Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check

दाबी: हर्क साम्पाङ नेकपा (एमाले)मा प्रवेश गरेको भन्दै बधाई दिइएको छ (ओली र साम्पाङ देखिने तस्बिर सहित)
तथ्य: सामाजिक संजालमा फैलाइएको तस्बिर वर्तमान सन्दर्भको होइन, यो चैत्र २०८१ मा धरानको खानेपानी समस्या समाधानका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटको पुरानो तस्बिर हो ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसँग सम्बन्धित एउटा तस्बिर टिकटकमा फैलिरहेको छ । उक्त तस्बिरसँगै हर्क साम्पाङ नेकपा (एमाले)मा प्रवेश गरेको भन्दै बधाई दिइएको छ ।
Susilpoudel576 नामक टिकटक आइडीमा पोस्ट गरिएको तस्बिरमा पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली र मेयर हर्क साम्पाङ देखिएका छन् । तस्बिरको थमनेलमा लेखिएको छ- ‘बधाई छ हर्क साम्पाङ ज्यूलाई, एमाले पार्टीमा प्रवेश गर्नुभएकोमा ।’
प्रस्तुत दाबीसहितको सामग्रीलाई २ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । ८ नोभेम्बर २०२५ मा पोस्ट गरिएको सामग्रीलाई हजारौँले हेरिसकेका छन् ।

के धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ एमालेमा प्रवेश गरेका हुन् त? दाबीसहित पोस्ट गरिएको तस्बिरको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
हर्क साम्पाङ धरान उपमहानगरपालिकाका मेयर हुन् । उनी २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवारहरूलाई पराजित गर्दै विजयी भएका थिए ।
त्यसैगरी २०८२ मा साम्पाङले आफ्नै दल खोल्ने घोषणा गरे । उनले नयाँ पार्टीको अध्यक्ष आफै बन्ने र चुनाव चिह्न ‘माटोको ढिस्को’ राख्ने, पार्टीको झन्डा नराख्ने घोषणासमेत गरेका थिए । घोषणा अनुरुप उनले असोज २०८२ मा श्रम संस्कृति नामक पार्टी दर्ता गर्न निर्वाचन आयोगमा आवेदन दिए ।

साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई २०८२ कार्तिक १६ मा निर्वाचन आयोगले राजनीतिक दलका रूपमा आधिकारिक मान्यता दिँदै दल दर्ता प्रमाणपत्र प्रदान गर्यो । श्रम संस्कृति पार्टी दर्ता गरेसँगै मेयर साम्पाङ चुनावको तयारीमा जुटेको र आफू एमालेको गढका रुपमा चिनिने सुनसरी–१ बाट लड्ने तयारी गरिरहेको प्रक्षेपण उनी निकट व्यक्तिहरु र संचार माध्यमले गरिरहेका छन् ।
यही सन्दर्भमा हर्क साम्पाङ नेकपा (एमाले)मा प्रवेश गरेको भन्दै बधाई दिइएका पोस्ट सामाजिक संजालमा फैलाइएको छ ।
दाबीको जाँचका क्रममा सबैभन्दा पहिले हामीले प्रस्तुत तस्बिरको वास्तविकता पत्ता लगाउने कोशिस गर्यौँ । जाँचका क्रममा सरकारी संचार माध्यम risingnepaldaily.com प्रकाशित समाचार फेला पर्यो । ७ अप्रिल २०२५ मा पोस्ट गरिएको सामाचार अनुसार धरानको खानेपानी समस्या समाधानका लागि मेयर हर्क साम्पाङले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए ।

चैत्र २०८१ मा भएको भेटबारे ekantipur.com र nepalnews.com लगायतका संचार माध्यमले तस्बिरसहितको समाचार प्रकाशित गरेको पाइयो ।
जाँचको नतिजास्वरुप दाबीसहितको सामग्रीमा जोडिएको तस्बिर अहिलेको नभई एक वर्ष पुरानो रहेको तथ्य प्रमाणित भयो । अर्कोतर्फ यो तस्बिर प्रवेशको नभई धरानको खानेपानी समस्याको लागि मेयर साम्पाङले तत्कालीन प्रधानमन्त्री ओलीसँग छलफल गरेको सन्दर्भसँग सम्बन्धित छ ।
अर्कोतर्फ हर्क साम्पाङ नेकपा (एमाले)मा प्रवेश गरेको दाबीलाई प्रमाणित गर्ने कुनै तथ्य प्रमाण फेला परेनन् । उनी आफ्नै नेतृत्वमा नयाँ दल दर्ता गरेर चुनावको तयारीमा जुटिसकेको तथ्य प्रमाणहरुले पुष्टि गरेका छन् ।
हर्क साम्पाङ नेकपा (एमाले)मा प्रवेश गरेको दाबी गलत छ । दाबीसहित सामाजिक संजालमा फैलाइएको तस्बिर वर्तमान सन्दर्भको होइन, यो चैत्र २०८१ मा धरानको खानेपानी समस्या समाधानका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटको पुरानो तस्बिर हो । साम्पाङले २०८२ मा ‘श्रम संस्कृति पार्टी’ नामक दल दर्ता गरी, आगामी चुनाव आफ्नै नेतृत्वमा तयारी गरेको प्रमाणित हुन्छ ।
समाचार, risingnepaldaily.com
समाचार, ekantipur.com
समाचार, nepalnews.com
समाचार, nagariknews.nagariknetwork.com
समाचार, himalkhabar.com
कुनै शंकास्पद खबर वा सूचना प्रकाशित, खोज्नुहोस् वा अन्य सुझावको लागि सम्पर्क इमेल ठेगाना हो, [email protected]

Aakash Chhetri
October 31, 2025

Aakash Chhetri
June 3, 2025
Aakash Chhetri
March 11, 2025