१ प्रकाशित समाचारहरु फेला परे । nagariknews.nagariknetwork.com मा प्रकाशित समाचार अनुसार पूर्वराजा ज्ञानेन्द्र शाहलाई अचानक चिटचिट पसिना आउने र रिँगटा लाग्ने समस्या देखिएपछि परिवारका सदस्यले तत्काल थापाथलीस्थित नर्भिक अस्पताल पुर्याएका थिए । त्यसपछि उनलाई माइल्ड हार्ट अट्याक भएको पत्ता लाग्यो ।

त्यो बेला पूर्वराजा अस्पताल भर्ना भएको खबर सार्वजनिक भएपछि उनको स्वास्थ्यलाभको कामना गर्दै उनीप्रति शुभेच्छा राख्ने सभासददेखि सर्वसाधारण नागरिकसमेत नर्भिक परिसरमा भीड लागेको खबर पनि onlinekhabar.com भएको पाइयो । त्यसको केही समयमा नै उनलाई डिस्चार्ज गरिएको थियो ।
तर हालसालै उनै ज्ञानेन्द्र शाहलाई कुनै नयाँ हृदयघात वा गम्भीर अवस्थाको कुनै प्रमाण छैन । थप जाँचका क्रममा हामीले नर्भिक इन्टरनेसनल हस्पिटल प्रशासनलाई सम्पर्क गर्यौँ । तर अस्पतालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई हालसालै हृदयघात भएर भर्ना भएको जानकारीलाई पुष्टि गर्न सकेन ।
अर्कोतर्फ २५ मार्च २०२६ मा The Royal Family Nepal फेसबुक पेजले पूर्वराजा ज्ञानेन्द्र शाहको दाङ सवारीबारे तयार पारेको भिडियो पोस्ट गरेको छ । प्रस्तुत तथ्यहरुबाट के पुष्टि हुन्छ भने पूर्वराजा शाहसँग सम्बन्धित पुरानो सन्दर्भलाई वर्तमान समयमा पोस्ट गरिएको हो ।
त्यसैगरी हृदयघातबाट अभिनेता राजेश हमालको निधन भएको दाबीसमेत दाबी गर्दा, गलत जानकारी फैलिएको पाइयो । हमालको निधन भएको दाबी गर्ने सामग्री ११ मार्च २०२६ मा पोस्ट गरिएको हो तर १२ मार्च पनि हमालसँग सम्बन्धित समाचार र गतिविधिका भिडियोहरु सार्वजनिक भइरहेका छन् ।

राजेश हमाललाई हृदयघात भएको दाबी गर्ने सामग्री पोस्ट भएको १० दिनपछि उनी देखिने प्रचारात्मक भिडियो सार्वजनिक गरिएको छ । २१ मार्च २०२६ मा Hamalrajesh र skoda_nepal लगायतका इन्स्टाग्राम अकाउन्टमा पोस्ट गरिएको भिडियोमा राजेश हमालले स्कोडा किलकको निर्माण गुणस्तर, शक्ति र टर्कबाट आफू अत्यन्तै प्रभावित भएको सन्देश दिइएको छ ।

प्रस्तुत तथ्यहरुले हृदयघातबाट राजेश हमालको निधन भएको दाबीलाई प्रमाणित हुन दिदैनन् । अर्कोतर्फ हमालको हृदयघातबाट निधन भएको जानकारीलाई प्रमाणित गर्ने कुनैपनि तथ्यप्रमाणहरु सार्वजनिक भएका छैनन् ।
निष्कर्ष
पूर्वराजा ज्ञानेन्द्र शाहलाई हालसालै हृदयघात भएको भन्ने दाबी प्रमाणित हुँदैन । जाँचका क्रममा भेटिएको हृदयघातसम्बन्धी समाचार २०७१ सालमा आधारित रहेको पुष्टि हुन्छ, तर हालको अवस्थामा उनलाई त्यस्तो कुनै समस्या भएको विश्वसनीय प्रमाण छैन । अर्कोतर्फ अभिनेता राजेश हमालको हृदयघातबाट निधन भएको दाबी पनि गलत हो, किनकि उनी पछिल्ला मितिहरूमा सार्वजनिक रूपमा सक्रिय देखिन्छन् र यस्तो दाबी पुष्टि गर्ने कुनै आधिकारिक तथ्य उपलब्ध छैन। त्यसैले दुवै दाबीहरू पुरानो वा अपुष्ट सूचनामा आधारित भ्रामक सामग्री हुन् ।
नितिजा: भ्रामक
हाम्रा स्रोतहरू
फोन सम्पर्क, norvichospital.com
पूर्वराजा ज्ञानेन्द्र शाह दाङ भिडियो, The Royal Family Nepal
समाचार, nagariknews.nagariknetwork.com
समाचार, onlinekhabar.com
राजेश हमाल भिडियो, Hamalrajesh
राजेश हमाल भिडियो,skoda_nepal
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected]

