Fact Check
के रवि र हर्कबीच सहकार्यको सहमति भएको हो? पुराना दृश्य टिकटकमा फैलिए

दाबी: रवि लामिछानेलाई हर्क साम्पाङको साथ मिलेको र दुबैबीच सहकार्यको सहमति भएको दाबी (दुबैबीच भेटवार्ताका भिडियो)
तथ्य: त्यसैले लामिछाने र साम्पाङबीच हाल सहकार्यको सहमति भएको दाबी प्रमाणहीन र भ्रामक छ । दाबीसँग जोड्दै पोस्ट गरिएका दुवै भिडियो क्रमशः सन् २०२४ र २०२२ का पुराना भेटघाटका दृश्य हुन् ।
रवि लामिछाने र धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङसँग सम्बन्धित केही दृश्यहरु सामाजिक संजालमा फैलिरहेका छन् । भिडियोमा लामिछानेलाई साम्पाङको साथ मिलेको र दुबैबीच सहकार्यको सहमति भएको दाबी गरिएको छ ।
Ilovenepal9990 नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा पूर्वगृहमन्त्री रवि लामिछाने र धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङलाई देख्न सकिन्छ । उनीहरु दुबै एकअर्काबीच भेटवार्ता गरिरहेका छन् । प्रस्तुत भिडियोको थमनेलमा लेखिएको छ- ‘रवि लामिछाने र हर्क साम्पाङको सहकार्य भयो’

केही घण्टाअघि (१ जनवरी २०२६) पोस्ट गरिएको दाबीसहितको भिडियोमा करिब पाँच हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । २ सयभन्दा बढी प्रतिक्रिया आएको भिडियोलाई एक लाखभन्दा बढी टिकटक प्रयोगकर्ताले हेरिसकेका छन् ।
त्यस्तै Pradipbista103 नामक टिकटक आइडीमा पनि सोही दाबीसहित अर्को भिडियो पोस्ट गरिएको छ । यस भिडियोमा पनि रवि लामिछाले र हर्क साम्पाङबीच भेटवार्ता भइरहेको दृश्य जोडिएको छ । भिडियोको थमनेलमा लेखिएको छ- ‘अन्तिममा रवि लामिछानेलाई हर्कको पनि साथ मिलेको छ’
२९ डिसेम्बर २०२५ मा पोस्ट गरिएको भिडियोमा करिब चार हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । दाबीसहितको भिडियो सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको छ ।

के हालसालै रवि लामिछाने र धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङबीच भेट भएको र सहकार्यको सहमति भएको हो त? दाबीसहित पोस्ट गरिएका भिडियोहरुको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
पछिल्लो समय नेपालमा नयाँ राजनीतिक धारहरुबीच चुनाव लक्षित ध्रुवीकरण भइरहेको छ । केही समयदेखि बालेन शाह (काठमाडौँ महानगरपािलका प्रमुख), रवि लामिछाने (राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपा), कुलमान घिसिङ (उज्यालो नेपाल पार्टी) हर्क साम्पाङ (श्रम संस्कृति पार्टी) लगायतलाई एकजुट गर्ने प्रयासहरू भएका थिए, जसमा जेनजी युवाहरूले पहलकदमी लिएको समाचार बीबीसी नेपाली सेवामा प्रकाशित छ ।
यहीबीचमा १४ पुस २०८२ मा रास्वपाका सभापति रवि लामिछाने, मेयर बालेन्द्र साह (बालेन) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच सहमति भएको छ । तर, यस सहमतिप्रति धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले कडा विरोध जनाएका छन् । उनले आफ्ना फेसबुक पोस्टमा यो सहमतिलाई ‘सत्ताका लागि’ र ‘विदेशी हस्तक्षेपलाई संस्थागत गर्ने प्रयास’ भनेका छन् ।

