Fact Check
Fact Check: प्रधानमन्त्रीको पुरानो अन्तर्वार्ता क्लीप सन्दर्भ लुकाएर सामाजिक संजालमा पोस्ट गरियो

दाबी: प्रधानमन्त्री केपी शर्मा ओली देखिने क्लीपमा ‘देउवालाई असार १७ पछि अनिष्ट छ रे’ वाक्यांश लेखिएको छ ।
तथ्य: क्लीप (केपी शर्मा ओली र पत्रकार विजयकुमार पाण्डेबीच ९ मे २०२२ मा DishanirdeshTV पोस्ट गरिएको) पुरानो अन्तर्वार्ताबाट लिइएको हो । त्यो अन्तर्वार्ता र अभिव्यक्ति अहिलेको राजनीतिक अवस्थाभन्दा भिन्न छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित अन्तर्वार्ताको क्लीप सामाजिक संजालमा फैलिरहेको छ । उक्त दृश्यमा ‘देउवालाई असार १७ पछि अनिष्ट छ रे’ वाक्यांश लेखिएको छ ।
Santosh Bhattarai नामक फेसबुक पेजमा पोस्ट गरिएको भिडियो क्लीपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई देख्न सकिन्छ । उक्त भिडियोमा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र असार १७ बारे टिप्पणी गरेका छन् ।

२०२५ मे २० मा पोस्ट गरिएको प्रस्तुत दृश्यलाई वर्तमान राजनीतिक परिस्थिति र समीकरणसँग जोड्न खोडिएको छ । यही अवधिमा भिडियोलाई ७० हजारभन्दा बढी फेसबुक प्रयोगकर्ताले हेरिसकेका छन् भने करिब २ सय पटक सेयर भइसकेको छ । यही क्लीप टिकटकमा पनि पोस्ट गरिएको देखिन्छ ।

के हालसालै सामाजिक संजालमा फैलाइएको भिडियो वर्तमान राजनीतिक सन्दर्भसँग सम्बन्धित छ त? भिडियो वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
१८ असार २०८१ मा नेपालका दुई ठूला दल कांग्रेस र एमालेबीच राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको थियो । यही सहमतिस्वरुप ३० असार २०८१ मा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका थिए । वर्तमान समय नेपालको सत्ता यही दुई दलको गठबन्धनले चलाइरहेको छ ।
यही सन्दर्भमा केपी शर्मा ओली देखिने क्लीपलाई भिडियोमा ‘देउवालाई असार १७ पछि अनिष्ट छ रे’ वाक्यांश लेखेर सामाजिक संजालमा पोस्ट गरिएको देखियो । उक्त क्लीपमा प्रधानमन्त्री ओलीसँग पत्रकार विजयकुमार देखिएका छन् । यही आधारमा हामीले केपी शर्मा ओली र विजयकुमारबीच गरिएका अन्तर्वार्ताहरु जाँच गर्यौँ ।
जाँचको नतिजास्वरुप DishanirdeshTV मा पोस्ट गरिएको पुरानो अन्तर्वार्ता फेला पर्यो । यही अन्तर्वार्ताको एउटा क्लीपलाई वर्तमान सन्दर्भमा अज्ञात बनाएर पोस्ट गरिएको पाइयो । यो अन्तर्वार्ता ९ मे २०२२ मा पोस्ट गरिएको थियो ।
पुरानो अन्तर्वार्ताको अन्तिम (१:४०:४६ देखि १:४२:३५ सम्म) एमाले अध्यक्षसमेत रहेका ओलीले यस्तो भनेका थिए-
प्रस्तुत अन्तर्वार्ता रेकर्ड गर्दाको अवस्था र वर्तमान राजनीतिक अवस्था विल्कुलै फरक छ । अलग र फरक राजनीतिक अवस्थामा केपी शर्मा ओलीले बोलेको क्लीपलाई सन्दर्भ नखुलाई वर्तमान समयमा पोस्ट गरिएको देखियो । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान समयमा यस्तो अभिव्यक्ति दिएको पाइएन ।
निष्कर्ष
‘देउवालाई असार १७ पछि अनिष्ट छ रे’ भन्ने अभिव्यक्तिसहितको भिडियो क्लिप वर्तमान समयको होइन भन्ने पुष्टि भएको छ । उक्त क्लीप (केपी शर्मा ओली र पत्रकार विजयकुमार पाण्डेबीच ९ मे २०२२ मा DishanirdeshTV पोस्ट गरिएको) पुरानो अन्तर्वार्ताबाट लिइएको हो । त्यो अन्तर्वार्ता र अभिव्यक्ति अहिलेको राजनीतिक अवस्थाभन्दा भिन्न छन् । तर, क्लीपलाई सन्दर्भ नखुलाई वर्तमान समयको जस्तो देखाई पोस्ट गरिएको पाइयो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
अन्तर्वार्ता भिडियो, DishanirdeshTV