Fact Check
के राजा वीरेन्द्रसँग केपी शर्मा ओलीले टीका थापेका थिए? यस्तो छ भाइरल तस्बिरको वास्तविकता

दाबी: स्व. राजा वीरेन्द्र शाहबाट टीका ग्रहण गर्दै केपी शर्मा ओली, तस्बिर भाइरल ।
तथ्य: पर्साका जनकलाल साहले विभिन्न माध्यममा अन्तर्वार्ता दिँदै आफ्नो तस्बिरलाई ओलीसँग जोडेर फैलाइएको स्पष्ट पारेका छन् ।
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग जोडिएको एउटा तस्बिर सामाजिक संजालमा फैलिरहेको छ । उक्त तस्बिरसँगै ‘स्व.राजा वीरेन्द्र शाहसँग केपी शर्मा ओलीले टीका ग्रहण गरेको’ दाबी गरिएको छ ।
Dhunganashankar99 नामक टिकटक आइडीमा पोस्ट गरिएको तस्बिरमा एकजना व्यक्तिले स्व.राजा वीरेन्द्र शाह टीका थापिरहेको दृश्य देख्न सकिन्छ । साथै तस्बिरको थमनेलमा लेखिएको छ- ‘स्व. राजा श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेवबाट टीका ग्रहण गर्दै केपी शर्मा ओली…।’

२५ जनवरी २०२५ मा पोस्ट गरिएको सामग्रीमा करिब २६ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । १८ सयभन्दा बढी सेयर भइसकेको सामग्रीलाई चार लाखभन्दा बढी टिकटक प्रयोगकर्ताले हेरिसकेका छन् ।
त्यसैगरी प्रस्तुत दाबीसहितको सामग्री ramdaresh.thakur2 नामक टिकटक आइडी र surendra.bist फेसबुक आइडीमा पनि पोस्ट गरिएको छ । यस्ता पोस्टहरुले के प्रष्ट हुन्छ भने केपी शर्मा ओलीले राजा वीरेन्द्रबाट टीका ग्रहण गरेको दाबी सामाजिक संजालमा व्यापक फैलिसकेको छ ।

के ‘स्व.राजा वीरेन्द्र शाहसँग केपी शर्मा ओलीले टीका ग्रहण गरेको’ दाबी सत्य हो त? सामाजिक संजालमा फैलिरहेको तस्बिरको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
केपी शर्मा ओलीसँग जोडिएको तस्बिरको जाँचका क्रममा हामीले सबैभन्दा पहिले, ‘केपी शर्मा ओली’ ‘स्व.राजा वीरेन्द्र शाह’ ‘टीका ग्रहण’ ‘भाइरल तस्बिर’ लगायतका वाक्यांश जाँच गर्यौँ । साथै भाइरल तस्बिरलाई रिभर्स इमेज सर्च गर्यौँ ।
जाँच नतिजास्वरुप diyopost.com प्रकाशित एउटा समाचार फेला पर्यो । २० कार्तिक २०७७ मा प्रकाशित समाचारमा स्वर्गीय राजा वीरेन्द्रसँग एक व्यक्तिले टीका थाप्दै गरेको तस्बिर भाइरल भइरहेको जानकारी दिइएको छ । समाचार अनुसार उक्त तस्बिर केपी शर्मा ओलीको होइन । तस्बिरमा देखिएका व्यक्ति पर्सा जिल्लाका जनकलाल साह हुन्। साह स्वयंले उक्त तस्बिर आफ्नो भएको पुष्टि गरेका छन् ।

फेला परेको समाचारका आधारमा थप वाक्यांश जाँच गर्दा सोही समाचार newsofnepal.com र breaknlinks.com लगायतका संचार माध्यममा प्रकाशित भएको पाइयो । फेला परेका सबै समाचार विवरणको ढाँचा र प्रकार एउटै किसिमको छ ।
समाचारमा जनकलाल साहको भनाई पनि राखिएको छ । साहले संचार माध्यमलाई भनेका छन्- ‘फोटो भाइरल भनेको त राम्रै कुरा हो तर त्यहाँ एउटा मिस्टेक हुन गएको छ कि मेरो फोटो हो तर प्रधानमन्त्री ओलीको भनिएकाले त्यो अन्तैतिर गए जस्तै लाग्यो ।’

फेला परेका सबै संचार माध्यमले प्रस्तुत समाचार स्रोतका रुपमा नेपालको सरकारी संचार माध्यम गोरखापत्रलाई उल्लेख गरेका छन् । यसबाट के प्रष्ट हुन्छ भने केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला दाबीसहितको तस्बिर सामाजिक संजालमा फैलिएको थियो । भाइरल तस्बिरलाई सरकारी संचार माध्यमले तथ्यहीन भ्रामक प्रचार भएको भन्दै खण्डन गरेको देखिन्छ ।
जाँचकै क्रममा जनकलाल साहको एउटा भिडियो अन्तर्वार्तासमेत फेला पर्यो । ६ नोभेम्बर २०२० मा पोस्ट गरिएको अन्तर्वार्तामा साहले आफ्नो तस्बिरलाई केपी शर्मा ओलीसँग जोडेर सामाजिक संजालमा पोस्ट गरिएको प्रष्ट पारेका छन् ।
dailekh TV नामक युट्युब च्यानलमा पोस्ट गरिएको जनकलाल साहको अन्तर्वार्ता शिर्षक छ- सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको भन्दै भाइरल भएको फोटो कस्को ? भिडियो ।
प्रस्तुत तथ्य प्रमाणहरुबाट के पुष्टि हुन्छ भने पर्सा जिल्लाका जनकलाल साहको पुरानो तस्बिरलाई विगतका केही वर्षदेखि केपी शर्मा ओलीसँग जोड्दै सामाजिक संजालमा पोस्ट गर्न थालिएको थियो । उक्त तस्बिर केपी शर्मा ओली प्रधानमन्त्री भएका बेलासमेत भाइरल भएको थियो ।
निष्कर्ष
केपी शर्मा ओलीले स्व.राजा वीरेन्द्र शाहसँग टीका ग्रहण गरेको दाबीसहित पोस्ट गरिएको तस्बिरले भ्रामक सन्देश प्रवाह गरेको छ । पर्साका जनकलाल साहले विभिन्न माध्यममा अन्तर्वार्ता दिँदै आफ्नो तस्बिरलाई ओलीसँग जोडेर फैलाइएको स्पष्ट पारेका छन् । हाम्रो जाँचबाट उक्त तस्बिर प्रधानमन्त्री केपी शर्मा ओलीको नभई पर्सा जिल्लाका जनकलाल साहसँग सम्बन्धित रहेको पुष्टि गर्छ ।
नितिजा: भ्रामक
हाम्रा स्रोतहरू
समाचार, gorkhapatraonline.com
समाचार, newsofnepal.com
समाचार, breaknlinks.com
समाचार, diyopost.com
भिडियो, dailekh TV
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected]


