Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check

दाबी: ‘गणेश नेपालीको मृत्युपछि हत्यारा सरकार, मुर्दाबाद भन्दै उत्रिए सर्वसाधारण’, जनप्रदर्शन भिडियो ।
तथ्य: भिडियोमा प्रयोग गरिएको अडियो भने गणेश नेपाली प्रकरणपछिको वास्तविक रिपोर्टिङबाट लिइएको देखिए पनि, त्यसमा जोडिएको दृश्य हालको घटनासँग सम्बन्धित छैन ।
मुगुका गणेश नेपालीले २५ असार २०८३ मा काठमाडौँको राहदानी विभाग अगाडि आफैँलाई आगो लगाएर आत्मदाह गर्ने प्रयास गरे । गम्भीर घाइते भएका नेपालीको वीर अस्पतालमा उपचारकै क्रममा मृत्यु भइसकेको छ ।
प्रारम्भिक जानकारी अनुसार, पार्किङमा ‘ह्विल लक’ लगाइएको विषयमा विवाद भएपछि गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । घटनापछि सरकारले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ र घटनाको छानविन भइरहेको छ । घटनामा सरकार र सम्बन्धित निकायको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्दै केही मागहरुसहित युवा तथा विद्यार्थी समूहहरुले काठमाडौँमा प्रदर्शन गरेका छन् ।
यही सन्दर्भमा केही भिडियोहरु सामाजिक संजालमा फैलिरहेका छन् । यस्ता भिडियोलाई गणेश नेपाली प्रकरणसँग जोड्दै सर्वसाधारण सरकारको विरोधमा उत्रिएको सन्देश दिइएको छ ।

Santosh Sagar नामक फेसबुक पेजमा पोस्ट गरिएको भिडियोमा संयौँको संख्यामा मानिसहरु सडकमा उत्रिएको देखिन्छ । ११ जुलाई २०२६ मा पोस्ट गरिएको भिडियोको थमनेलमा लेखिएको छ- ‘Gnesh Nepali मृत्युपछि हत्यारा सरकार मुर्दाबाद भन्दै उत्रिए सर्वसाधारण ।’
त्यस्तै Laxman Dhami नामक फेसबुक आइडीमा पनि सोही भिडियो र अडियो जोडिएको छ । १२ जुलाई २०२६ मा पोस्ट गरिएको भिडियोमा जोडिएको अडियोमा यस्तो भनिएको छ-
‘यो स्थिति अत्यन्त अस्वभाविक देखिएको छ, गजेडी सरकार मुर्दाबाद भन्दै आखिर किन युवाहरु फेरि बालेन सरकारकै विरुद्ध उत्रिए त? यो स्थिति देख्न सकिन्छ, गणेश नेपालीको मृत्यु आज साँच्चिकै परिस्थिति आउट अफ कन्ट्रोलको परिस्थितिमा जाने देखिएको छ, युवा आक्रोशित छन्, हत्यारा सरकार भन्दै यतिबेला सरकारविरुद्ध विष बमन गरिरहेको स्थिति देखिएको छ, के बालेन सरकार गरिब र सुकुम्बासीप्रति आक्रमक देखिएको हो त? कठोर देखिएको हो त? पुलिस प्रशासनलाई यहाँ हम्मेहम्मे भइरहेको छ साथीहरु…’

यतिमात्र होइन, प्रस्तुत अडियोसहितको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ ।
के सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको दृश्य गणेश नेपाली प्रकरणसँग सम्बन्धित छ त? भिडियो र अडियोको वास्तविक सन्दर्भ पत्ता लगाउन यो तथ्यजाँच गरिएको छ ।
जाँचका क्रममा हामीले सबैभन्दा पहिले भिडियो र अडियोलाई छुट्ट्याएर सुन्यौँ र हेर्यौँ । भिडियोमा संयौँ मानिसहरु सडकमा उत्रिएको देख्न सकिन्छ । साथै अडियोमा गणेश नेपालीको मृत्युपछि युवाहरू बालेन शाह नेतृत्वको सरकारविरुद्ध आक्रोशित भएर प्रदर्शनमा उत्रिएको, स्थिति नियन्त्रणबाहिर जान लागेको र प्रहरीले अवस्था नियन्त्रण गर्न कठिनाइ भइरहेको जानकारी दिइएको छ ।
यही क्रममा हामीले गणेश नेपाली प्रकरण र पछिल्ला सडक प्रदर्शनसँग सम्बन्धित कयौँ लाइभ भिडियो नियाल्यौँ । यही क्रममा Tara Devi Media Group र Shesh Mani फेसबुक पेजमा पोस्ट गरिएको भिडियो फेला पर्यो ।

१० जुलाई २०२६ मा पोस्ट गरिएको भिडियोमा मानिसहरु आक्रोशित भएको र सरकारविरुद्ध सडकमा प्रदर्शन गरिरहेको दृश्य देख्न सकिन्छ । साथै उक्त प्रदर्शनको भिडियो रिपोर्टिङ संचारकर्मी शेषमणि पौडेलले गरिरहेका छन् ।
भिडियोमा प्रदर्शनकारीहरु आक्रोशित बनिरहेको र प्रहरीले व्यानर खोसिरहेको अवस्थामा संचारकर्मीले शेषमणिले त्यहाँको अवस्थालाई चित्रित गरिरहेको देखिन्छ । उनले सुरुवातमा भनेका छन्-
‘यो स्थिति अत्यन्त अस्वभाविक देखिएको छ, गजेडी सरकार मुर्दाबाद भन्दै आखिर किन युवाहरु फेरि बालेन सरकारकै विरुद्ध उत्रिए त? यो स्थिति देख्न सकिन्छ, गणेश नेपालीको मृत्यु आज साँच्चिकै परिस्थिति आउट अफ कन्ट्रोलको परिस्थितिमा जाने देखिएको छ, युवा आक्रोशित छन्, हत्यारा सरकार भन्दै यतिबेला सरकारविरुद्ध विष बमन गरिरहेको स्थिति देखिएको छ…’
वास्तवमा, यही अडियो दाबीसहितको दृश्यमा जोडिएको देखिन्छ । तर दाबीसहितको दृश्य भने वास्तविक अडियोको दृश्यभन्दा धेरै फरक देख्न सकिन्छ । यही आधारमा हामीले भिडियोको थप जाँच गर्यौँ ।