त्यसैगरी हर्क साम्पाङले स्पष्ट रूपमा रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङसँग कुनै पनि हालतमा नमिल्ने घोषणासमेत गरिरहेको पाइयो । ११ पुस २०८२ मा सोलुखुम्बुको सदरमुकाम सल्लेरीस्थित श्रम संस्कृति पार्टीले आयोजना गरेको सभालाई सम्बोधन गर्दै साम्पाङले तीनै नेता विदेशीको इशारामा चल्ने गरेको आरोपसमेत लगाएका थिए ।
रवि लामिछाने, बालेन शाह, कुलमान घिसिङ तथा हर्क साम्पाङबीच देखिएको अन्तर्विरोधकै सन्दर्भमा लामिछानेलाई साम्पाङको साथ मिलेको र दुबैबीच सहकार्यको सहमति भएको दाबीसहित केही दृश्यहरु सामाजिक संजालमा फैलाइएको छ ।
प्रस्तुत दृश्यहरुको वास्तविकता पत्ता लगाउने क्रममा हामीले सबैभन्दा पहिले ‘रवि लामिछाने’ ‘हर्क साम्पाङ’ ‘भेटवार्ता’ लगायतका थुप्रै वाक्यांशहरुको जाँच गर्यौँ । जाँचको नतिजास्वरुप Sagarmatha TV मा पोस्ट गरिएको पुरानोल भिडियो फेला पर्यो ।
३१ मार्च २०२४ मा पोस्ट गरिएको भिडियोमा तत्कालीन गृहमन्त्री रवि लामिछाने र धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङको भेटवार्ता भइरहेको देख्न सकिन्छ । फेला परेको भिडियो र माथि उल्लेखित दाबीसहितको सामग्रीमा जोडिएको दृश्यबीच एउटै सन्दर्भमा खिचिएको हो । पुरानो र फरक सन्दर्भमा खिचिएको भिडियोलाई वर्तमान राजनीतिक घटनाक्रमसँग जोडिएको पाइयो ।
त्यसैगरी दाबीसहित पोस्ट गरिएको दोस्रो भिडियोलाई पनि हामीले राम्ररी जाँच गर्यौँ । यसका लागि ‘Harka Sampang’ Rabi Lamichhane’ ‘भेटवार्ता’ लगायतका वाक्यांश र रिभर्स इमेज सर्च गर्यौँ ।
जाँचको नतिजास्वरुप New Entertainment Channel नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पर्यो । ४ नोभेम्बर २०२२ मा पोस्ट गरिएको भिडियोमा रवि लामिछाने र हर्क साम्पाङबीच धरानमा भेटवार्ता भएको जानकारी दिइएको छ । यही तीन वर्ष पुरानो भिडियोलाई वर्तमान राजनीतिक समीकरणसँग जोड्दै सामाजिक संजालमा फैलाइएको पाइयो ।
जाँचका क्रममा फेला परेका तथ्यहरुले के पुष्टि गर्छन् भने लामिछाने र साम्पाङबीच सहकार्यको सहमति भएको दाबीसहित पोस्ट गरिएका भिडियो पुराना घटनाहरू (२०२२ र २०२४) हुन्, जसलाई वर्तमान राजनीतिक सन्दर्भमा पोस्ट गरिएको छ ।
वर्तमान सन्दर्भमा हर्क साम्पाङ आफ्नो दल श्रम संस्कृति पार्टीको प्रचार र संगठन निर्माणको अभियानमा जुटेका छन् । साथै उनले रवि लामिछाने, बालेन शाह, कुलमान घिसिङबीच भएको सहमतिप्रति कडा विरोध जनाउँदै आएका छन् ।
यो तथ्यजाँच रिपोर्ट प्रकाशित भएको दुई घण्टाअघि (२ जनवरी २०२६) मा साम्पाङले आफ्नो आधिकारिक फेसबुक पेज Harka Sampang A Revolution मा लेखेका छन्- ‘MCC दलाल, सहकारी ठगहरू, सिंहदरबार जलाउनेहरू धेरै चुबुर चुबुर नगर्नु !’

निष्कर्ष
रवि लामिछाने र हर्क साम्पाङबीच राजनीतिक सहकार्यको सहमति भएको दाबीलाई कुनैपनि आधिकारिक जानकारीले पुष्टि गर्दैन । दाबीसँग जोड्दै पोस्ट गरिएका दुवै भिडियो क्रमशः सन् २०२४ र २०२२ का पुराना भेटघाटका दृश्य हुन्, जसको वर्तमान राजनीतिक घटनाक्रमसँग कुनै प्रत्यक्ष सम्बन्ध छैन । यी दृश्यहरू फरक सन्दर्भमा खिचिएका भए पनि अहिलेको राजनीतिक ध्रुवीकरण र समीकरणसँग जोडेर भ्रामक दाबी गरिएको छ ।
नितिजा: भ्रामक
हाम्रा स्रोतहरू
भिडियो १, Sagarmatha TV
भिडियो २, New Entertainment Channel
समाचार, onlinekhabar.com
समाचार, ekantipur.com
समाचार, bbc.com/nepali
फेसबुक पेज, Harka Sampang A Revolution
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected]

