Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: रबि लामिछाने विरुद्ध मैले सदनमा देखाएको प्रमाण त्यतिबेला हेरिन, अहिले हेर्दा थाहा पाए त्यो फर्जी कागज रहेछ- गगन थापा’
तथ्य: ६ जेठ २०८१ मा आयोजित पत्रकार सम्मेलनको तस्बिरलाई गगन थापाको नामसहितको भ्रामक वाक्यांश जोडेर सामाजिक संजालमा पोस्ट गरिएको थापाको सचिवालयले प्रष्ट पारेको छ ।
नेपाली कांग्रेसका महानमन्त्री गगन थापासँग सम्बन्धित केही सामग्री सामाजिक संजालमा फेला परेका छन् । ती सामग्रीहरुमा रबि लामिछानेविरुद्ध आफूले सदनमा देखाएको प्रमाण फर्जी रहेको अभिव्यक्ति गगन थापाले दिएको संकेत गरिएको छ ।
kamal pujara official नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा एउटा तस्बिर जोडिएको छ, जसमा गगन थापा लगायतका मानिसहरु देख्न सकिन्छ । २५ अगस्ट २०२४ मा पोस्ट गरिएको तस्बिरको क्याप्सनमा लेखिएको छ- ‘रवि लामिछाने विरुद्ध मैले सदनमा देखाएको प्रमाण त्यतिबेला हेरिन, अहिले हेर्दा थाहा पाए त्यो फर्जी कागज रहेछ- गगन थापा’ ।
प्रस्तुत दाबीसहितको सामग्री Khatri kamal (२५ अगस्ट २०२४) र Bishnu220kharal (२६ अगस्ट २०२४) लगायतका टिकटक आइडीमा समेत पोस्ट गरिएको देखिन्छ ।
सोही तस्बिर सहितको विवरण Dr. Nidhi नामक एक्स खातामा पनि पोस्ट गरिएको छ ।
त्यस्तै दाबीसहितको वाक्यांशलाई गुगलमा सर्च गर्दा फेसबुक, एक्स लगायतका सामाजिक संजालमा पोस्ट गरिएका नतिजाहरु फेला परे ।
केही दिनअघि मात्रै (७ भदौ २०८१) सहकारीसम्बन्धी संसदीय छानबिन समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसँग सोधपुछ गरेको थियो । लामिछानेलाई गोर्खा मिडिया नेटवर्क प्रा.लि.का तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछ गरिएको हो ।
यही समयमा रबि लामिछानेविरुद्ध आफूले सदनमा देखाएको प्रमाण फर्जी रहेको अभिव्यक्ति गगन थापाले दिएको दाबी सामाजिक संजालमा पोस्ट गरिएको छ ।
दाबीसहितको वाक्यांशसँगै एउटा तस्बिर समेत जोडिएको छ । हामीले उक्त तस्बिरको सन्दर्भ पत्ता लगाउन गुगल लेन्समा रिभर्स इमेज सर्च गर्यौँ । जाँचको नतिजास्वरुप Online Khabar मा प्रकाशित समाचार फेला पर्यो । ६ जेठ २०८१ मा प्रकाशित समाचारमा उल्लेख गरिएको तस्बिर र दाबीसहितको वाक्यांशमा जोडिएको तस्बिर हुबहु मिलेका छन् ।
६ जेठ २०८१ मा कांग्रेस महामन्त्री गगन थापाले सहकारी बचत हिनामिनाको छनविन लगायतका विषयमा आफ्ना धारणा राख्न संसद् भवन परिसरमा पत्रकार सम्मेलन आयोजना गरेका थिए । उक्त पत्रकार सम्मेलनमा संचार माध्यमले खिचेको तस्बिरलाई दाबीसहितको वाक्यांशसँग जोडेर पोस्ट गरिएको देखिन्छ ।
सोही पत्रकार सम्मेलनको भिडियो Setopati युट्युब च्यानलमा पनि पोस्ट गरिएको पाइयो । १९ मे २०२४ मा पोस्ट गरिएको भिडियोको शिर्षक छ- ‘गृहमन्त्री लामिछानेले संसदमा बोलेपछि पत्रकार सम्मेलन गरेका गगन थापाले के भने ?’
२०८१ को सुरुदेखि नै गगन थापा लगायतका नेताहरुले सहकारी बचत हिनामिना सम्बन्धमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएका थिए ।
यही क्रममा २८ बैशाख २०८१ मा बसेको प्रतिनिधिसभा बैठकमा थापाले तत्कालीन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रहरी कार्यालय र अदालतमा यथेष्ट प्रमाणहरू भएको दाबी गरेको समाचार Nepal Khabar प्रकाशित भएको देखिन्छ । उक्त समाचारको शिर्षक छ- ‘रवितिर हेर्दै गगनले सोधे– ऋण लिएको प्रमाण पेस गरौँ? (भिडिओ)’
त्यसैगरी पछिल्लो समय गगन थापाले ‘रवि लामिछाने विरुद्ध मैले सदनमा देखाएको प्रमाण त्यतिबेला हेरिन, अहिले हेर्दा थाहा पाए त्यो फर्जी कागज रहेछ’ भन्ने अभिव्यक्ति दिएका हुन् त ? हामीले विभिन्न वाक्यांशहरुलाई गुगलमा सर्च गर्यौँ तर हामीले त्यस्तो कुनै अभिव्यक्तिको भिडियो तथा विश्वसनीय समाचार फेला पार्न सकेनौँ ।
थप जाँच क्रममा हामीले हामीले गगन थापाको सचिवालयलाई फोन सम्पर्क गर्यौँ । थापाको सचिवालयमा जनसम्पर्क हेर्ने गोपाल आचार्यले दाबीसहितको सामग्रीमा रहेको विवरण भ्रामक रहेको बताए । उनका अनुसार गगन थापाले त्यस्ताे कुनैपनि अभिव्यक्ति दिएका छैनन् ।
प्रस्तुत तथ्यहरुबाट के प्रष्ट हुन्छ भने कांग्रेस महामन्त्री गगन थापाको तस्बिर र नामसँग जोड्दै भ्रामक वाक्यांश सामाजिक संजालमा पोस्ट गरिएको छ ।
‘रबि लामिछानेविरुद्ध मैले सदनमा देखाएको प्रमाण त्यतिबेला हेरिनँ, अहिले हेर्दा थाहा पाएँ त्यो फर्जी कागज रहेछ- गगन थापा’ लेखेर पोस्ट गरिएको सामग्री भ्रामक छ । ६ जेठ २०८१ मा आयोजित पत्रकार सम्मेलनको तस्बिर र नामसहितको भ्रामक वाक्यांश जोडेर सामाजिक संजालमा पोस्ट गरिएको गगन थापाको सचिवालयले प्रष्ट पारेको छ ।
समाचार, setopati
समाचार, Nepal Khabar
समाचार, Online Khabar
भिडियो, Setopati
गोपाल आचार्य, गगन थापाको सचिवालय
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Aakash Chhetri
June 10, 2025
Aakash Chhetri
June 3, 2025
Aakash Chhetri
May 22, 2025