जाँचका क्रममा रिभर्स इमेज सर्च र जेनजी आन्दोलन २०२५ सँग सम्बन्धित किवर्ड सर्चसमेत गर्यौँ । जाँचको नतिजास्वरुप kathmandupost.com मा प्रकाशित तस्बिर र समाचार फेला पर्यो ।
८ सेप्टेम्बर २०२६ मा पोस्ट गरिएको समाचारमा जेनजी प्रदर्शनकारीहरू नयाँ बानेश्वरस्थित प्रतिबन्धित क्षेत्रमा प्रवेश गरेको जानकारी दिइएको छ । यही समाचारमा जोडिएको तस्बिर र माथि उल्लेखित गणेश नेपालीसँग जोडेर पोस्ट गरिएको भिडियो अंशबीच केही समानता देख्न सकिन्छ ।

थप जाँचका क्रममा, Onlinekhabar युट्युब च्यानलमा पोस्ट गरिएको ‘Drone Video : संसद भवन यसरी छिरे Gen Z प्रदर्शनकारी Gen Z Protest’ शिर्षकको भिडियो फेला पर्यो ।
८ सेप्टेम्बर २०२५ मा पोस्ट गरिएको भिडियोका केही दृश्यहरु र हालसालै गणेश नेपाली प्रकरणसँग जोड्दै पोस्ट गरिएको दृश्यबीच एकरुपता देखिन्छ ।
त्यसैगरी गणेश नेपाली प्रकरणसँग जोड्दै पोस्ट गरिएका दृश्यसँग मिल्दोजुल्दो भिडियोहरु ८ सेप्टेम्बर २०२५ मा केही संचार माध्यमहरुले आफ्नो सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।

थप जाँचका क्रममा हामीले २३, २४ भदौ २०८२ मा जेनजी प्रशर्ननको क्रममा नयाँ बानेश्वरस्थित तत्कालीन संसद भवन वरिपरी के भएको थियो भन्ने पत्ता लगाउन घटनाक्रमका टाइमलाइन नियाल्यौँ ।
ekantipur.com र onlinekhabar.com मा अभिलेख गरिएको लाइमलाइन अनुसार २३ भदौ २०८२ मा जेनजी प्रदर्शनकारीहरु नयाँ बानेश्वरस्थित तत्कालीन संसद भवनको गेट नजिकै जम्मा भएको र प्रहरीसँग झडप भएकोसमेत देखिन्छ ।
दिउँसो १२ देखि १ बजेको बिचमा जेनजी प्रदर्शनकारीहरु बानेश्वरस्थित संसद भवनमा प्रवेश गरेका थिए । यसअघि प्रदर्शनमा भाग लिएका जेनजीहरू निषेधित क्षेत्रको ब्यारिकेड तोडेर संसद भवनतर्फ अघि बढेका थिए र उनीहरु भवनको गेटमा जम्मा भएका थिए ।

वास्तवमा, प्रस्तुत दृश्य जेनजी आन्दोलनको सन्दर्भको थियो । फेला परेका तथ्यहरुले के पुष्टि गर्दछन् भने गणेश नेपाली आत्मदाह प्रकरणसँग जोड्दै पोस्ट गरिएको दृश्य वर्तमान सन्दर्भसँग सम्बन्धित छैन । वर्तमान सन्दर्भको अडियोलाई भ्रामक तरिकाले पुरानो र फरक सन्दर्भको दृश्यसँग जोडेर सामाजिक संजालमा फैलाइएको देखियो ।
गणेश नेपालीको आत्मदाहपछि युवाहरू बालेन शाह नेतृत्वको सरकारविरुद्ध आक्रोशित भएर सडकमा उत्रिएको भन्दै सामाजिक संजालमा फैलाइएको भिडियोको सन्दर्भलाई तोडमोड गरिएको पाइयो । भिडियोमा प्रयोग गरिएको अडियो भने गणेश नेपाली प्रकरणपछिको वास्तविक रिपोर्टिङबाट लिइएको देखिए पनि, त्यसमा जोडिएको दृश्य हालको घटनासँग सम्बन्धित छैन । वर्तमान सन्दर्भको अडियोलाई पुरानो र फरक घटनाको दृश्यसँग जोडेर भ्रामक दाबीका साथ सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।
तस्बिर र समाचार, kathmandupost.com
भिडियो, Onlinekhabar
जेनजी प्रदर्शन टाइमलाइन, ekantipur.com
जेनजी प्रदर्शन टाइमलाइन, onlinekhabar.com
भिडियो, Tara Devi Media Group
भिडियो, NepalWatch भिडियो, Shesh Mani
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected]

Aakash Chhetri
December 22, 2025

Aakash Chhetri
November 25, 2025

Aakash Chhetri
October 12, 2025