Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check

दाबी: पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा गए लगत्तै सडकमा मानवसागर उर्लिएको दाबी ।
तथ्य: हिन्दूराष्ट्र र राजसंस्थाको पक्षमा वकालत गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा आयोजित विरोध प्रदर्शनको पुरानो भिडियोलाई पूर्वराजाको भुटान भ्रमणसँग जोडिएको छ ।
सडक प्रदर्शन भइरहेको एउटा भिडियो सामाजिक संजालमा पोस्ट गरिएको छ । उक्त भिडियोमा पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा गए लगत्तै सडकमा मानवसागर उर्लिएको दाबी गरिएको छ ।
आन्खि झ्याल पुर्बिखबर नेपाल नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा मानवसागर उत्रिएको दृश्य देख्न सकिन्छ । साथै भिडियोको थमनेलमा लेखिएको छ- ‘Today KTM, राजा भुटान भ्रमण लगत्तै उर्लियो मावनसागर ।’
७ अक्टोबर २०२४ मा पोस्ट गरिएको भिडियोमा २ हजार ६ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै दाबीसहितको भिडियो १ सय २० भन्दा बढी पटक सेयर भइसकेको छ ।

के सामाजिक संजालमा पोस्ट गरिएको भिडियो पूर्वराजा ज्ञानेन्द्र शाहको भुटान भ्रमणसँग सम्बन्धित छ त ? भिडियोको वास्तविक सन्दर्भ पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह हालसालै (३ अक्टोवरदेखि ६ अक्टोवर २०२४ सम्म) भुटानको भ्रमणमा गएर फर्किएका छन् । उक्त भ्रमणका विषयमा विभिन्न प्रकारका टिप्पणीहरू भइरहेका छन् । तर शाहका सचिवालयले उनको भ्रमण निजी भएको र भुटानी राजपरिवारसँगको व्यक्तिगत सम्बन्धका आधारमा उनले स्वागत र सम्मान पाएको प्रष्टिकरण दिएका छन् ।
पूर्वराजा ज्ञानेन्द्रको भुटान भ्रमणपछि सामाजिक संजालमा दाबीसहितको भिडियो पोस्ट गरिएको देखिन्छ । उक्त भिडियोमा पूर्वराजा भुटान भ्रमणमा गए लगत्तै सडकमा मानवसागर उर्लिएको दाबी गरिएको छ ।
भिडियोको जाँचका क्रममा हामीले सबैभन्दा पहिले गुगल लेन्समा रिभर्स इमेल सर्च गर्यौँ । जाँचको नतिजास्वरुप राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँमा आयोजना गरेको विरोध प्रदर्शनसँग सम्बन्धित पुराना समाचार र तस्बिरहरु फेला परे ।

Naya Patrika Daily, English Ratopati, Nepal Press मा प्रकाशित समाचारमा राप्रपाले गौहत्याको विरोधमा प्रदर्शन गरेको जानकारी दिइएको छ । फेला परेका समाचार तस्बिर र दाबीसहितको सामग्रीमा जोडिएको दृश्य एक आपसमा मिल्दा छन् ।
२७ भदौ २०८० मा राप्रपासहित पार्टीनिकट संगठनहरूले हिन्दूराष्ट्र र राजसंस्थाको पुनर्स्थापना, संघीयताको खारेजी, भ्रष्टाचार काण्डको पूर्ण छानबिनको माग गर्दै काठमाडौँमा प्रदर्शन गरेका थिए । भृकुटीमण्डपबाट सुरु भएको विरोध र्याली रत्नपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ।
त्यस्तै सोही र्यालीसँग सम्बन्धित भिडियोहरुको पनि हामीले जाँच गर्यौँ । जाँचका क्रममा ‘गौहत्याको विरोध’ ‘काठमाडौँमा राप्रपा प्रदर्शन’ लगायतका वाक्यांशहरुलाई सर्च गर्यौँ ।
जाँचको नतिजास्वरुप Sauraha Online नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पर्यो । १३ सेप्टेम्बर २०२३ मा पोस्ट गरिएको भिडियोको शिर्षकमा लेखिएको छ- ‘काठमाडौँमा राप्रपाको विरोध प्रदर्शन’ ।
फेला परेको भिडियोमा देखिएका केही दृश्यहरु र दाबीसहित सामाजिक संजालमा फैलाइएका केही दृश्यमा समानता देख्न सकिन्छ । साथै यही सन्दर्भमा र दाबीसहितको दृश्यसँग मिल्दोजुल्दो भिडियो Nepal Now युट्युब च्यानलमा पनि पोस्ट गरिएको पाइयो ।
फेला परेका तथ्यहरुले के पुष्टि गर्दछन् भने पुरानो विरोध प्रदर्शनको भिडियोलाई पूर्वराजा ज्ञानेन्द्र शाहको भुटान भ्रमणसँग जोडेर भ्रामक बनाइएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा गए लगत्तै सडकमा मानवसागर उर्लिएको दाबी भ्रामक छ । हिन्दूराष्ट्र र राजसंस्थाको पक्षमा वकालत गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा आयोजित विरोध प्रदर्शनको पुरानो भिडियोलाई पूर्वराजाको भुटान भ्रमणसँग जोडिएको पाइयो ।
भिडियो, Sauraha Online
समाचार, Naya Patrika Daily
समाचार, English Ratopati
समाचार, Nepal Press
भिडियो, Nepal Now
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई [email protected] मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।

Aakash Chhetri
March 25, 2026
Aakash Chhetri
February 26, 2026

Aakash Chhetri
February 7, 2026