Fact Check
भाइरल भिडियो ओली निवासको होइन, चितवनको दृश्यमा जोडियो भ्रामक दाबी

दाबी: केपी शर्मा ओलीको भाडाको घरमा गएर जेनजीहरुले तोडफोड गरेका छन् ।
तथ्य: भाइरल भिडियो ओलीको गुण्डुस्थित निवाससँग सम्बन्धित छैन, भिडियोमा देखिएको स्थान चितवनको भरतपुर (नारायणघाट क्षेत्र) रहेको प्रमाणित भएको छ ।
पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको वासस्थानसँग जोडिएको एउटा दृश्य सामाजिक संजालमा भाइरल भएको छ । भाइरल दृश्यमा ‘केपी शर्मा ओलीको भाडाको घरमा गएर जेनजीहरुले तोडफोड गरेको’ दाबी गरिएको छ ।
Jitendra20tiger नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा युवाको भीड जम्मा भइरहेको देख्न सकिन्छ । साथै भिडियोको क्याप्सनमा लेखिएको छ- ‘केपी ओली डेरामा बसेको घरमा त्यहाँका जेनजीहरुले तोडफोड गरेको छ ।’

दाबीसहितको भिडियोमा करिब ९० हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । २ हजारभन्दा बढी प्रतिक्रिया आएको भिडियो करिब ७ हजार पटक सेयर भइसकेको छ ।
प्रस्तुत दाबी र भिडियो Civil News र Janatamukhi dainik लगायतका फेसबुक आइडीमा पोस्ट गरिएको छ । यतिमात्र होइन, सोही भिडियो र दाबी कयौँ फेसबुक पेज र आइडीमा पोस्ट भएको देखिन्छ ।

के ‘केपी शर्मा ओली बसेको घरमा जेनजीहरुले तोडफोड गरेको’ दाबी सत्य हो त? भाइरल भिडियोको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
भदौ २३ र २४ (२०२५) को जेनजी प्रदर्शनकारीहरुले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निजी घरमा समेत आगजनी गरेका गरेका थिए । भक्तपुरको बालकोटस्थित घर पूर्णरुपमा क्षतिग्रस्त भएपछि ओली भक्तपुरकै गुण्डुस्थित भाडाको घरमा बस्दै आएका छन् ।
यही सन्दर्भमा ‘केपी शर्मा ओली बसेको घरमा जेनजीहरुले तोडफोड गरेको’ भन्दै एउटा भिडियो क्लीप सामाजिक संजालमा फैलाइएको छ । भिडियोको जाँचका क्रममा हामीले सबैभन्दा पहिले गुण्डुस्थित ओली बसेको घरको दृश्य खोज्यौँ ।

जाँचको क्रममा माउन्टेन टेलिभिजनको फेसबुक पेज Mountain Television HD मा पोस्ट गरिएको एउटा समाचार रिपोर्टमा गुण्डुस्थित केपी शर्मा ओली बसेको घरको दृश्य देख्न सकिन्छ । तर, गुण्डुस्थित घरको दृश्य र दाबीसहितको दृश्यमा धेरै भिन्नता देख्न सकिन्छ ।
ओलीको गुण्डु निवास र दाबीसहितको भाइरल दृश्यमा भिन्नता देखिएपछि हामीले थप जाँच अगाडि बढायौँ । यसका लागि हामीले भाइरल भिडियोका फ्रेमहरु राम्ररी नियाल्यौँ । भाइरल दृश्यमा न्यु युनिक रिकन्डिसन हाउस र चितवन रिकन्डिसन हाउस लेखिएका बोर्ड देख्न सकिन्छ । यही आधारमा जाँच गर्दा भाइरल दृश्यसँग मिल्दाजुल्दा तस्बिरहरु फेला परे ।

फेला परेको नतिजाको आधारमा हामीले चितवनस्थित भरतपुर उपमहानगरपालिका (नारायणघाट) क्षेत्रलाई Google Maps को Street View मा जाँच गर्यौँ । जाँचको नतिजास्वरुप २०२४ नोभेम्बरमा अपडेट गरिएको Street View दृश्य फेला पर्यो ।
नारायणघाट क्षेत्रको दृश्य र सामाजिक संजालमा भाइरल भएको दृश्य एक आपसमा मिल्दो देखिएका छन् । फेला परेको यस तथ्यबाट के पुष्टि हुन्छ भने ‘केपी शर्मा ओली बसेको घरमा जेनजीहरुले तोडफोड गरेको’ भन्दै फरक सन्दर्भ र फरक स्थानको दृश्यलाई सामाजिक संजालमा फैलाइएको छ ।

निष्कर्ष
‘केपी शर्मा ओली बसेको घरमा जेनजीहरुले तोडफोड गरेको’ भन्ने दाबी भ्रामक छ । भाइरल भिडियो ओलीको गुण्डुस्थित निवाससँग सम्बन्धित छैन । भिडियोमा देखिएको स्थान चितवनको भरतपुर (नारायणघाट) क्षेत्र हो । त्यसैले, फरक स्थानको दृश्यलाई ओलीको वासस्थानसँग जोडेर भ्रामक दाबी फैलाइएको प्रमाणित हुन्छ ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
गुण्डुस्थित केपी शर्मा ओली निवास, Mountain Television HD
चितवनस्थित भरतपुर उपमहानगरपालिका (नारायणघाट) क्षेत्र, Street View
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected]

