Fact Check
‘फेरि प्रदर्शन सुरु’ लेखेर पोस्ट गरिएको भिडियो अहिलेको होइन

दाबी: नेपालमा फेरि जेनजी प्रदर्शन सुरु भएको सन्देशसहित संवेदनशील भिडियो पोस्ट गरिएको छ ।
तथ्य: दाबीसहित पोस्ट गरिएका दृश्यहरू हाल (२२ डिसेम्बर २०२५) को ‘संयुक्त जेनजी आन्दोलन’सँग सम्बन्धित छैनन्, ती दृश्यहरू सेप्टेम्बर ९, २०२५ (भाद्र २४, २०८२) मा काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवन र सिंहदरबार क्षेत्रमा भएको पुरानो घटनाका हुन् ।
नेपालमा फेरि जेनजी आन्दोलन सुरु भएको भन्दै एउटा दृश्य सामाजिक संजालमा पोस्ट गरिएको छ । उक्त दाबीसँगै ठुलो आगलागी दृश्य र जेनजी अगुवा मिराज ढुंगानाको तस्बिर जोडिएको छ ।
𝗗𝗜𝗡𝗘𝗦𝗛 𝗢𝗙𝗙𝗜𝗖𝗜𝗔𝗟 नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा ठुला-ठुला प्रदर्शन र आगलागीका दृश्य जोडिएको छ । प्रस्तुत दृश्यको थमनेलमा लेखिएको छ- ‘Again Protest Start, Dec 22 Monday’
केही घण्टाअघि पोस्ट गरिएको (२२ डिसेम्बर २०२५) भिडियोलाई हजारौँले हेरिसकेका छन् । छोटो अवधिमै एक सय ५० भन्दा बढी सेयर भइसकेको भिडियो द्रुत गतिमा सामाजिक संजाल प्रयोगकर्तामाझ फैलिरहेको छ ।

नेपालमा फेरि जेनजी प्रदर्शन सुरु भएको सन्देशसहित पोस्ट गरिएको भिडियो संवेदनशील छ । त्यसैले भिडियोको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
नेपालको जेनजी आन्दोलनबाट उदाएको एउटा समूह (मिराज ढुंगाना नेतृत्व)ले आजबाट (२२ डिसेम्बर २०२५) देशव्यापी ‘संयुक्त जेनजी आन्दोलन’ सुरु गर्ने घोषणा गरेको छ । यही आन्दोलन अन्तर्गत जेनजी समूहले सुरुवातको दिन काठमाडौँको माइतीघर मण्डलमा प्रदर्शन गरेको हो ।
यद्यपी प्रदर्शन सुरु भएको केही बेरमै प्रहरीले हस्तक्षेप गरेको र केही युवालाई पक्राउ गरेर लगेको भन्दै आयोजकले प्रदर्शनका सबै कार्यक्रममा (सुरुवातको दि राजधानीमा) स्थगित गरेको छ । यसअघि नै नेपालमा फेरि जेनजी प्रदर्शन सुरु भएको भन्दै संसद् र सिंहदरबारमा आगलागी भइरहेको भिडियो सामाजिक संजालमा पोस्ट गरिएको देखियो ।
नेपालमा पुनः जेनजी आन्दोलन सुरु भएको जानकारीसँगै फैलाइएको (संसद-सिंहदरबार क्षेत्रमा आगलागी भइरहेको) दृश्य संवेदनशीलतालाई थप असर गर्न सक्छ । त्यसैले जाँचका क्रममा हामीले भिडियोका आगलागी र प्रदर्शन दृश्यहरूलाई ध्यानपूर्वक नियाल्यौँ। साथै गुगल लेन्समा रिभर्स इमेज सर्चसमेत गर्यौँ र आगलागी देखिएका फ्रेमहरूलाई विभिन्न किवर्ड प्रयोग गरी खोजी गर्दा ती दृश्यहरू हालको नभई पुरानो घटनासँग मेल खाने देखियो ।
दाबीसहितको सामग्रीमा जोडिएको भिडियो देखिने आगलागीका दृश्यहरू सेप्टेम्बर ९, २०२५ (भाद्र २४, २०८२) को घटना हुन्, जसमा जेनजी प्रदर्शनकारीहरूले काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवन र सिंहदरबार (सरकारी कार्यालयहरू भएको परिसर) मा आगजनी गरेका थिए । यो घटनामा अन्य सरकारी भवनहरूमा आगलागी भएको थियो, जसले ठुलो क्षति पुर्याएको थियो ।
नेपालको जेनजी आन्दोलन सेप्टेम्बर २०२५ मा सुरु भएको थियो, जसको मुख्य कारण सामाजिक संजाल प्रतिबन्ध, भ्रष्टाचार र युवाहरूमाथि भएको दमन थियो । यसले ठुलो हिंसा निम्त्याएको थियो, जसमा संसद् भवन र सिंहदरबारमा आगलागी प्रमुख घटना थिए ।
त्यस्तै २२ डिसेम्बर २०२५ सम्म आइपुग्दा जेनजी आन्दोलन विभाजित भएको छ, विभिन्न समूहहरू (जस्तै मिराज ढुंगाना समूह) ले छुट्टाछुट्टै प्रदर्शन गरिरहेका छन् । हालका प्रदर्शनहरू अन्तरिम सरकारविरुद्ध केन्द्रित छन् तर सेप्टेम्बर जस्तो ठुलो स्तरका छैनन्।
यही सन्दर्भमा काठमाडौँको माइतीघर मण्डलामा (२२ डिसेम्बर २०२५ मा) जेनजी अगुवा मिराज ढुंगाना नेतृत्वको समूहले शान्तिपूर्ण प्रदर्शन सुरु गरेको छ । यो प्रदर्शन अन्तरिम सरकार (सुशीला कार्की सरकार) विरुद्ध हो, जसमा सर्वदलीय सरकार गठन र अन्य मागहरू छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रदर्शनको अनुमति नदिएकोले प्रहरीले प्रदर्शनकारीहरूलाई तितरबितर पारेको छ, केहीलाई गिरफ्तार गरेको छ । यो प्रदर्शन सेप्टेम्बर २०२५ को जस्तो ठुलो वा हिंसात्मक छैन, बरु सानो स्तरको छ ।
फेला परेका प्रमाणहरुले प्रष्ट पारेका छन् कि दाबीसहितको भिडियोमा प्रयोग गरिएका आगलागीका दृश्य हालको होइन, पुरानो घटनाको हो । पुरानो दृश्यलाई अहिलेको जेनजी आन्दोलनसँग जोडेर गलत सन्दर्भमा प्रस्तुत गरिएको छ ।
निष्कर्ष
नेपालमा फेरि जेनजी आन्दोलन सुरु भएको दाबीसहित पोस्ट गरिएका दृश्यहरू हाल (२२ डिसेम्बर २०२५) को ‘संयुक्त जेनजी आन्दोलन’सँग सम्बन्धित छैनन् । ती दृश्यहरू सेप्टेम्बर ९, २०२५ (भाद्र २४, २०८२) मा काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवन र सिंहदरबार क्षेत्रमा भएको पुरानो हिंसात्मक घटनाका हुन् । मिराज ढुंगाना नेतृत्वको समूहले सुरु गरेको प्रदर्शन शान्तिपूर्ण र सीमित स्तरको छ, जसलाई अनुमति नदिइएकै कारण प्रहरीले तितरबितर पारेको हो ।
नितिजा: भ्रामक
हाम्रा स्रोतहरू
भिडियो, BusinessToday
समाचार, kathmandupost.com
समाचार, theannapurnaexpress.com
भिडियो, Farakdhar
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected]

