Fact Check
राजेश हमालको निधन भन्दै पोस्ट गरियो विपिन जोशीको शव यात्रा

दाबी: राजेश हमालको निधन भएको दाबीसहित उनीप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शव यात्राको भिडियो पोस्ट ।
तथ्य: दाबीसहित पोस्ट गरिएको भिडियो, वास्तवमा इजरायल–हमास युद्धका क्रममा ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको शव नेपाल ल्याएर गरिएको अन्त्येष्टिको दृश्य हो, हमालको निधन भएको दाबी कुनैपनि तथ्य प्रमाणबाट पुष्टि भएको छैन ।
नेपाली चर्चित अभिनेता राजेश हमालसँग सम्बन्धित केही पोस्ट सामाजिक संजालमा फैलिरहेका छन् । यस्ता पोस्टहरुमा राजेश हमालको निधन भएको दाबीसहित उनीप्रति हार्दिक श्रद्धान्जली अर्पण गरिएको छ ।
Suman Suman नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा शव यात्रामा हिँडिरहेका मलामीहरु देख्न सकिन्छ । साथै भिडियोमा राजेश हमालको तस्बिर पनि जोडिएको छ । प्रस्तुत भिडियोको थमनेलमा लेखिएको छ- ‘हार्दिक श्रद्धान्जली राजेश हमाल सर, हजुरको आत्माले शान्ती पाओस्, मन रोक्नै सकिन मैले त ।’

२१ जनवरी २०२५ मा पोस्ट गरिएको भिडियोमा १८ हजार ६ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । यही अवधिमा ८ सयभन्दा बढी प्रतिक्रिया आएको सामग्रीलाई १५ सय भन्दा बढी पटक सेयर गरिएको छ । यस तथ्यले के प्रष्ट पार्छ भने राजेश हमालको निधन भएको दाबी टिकटकमा द्रुत गतिमा फैलिरहेको छ ।
के राजेश हमालको निधन भएको दाबीमा कुनै सत्यता छ त? वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
राजेश हमालको निधन भन्ने दाबीको जाँचका क्रममा हामीले सबैभन्दा पहिले ‘राजेश हमाल’ ‘निधन’ ‘श्रद्धान्जली’ वाक्यांशको जाँच गर्यौँ । तर, यस जाँचबाट अभिनेता हमालको मृत्युको भएको दाबीलाई कुनैपनि तथ्यले प्रमाणित गर्न सकेनन् । अर्कोतर्फ Rajesh Hamal नामक फेसबुक पेजमा केही दिनअघि मात्र पछिल्लो पोस्ट गरिएको देखिन्छ । १७ जनवरी २०२६ मा गरिएको पोस्ट अमेरिकामा बौद्ध भिक्षुहरूले गरेको ‘शान्ति पैदल यात्रा’सँग सम्बन्धित छ ।
हमालको निधन भएको दाबी गर्दै पोस्ट गरिएको भिडियोमा शव यात्रामा हिँडिरहेका मलामीहरु देख्न सकिन्छ । भिडियोको वास्तविकता पत्ता लगाउन हामीले रिभर्स इमेज सर्च लगायतका टुलहरुको प्रयोग गर्यौँ । जाँचको नतिजास्वरुप bishwasanchar.com मा पोस्ट गरिएको भिडियो फेला पर्यो ।

२१ अक्टोबर २०२५ मा पोस्ट गरिएको भिडियोमा ‘महाकाली नदीको भुजेला घाटमा विपिन जोशीको अन्त्येष्टि’ भएको जानकारी दिइएको छ ।
इजरायल–हमास युद्धका क्रममा ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको शवलाई नेपाल ल्याएर अन्त्येष्टि गरिएको थियो । यही सन्दर्भमा खिचिएको भिडियोलाई राजेश हमालको निधन भएको दाबीसँग जोडेर सामाजिक संजालमा पोस्ट गरिएको देखिन्छ ।

भिडियोको थप जाँचका क्रममा, अभिनेता हमालसँग जोड्दै पोस्ट गरिएको दृश्य Dp Bhatta नामक फेसबुक आइडीमा सबैभन्दा पहिला पोस्ट भएको देखियो । डीपी भट्ट भिडियो र फोटो खिच्ने प्रोफेसनल हुन् । उनले विपिन जोशीको अन्त्येष्टिको भिडियो २१ अक्टोबर २०२५ मै पोस्ट गरेका थिए ।
फेला परेका तथ्यहरुबाट के पुष्टि हुन्छ भने राजेश हमालको निधन भन्दै पोस्ट गरिएको भिडियो उनीसँग सम्बन्धित छैन । अर्कोतर्फ हमालको निधन भएको दाबी कुनैपनि तथ्य प्रमाणबाट पुष्टि हुँदन ।

निष्कर्ष
राजेश हमालको निधन भएको दाबीसहित पोस्ट गरिएको दृश्यले भ्रामक सन्देश प्रवाह गरेको छ । अभिनेता हमालको मृत्यु भएको पुष्टि गर्ने कुनै आधिकारिक सूचना, विश्वसनीय समाचार स्रोत वा प्रमाण भेटिएको छैन । दाबीसहित पोस्ट गरिएको भिडियो, वास्तवमा इजरायल–हमास युद्धका क्रममा ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको शव नेपाल ल्याएर गरिएको अन्त्येष्टिको दृश्य हो, जुन २१ अक्टोबर २०२५ मै पोस्ट गरिएको पुरानो भिडियो हो ।
नितिजा: भ्रामक
हाम्रा स्रोतहरू
भिडियो, Dp Bhatta
भिडियो, bishwasanchar.com
फेसबुक गतिविधि, Rajesh Hamal
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected]


